पूर्वप्रधानमन्त्री खनाल भन्छन् : वामपन्थीहरूले हात मिलाउनुको विकल्प छैन

मुलुकको राजनीतिक परिस्थितिले फेरि एकचोटी एकताको आवश्यकताको महसुस गराएको उनको भनाइ छ ।

असार १४, २०८३

कान्तिपुर संवाददाता

Former Prime Minister Khanal says: Leftists have no choice but to join hands

काठमाडौँ — पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनालले वामपन्थीहरूले हात मिलाउनुको विकल्प नरहेको भन्दै वाम एकतालाई आजकै दिनदेखि दीर्घकालीन रूपमा अघि बढाउन आह्वान गरेका छन् । 

आइतबार मदन भण्डारीको ७५ औँ जन्मजयन्तीका अवसरमा काठमाडौंमा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दे उनले यस्तो आह्वान गरेका हुन् । मुलुकको राजनीतिक परिस्थितिले फेरि एकचोटी एकताको आवश्यकताको महसुस गराएको उनको भनाइ छ ।

लामो समयपछि नेकपाका संयोजक पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिलाई सकारात्मक संकेत भएको भन्दै विचारको स्तरबाट सुरु भएको सहकार्यलाई दीर्घकालीन राजनीतिक एकतामा रूपान्तरण गर्न आग्रह समेत गरे । उनले देशमाथि साम्राज्यवादी र प्रतिक्रियावादी शक्तिहरूले दबाब सिर्जना गरिरहेको दाबी गर्दै त्यसको सामना गर्न वामपन्थी शक्तिहरू एकजुट हुनुको विकल्प नरहेको बताए । 

‘आज दुई वटा प्रमुख वामपन्थी दलका नेताहरू यहाँ उपस्थित हुनुभएको छ । कतिपय मान्छेलाई यो आश्चर्य लागेको हुन सक्छ । अनौठो लागेको हुन सक्छ । तर वामपन्थी एकता आज मात्रै होइन, अनेकन कालखण्डदेखि यो जरुरत थियो । तर बीचको कालखण्डमा हामीहरूमा कहिले सिङ पलायो, कहिले जुरो पलायो, के–के पलायो पलायो । त्यही कारण विगतमा हामी एकताबद्ध हुन सकेनौँ । अब समयले हामीलाई झस्काउन थालेको छ । परिस्थितिले हामी एउटा बाध्यात्मक परिस्थितिमा खडा गर्न थालेको छ । त्यसले गर्दा आज हामी वामपन्थीहरू फेरि एकताबद्ध हुँदैछौं,’ उनले भने । 

कान्तिपुर

Link copied successfully