रास्वपा महाधिवेशन : यी हुन् ९९ केन्द्रीय सदस्यका लागि ३७९ उम्मेदवार [सूची]

रास्वपा विधानमा ५१ सदस्यलाई केन्द्रीय समितिमा सभापतिले मनोनीत गर्ने अधिकार दिएको छ ।

असार ११, २०८३

जयसिंह महरा

RSP General Convention: These are the 379 candidates for 99 central members [List]

What you should know

चितवन — रास्वपाको चितवनमा जारी महाधिवेशनमा पहिलो चरणमा केन्द्रीय सदस्यका लागि बुधबार राति ९ बजेदेखि मतदान सुरु भएको छ । ९९ केन्द्रीय सदस्यका लागि ३ सय ७९ उम्मेदवार छन् । सभापतिमा रवि लामिछाने मंगलबार नै निर्विरोध भइसकेका छन् । वरिष्ठ नेतामा प्रधानमन्त्री वालेन्द्र शाह निश्चित छन् । 

तीन उपसभापतिमध्ये खुला उपसभापतिमा अर्थमन्त्रीसमेत रहेका नेता स्वर्णिम वाग्लेले उम्मेद्वारी दिएका छन् । महिला उपसभापतिमा नेता सोविता गौतम, लिमा अधिकारी र डा. तोसिमा कार्कीको नाम चर्चामा छ । यी तीनै नेता केन्द्रीय सदस्यका उम्मेदवार छन् । कार्कीले भने महिला उपसभापति नभए महामन्त्रीमा पनि उम्मेदवारी दिने चर्चा छ । महिला उपसभापतिमा प्रतिभा रावलले उम्मेदवारी दिने सम्भावना रहेकामा उनले केन्द्रीय सदस्यमा नै उम्मेदवारी दिएकी छैनन् । रावल मनोनीत सहमहामन्त्री वा अन्य पदाधिकारी पदमा बस्ने सम्भावना छ । 

निवर्तमान उपसभापति वाग्लेले गण्डकी प्रदेश खुलातर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन् भने परराष्ट्रमन्त्री शिशिर खनालले खुलातर्फ उम्मेदवारी दिएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागमती प्रदेश खुलातर्फ उम्मेदवारी दिँदा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले खुला महिलातर्फबाट उम्मेदवारी दिएकी हुन् ।

महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता बादीले कर्णालीबाट उम्मेदवारी दिँदा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले कोशीबाट उम्मेदवारी दिएकी छन् । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दिँदा कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले सुदूरपश्चिम खुलातर्फ केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएकी छन् । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले खुला मधेशी समूहबाट उम्मेदवारी दिएका छन् । 

रास्वपा विधानमा ५१ सदस्यलाई केन्द्रीय समितिमा सभापतिले मनोनीत गर्ने अधिकार दिएको छ । सोही प्रक्रियाबाट केन्द्रीय सदस्य हुँदै पदाधिकारी बन्ने लाइनमा रहेका नेताहरूले उम्मेदवारी दिएका छैनन् । नेताहरूलाई समायोजन गर्न सभापतिले मनोनीत गर्ने केन्द्रीय सदस्य र पदाधिकारी संख्या बढाइएको हो । 

गत १३ पुसमा रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरका तत्कालीन प्रमुख वालेन्द्र शाहबीच भएको ७ बुँदे सहमतिसँगै पार्टीमा समाहित भएका २६ केन्द्रीय सदस्य तथा पदाधिकारीमध्ये १६ जनाले केन्द्रीय सदस्यमा उम्मेदवारी नदिएका हुन् । तीमध्ये सांसद निर्वाचित भएकासहित केहीले चुनावी प्रतिस्पर्धाका लागि उम्मेदवारी दिएका छन् भने बाँकीले उम्मेदवारी नदिएका हुन् । उम्मेदवारी नदिनेमा सुनील लम्साल, भूपदेव शाह, लक्ष्मण थारू, रमेश पौडेल, सन्तोष गिरी, सरिता ज्ञवाली, जेम्स कार्की, लक्ष्मी बर्देवा, अनन्तराज घिमिरे, रामकुमार ढुंगाना, प्रदीप ज्ञवाली, मधुसुधन ढकाल, ओजस्वी थापा, आदित्य आचार्य, प्रदीप पाण्डे, खेमराज साउदलगायत छन् । 

रास्वपाबाट चुनाव लडेर गृहमन्त्री बनेका गृहमन्त्री सुधन गुरुङले समेत उम्मेदवारी दिएका छैनन् । वालेन्द्र पक्षका एक नेता भन्छन्, ‘यो एकताको अधिवेशन पनि हो, हाम्रोतर्फबाट महाधिवेशन प्रतिनिधि भनेर कहिल्यै बेग्लै दाबी गरिएको छैन । त्यस्तोमा यस पटक मनोनीतबाट जाने कुरा भएको छ ।’ 

रास्वपामा वालेन्द्र समूहबाट लम्साल मनोनीत उपसभापति र शाह मनोनीत महामन्त्री बन्ने चर्चा छ । सभापतिले मनोनीत गर्ने केन्द्रीय सदस्य र पदाधिकारीमा शाह पक्षसँगै विवेकशील साझा, थारुहट आन्दोलनबाट समायोजित पक्षसमेत समेटिनेछ । 

यता, प्रधानमन्त्रीको सचिवालयका तीन जना रास्वपाको केन्द्रीय सदस्य उम्मेदवार बनेका छन् । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाह, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकाल र स्वकीय उपसचिव प्रकृति ढकाल रास्वपाको केन्द्रीय सदस्यका उम्मेदवार बनेका हुन् । प्रमुख राजनीतिक सल्लाहकार शाहले रास्वपाको खुला मुस्लिम समावेशी ‘क्लस्टर’तर्फ उम्मेदवारी दर्ता गराएका हुन् । 

प्रधानमन्त्रीका नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकालले पनि रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । प्रधानमन्त्रीको सचिवालयमा स्वकीय उपसचिवको पदमा कार्यरत प्रकृति ढकालले पनि रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएकी छन् । 

महिला उपसभापतिदेखि सहमहामन्त्रीसम्मका निर्वाचन हुने पदमा रास्वपाका संस्थापनदेखि नै लागेका नेताहरूबीच प्रतिस्पर्धा हुने देखिएको छ । रास्वपा पदाधिकारीको संख्या १९ पुर्‍याइएको छ । पदाधिकारीमा सभापति १, वरिष्ठ नेता १, उपसभापति ३ (१ महिला र १ मनोनीत), महामन्त्री २ (१ मनोनीत), सहमहामन्त्री ५ (१ महिला, २ मनोनीत), प्रवक्ता १, सहप्रवक्ता ३ (१ महिला), कोषाध्यक्ष १, सहकोषाध्यक्ष २ (१ महिला) छन् ।

हेर्नुहाेस् उम्मेदवारकाे सूची

अपडेट

  • उम्मेदवारको अद्यावधिक तथ्यांक राखिएको।

जयसिंह महरा विगत १० वर्षदेखि पत्रकारिता गरिरहेका छन् । उनी संसदीय मामिलासँगै राजनीतिक घटनाक्रमका समाचार लेख्छन् ।

Link copied successfully