महाधिवेशनमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै उनले राष्ट्र निर्माणको राजनीतिमा दलहरू एकअर्काका शत्रु होइनन्, बढीमा विचार, कार्यक्रम र प्राथमिकता फरक भएका प्रतिस्पर्धी रहेको बताएका छन्।
काठमाडौँ — रास्वपा सभापति रवि लामिछानेले नेपालको राजनीतिक संस्कृति बदल्न चाहेको बताएका छन् । उनले राजनीतिमा को मित्र को शत्रु भन्दा पनि हाम्रा साँच्चै साझा शत्रु गरिबी, बेरोजगारी, भ्रष्टाचार, कुशासन, अशिक्षा र कमजोर स्वास्थ्य सेवा रहेको उल्लेख गरेका छन् ।
महाधिवेशनमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै उनले राष्ट्र निर्माणको राजनीतिमा दलहरू एकअर्काका शत्रु होइनन्, बढीमा विचार, कार्यक्रम र प्राथमिकता फरक भएका प्रतिस्पर्धी रहेको बताएका छन्।
आजसम्म सत्ताको भागबन्डाका कारण सर्वदलीय सहमति एकदमै बदनाम भएको भन्दै उनले त्यस्तो सहमति राष्ट्र निर्माणमा लगाएर त्यसको गरिमा फर्काउन आफूहरुले चाहेको बताए । शिक्षा, नागरिकको आधारभूत स्वास्थ्य अधिकार, स्वास्थ्य पूर्वाधार, स्वास्थ्य बीमा र गुणस्तरीय सेवा कुनै दलविशेषका मात्र चासोका विषय नरहेको भन्दै उनले त्यसमा साझा सहमतिमा जोड दिएका छन्।
'सडक, रेल, जलविद्युत्, सिँचाइ, खानेपानी, डिजिटल पूर्वाधारजस्ता परियोजना र राष्ट्रिय गौरवका योजनाहरूमा हामी साझा धारणा बनाउन अग्रसरता लिनेछौं,' उनले भनेका छन्, 'उत्पादन र रोजगारी, सुशासन, संविधान र निर्वाचन प्रणाली सुधार, परराष्ट्र नीति र राष्ट्रिय हित, जलवायु संकट र प्राकृतिक स्रोतको उपयोगमा पनि सिंगो देश एकमत नहुने कुनै कारण छैन ।'
'हामी चाहन्छौं, सरकार बदलिए पनि राज्यको दिशा, आधारभूत नीति र राष्ट्रिय लक्ष्य नबदलियोस्,' उनको भनाइ छ ।
