नेकपा नेता वर्षमान पुनले दाहालको शुभकामना सन्देश वाचन गर्दै विधिसम्मत् र संविधानभन्दा बाहिर नगएर सुशासनको कदम चाल्न आग्रह गरेका हुन् ।
काठमाडौँ — नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सुशासनको मुद्दामा आफ्नो दल र राष्ट्रिय स्वतन्त्र पार्टीबीच समानता रहेको बताएका छन् ।
नेकपा नेता वर्षमान पुनले दाहालको शुभकामना सन्देश वाचन गर्दै विधिसम्मत् र संविधानभन्दा बाहिर नगएर सुशासनको कदम चाल्न आग्रह गरेका हुन् । ‘रास्वपाको महाधिवेशनले कस्तो नेतृत्व, विचार, रणनीति, कार्यदिशा तय गर्ने विषयले समग्र राष्ट्रिय जीवनमा प्रभाव पार्दछ । पार्टी जीवनमा विशेष महत्त्व राख्नेछ । नेकपा र रास्वपाबीच कयौं मुद्दामा समानता छ । हामीले निरन्तरतालाई क्रमभंगले राजनीतिक बाटो तय गरेका छौं । समाज रुपान्तरणका एजेन्डामा नजिक पाउँदैछौं,’ दाहालको भनाइ थियो, ‘हामीबीच सुशासनको एजेन्डामा समान छ । सुशासनमा नेकपा र रास्वपा जति सहकार्य अरुसँग भएको छैन । तपाईंहरुको थिति बसाउने अभियान पूर्ण समर्थन छ । सुशासनका एजेन्डामा एक ठाउँमा छौं । थिति बसाल्ने कदम विधिसम्मत् र संविधानभित्र रहेर चाल्नु हुनेछ भन्ने विश्वास छ ।'
उनले लोकतान्त्रिक प्रणाली बसाल्न भूमिका खेल्न सुझाव दिए । ‘त्यसैले बहुमतले विनम्रता र अल्पमतले धैर्यता सिक्नुपर्छ । लोकतन्त्रमा संख्या अस्थायी हुन्छन् तर लोकतान्त्रिक, विधि, प्रणाली स्थायी हुनुपर्छ भन्न स्थापित लोकतान्त्रिक मान्यता हो,’ दाहालले भने, ‘छोटो समयमा लोकप्रियता हासिल गर्न सफल हुनुभएको छ । युवाको सहभागिताले एक तहसम्म आशा जगाएको छ ।’
