नयाँ नेतृत्व चुन्नका लागि ४ हजारभन्दा धेरै प्रतिनिधि चितवनमा भेला भएका छन् । नयाँ नेतृत्व चुन्नका लागि ४ हजार २११ महाधिवेशन प्रतिनिधि चितवनमा भेला भएका छन् । महाधिवेशनबाट केन्द्रीय सदस्य १ सय ५८ (७ प्रदेश समिति सभापति पदेन केन्द्रीय सदस्य) र सभापतिसहित १९ पदाधिकारी चयन हुनेछन् ।
42 Updates
रास्वपा सभापति रवि लामिछानेले पार्टीभित्र गुट र उपगुट बनाउन नहुने र त्यसो गरिएमा पार्टी सुरक्षित नरहने बताएका छन् । महाधिवेशनको उद्घाटन सत्रमा उनले भने, ‘गुट र उपगुट बनाएर त्यसलाई रोप्यौं भने र त्यो फल फल्यो भने वृक्षलाई नै काट्नुपर्छ ।’
उनले महाधिवेशनले पार्टीभित्र कुनै वैमनस्यता भए पनि त्यसलाई बिर्सनुपर्ने बताए । उनले भने, ‘कुनै गुट र उपगुटमा नलागी हामी अघि बढ्यौं भने रास्वपालाई लडाउन सक्ने कुनै शक्ति अबको युगमा आउनेछैन ।’
रास्वपा महाधिवेशनको उद्घाटन सत्रमा प्रधानमन्त्री बालेन्द्र शाहले बोलेका मुख्य बुँदाहरु :
- हाम्रो गाडी लोकल सडकमा होइन, एक्सप्रेस वे’मा कुदिरहेको छ । गन्तव्यमा पुगेपछि मात्र रोकिन्छ ।
- हामी नियममा बसेरै काम गर्छौं । सबै चिज नियन्त्रणमै छ, सबै कुरा कन्ट्रोलमै छ ।
- हामीले कुनै हावा चलाएका छैनौं । हामीले बाढी ल्याएर खोला फर्काएको हो ।
- हाम्रो पार्टी विकासवादी र काम गर्ने पार्टी हो । पुरानो कुरामा निहु खोज्दै बस्ने पार्टी होइन ।
- विगतमा सरकारी रकम दोहन भएको छ र फट्याइ भएको छ भने हामी निहु खोज्छौं ।
- हामीले नियम–कानून मिच्दैनौं । तर सबै कुरा नियन्त्रणमै छ । कुनै कुरा आउट अफ कन्ट्रोलमा जाँदैनौं ।
- हामीसँग कालापानी र लिपुलेकको प्रमाण छ । हामीले ब्रिटिसलाई मध्यस्थता बनाउँछौं भनेको होइन । प्रमाण ल्याउँछौं भनेको हो ।
प्रधानमन्त्री बालेन्द्र शाहले आफूहरूसँग कालापानी र लिपुलेकसम्बन्धी प्रमाण रहेको बताएका छन् । रास्वपा महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले आफूले ब्रिटिसलाई मध्यस्थतामा ल्याउने नभई त्यहाँबाट प्रमाण ल्याउने भनेको स्पष्ट पारे । साथै, उनले आफूहरू सही दिशा र गतिमा अघि बढिरहेको दाबी गरे ।
प्रधानमन्त्री वालेन्द्र शाहले सामाजिक सञ्जाल हेर्दा कुनै चिज अनियन्त्रित जस्तो देखिए पनि सबै चिज नियन्त्रणमै रहेको बताएका छन् । उनले भने, ‘हाम्रो गाडी गन्तव्यमा पुगेपछि मात्रै रोकिन्छ ।’
रास्वपाका वरिष्ठ नेता वालेन्द्र शाहले रास्वपा नेतृत्वको सरकार एक्सप्रेस गाडी भएकाले गन्तव्यमा पुगेपछि मात्रै रोकिने बताएका छन् । रास्वपा नेतृत्वको सरकार लोकल रुटमा चल्ने गाडी नभएको एक्सप्रेस रुटमा चल्ने गाडीमा बीचबीचमा ब्रेक लगाउनु नपर्ने उनले बताए । रास्वपाको पहिलो महाधिवेशनमा सहभागी नेताहरूले दिएको सुझावप्रति लक्षित गर्दै उनले रास्वपा सरकार अब गन्तव्यमा पुगेर मात्रै रोकिने प्रष्ट पारेका हुन् ।
रास्वपा महाधिवेशनको उद्घाटन सत्रमा कांग्रेस महामन्त्री गगन थापाले राखेका मुख्य ५ बुँदा यसप्रकार छन् :
-कांग्रेस रास्वपाको प्रतिस्पर्धी हो, शत्रु होइन ।
-कांग्रेसले विगतमा गरेका गल्तीप्रति म आत्मालोचित छु ।
- हामीले आफ्नै दलका नेतालाई भगवान र ‘बा’ बनाएर गल्ती गर्यौं । रास्वपाले त्यस्तो नगरोस् ।
- रास्वपाका नेताहरूलाई भन्न चाहन्छु, आफ्नै नेतालाई प्रश्न गर्ने आँट र साहस गर्नुस् ।
- जहाँ विधि मिचिन्छ, त्यहाँ प्रश्न उठाइरहेको कांग्रेसलाई तपाईंहरूले देख्नुहुनेछ ।
*यसअघि पद अन्यथा भएकाले सच्याइएको छ ।
कांग्रेस सभापति गगन थापाले अहिलेको अवस्थामा रास्वपाले असाधारण जनमत पाएको बताएका छन् । उनले यो जनमत असाधारण भएकोमा कुनै दुई मत नरहेको प्रष्ट पारेका छन् । चितवनमा जारी रास्वपाको पहिलो महाधिवेशनमा सभापति थापाले नेपालको राजनीति यसअघि पनि यस्तै प्रकारका मत प्राप्त गरेको तर मत पाउने दलमा अहंकारका कारण दुर्घटनामा परेको बताए । उनले भने, यसअघि पनि नेपाली राजनीतिमा असाधारण प्राप्त भएको थियो तर जनमत दुर्घटनामा पर्यो । किनकी, उनीहरूमा अहंकार बढ्यो । म कामना गर्छु रास्वपामा यस्तो नहोस् ।'
कांग्रेस महामन्त्री गगन थापाले रास्वपाले प्राप्त गरेको जनमत असाधारण भएको बताएका छन् । रास्वपा महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले विगतमा पनि केही दलले यस्तै जनमत पाए पनि व्यक्तिबीचको टकरावका कारण ती दुर्घटनामा परेको बताए । उनले भने, ‘शक्तिको उन्मादले ती दल दुर्घटनामा परे ।’ थापाले जनमत प्राप्त गरेका दल दुर्घटनामा पर्दा त्यसको असर अन्य दल र नागरिकमा समेत पर्ने र पुस्तौँपुस्ता प्रभावित हुने बताए ।
उनले भने, ‘रास्वपाले पाएको सफलता स्थिरताका निम्ति हो ।’ थापाले कांग्रेस रास्वपाको प्रतिस्पर्धी भए पनि शत्रु नभएको स्पष्ट पारे ।
रास्वपा महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले रास्वपाको सफलता नेपाली इतिहासमा आन्दोलनको नयाँ कडी भएको बताएका छन् । उनले बोलेका मुख्य कुरा :
नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले रास्वपाले पछिल्लो चार वर्षमा जसरी युवाहरूलाई जोड्न सक्यो त्यो अन्य पार्टीले पनि सिक्नु पर्ने कदम भएको बताएका छन् । चितवनमा जारी रास्वपाको प्रथम महाधिवेशन समारोहलाई सम्बोधन गर्दै नेता ज्ञवालीले अब सभापति रवि लामिछाने र वरिष्ठ नेता वालेन्द्र शाह मन पराएर आएका युवाहरूलाई समेटेर राजनीतिक संगठनका रुपमा विकास गर्न उनले सुझाव दिए ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) महासचिव वर्षमान पुनले सुशासनका पक्षमा रास्वपा र नेकपा सँगै रहेको र अही पनि साथमै रहेको र पछि पनि रहने बताएका छन् । चितवनमा जारी रास्वपाको प्रथम महाधिवेशनले सुशासन नाममा संविधान विपरीत हुने गरी काम नगर्न उनले आग्रह गरे ।
नेकपाका नेता वर्षमान पुनले सुशासन, पारदर्शिता र थिति बसाल्ने कदममा रास्वपालाई सहयोग गर्ने बताएका छन् । आइतबार भरतपुरमा रास्वपाको पहिलो महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना मन्तव्य दिने क्रममा नेता पुनले विगतमा पनि यी मुद्दामा आफूहरूले सहकार्य गरेको स्मरण गरेका हुन् ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले रास्वपालाई विभिन्न विचार र पृष्ठभूमिका जनताले मत दिएको बताउँदै नेपालमा राजा चाहिन्छ भन्नेहरूले पनि रास्वपालाई मत दिएको दाबी गरे ।
रास्वपाको महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले रास्वपाले देश बनाउने अवसर पाएको भन्दै यसमा चुकियो भने धोका पार्टी वा नेतृत्वलाई मात्र नभई सिंगो देशलाई हुने बताए । देशका सबै जिल्ला र वडामा संगठन नबनाएको पार्टीलाई पनि जनताले मत दिएको उल्लेख गर्दै उनले भने, ‘जनताको विश्वासलाई मर्न नदिनुस् ।’
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संविधानमा संघीयता, धर्मनिरपेक्षताजस्ता महत्वपूर्ण व्यवस्था समेटिए पनि अझै धेरै कुरा अपूर्ण रहेको बताएका छन् ।रास्वपाको महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले संविधानभित्र नै केही विरोधाभास रहेको तर्क गरे ।
उनले भने, 'आज संविधानमा रहेका विकृति र विसंगति हटाएर संविधान संशोधन गर्ने जिम्मेवारी यहाँहरूमाथि आइपरेको छ ।'
जनमत पार्टीका अध्यक्ष सीके राउतले रास्वपा सभापति रवि लामिछाने बीपी कोइरालापछिका त्यस्ता नेता भएको बताएका छन्, जसले देशलाई डोर्याउन सक्ने क्षमता राख्छन् ।
उनले जनताले रास्वपालाई दुईतिहाइ बहुमत दिएको उल्लेख गर्दै भने, 'यो दुईतिहाइ बहुमत जिम्मेवारी पनि हो ।'
राउतले आफूले रवि लामिछानेमा सधैं भविष्य देखेको पनि बताए ।
जनमत पार्टीका अध्यक्ष सीके राउतले मधेशीको छोरा प्रधानमन्त्री बनाउने सपना रास्वपाले पूरा गरेको बताएका छन् । रास्वपाको महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले भने, 'प्रधानमन्त्री बालेन्द्र अलग्गै खालको मान्छे हुन् ।'
प्रधानमन्त्रीको प्रशंसा गर्दै उनले समस्या समाधान गर्ने व्यक्ति भएको बताए । साथै, उनले पार्टी सभापति रवि लामिछानेको त्याग र तपस्याका लागि ताली बजाउन पनि अधिवेशनस्थलमा उपस्थितहरूलाई अनुरोध गरे ।
अर्थमन्त्री एवं रास्वपा उपसभापति स्वर्णिम वाग्लेले आफूहरू सरकार बनाउन मात्र नआएको बताएका छन् । भरतपुरमा रास्वपाको पहिलो महाधिवेशन उद्घाटन सत्रमा सम्बोधन गर्दै आफूहरू राजनीतिक संस्कार बदल्न आएको बताए । उनले भने,'हामी कसैलाई हराउन भन्दा पनि नेपाललाई जिताउन आएका हौँ ।'
रास्वपाको पहिलो महाधिवेशन हाम्रो लागि नितान्त पर्व हो । देशका लागि पनि पर्व हो । चासोको विषय पनि हो । सभापतिले स्थापना कालदेखि मिहिनेत गर्नुभएको छ, उहाँमाथि झूठो आरोप, झूठो मुद्दा लगाएर विभिन्न ठाउँ पुर्याइयो । फलस्वरुपप अहिले पार्टी यत्रो ठूलो बनेको छ । त्यसैले अहिले सभापति र अरु नेताहरु मिलेर सहमति र सहकार्यका साथ नेपाली जनता मिलेर अघि बढ्नुपर्छ । -गिरीप्रसाद मरासिनी
रास्वपाका महामन्त्री कर्विन्द्र वुर्लाकोटीले ६०९ पालिका र ६४ जिल्लामा अधिवेशन सम्पन्न भइसकेको तथा बाँकी १३ जिल्लामा छिट्टै अधिवेशन गरिने बताए । महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले मधेस प्रदेशको अधिवेशन भने अझै बाँकी रहेको जानकारी दिए ।
उनले भने, ‘यहाँ ७७ जिल्लाबाट प्रतिनिधिहरू आएका छन् ।’
भरतपुरमा जारी रास्वपा महाधिवेशनस्थलमा पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुकहरु आउने क्रम जारी छ । महाधिवेशनका सहभागीले गर्मीमा तिर्खा मेटाउन मोही पिउदैछन् ।
महाधिवेशन उद्घाटनस्थल भरतपुर गेष्ट हाउस चौरमा दुग्ध विकास संस्थान (डिडिसी) र जिल्लाका दुग्ध सहकारीले स्टल राखेर दही मोही बेचिरहेका छन् । महाधिवेशनको उद्घाटन आज दिउँसो हुँदैछ ।
रास्वपाको महाधिवेशनमा एकजना उम्मेदवारको प्रस्तावक १ जना र समर्थक २१ जना अनिवार्य गरिएको छ । उम्मेदवारको प्रस्तावक र समर्थक बसेको व्यक्ति अर्को उम्मेदवारको प्रस्तावक र समर्थक बस्न नपाउने मापदण्ड तोकिएको छ । पारदर्शिता अपनाउन यो व्यवस्था गरिएको निर्वाचन आयोगका उपप्रमुख राम गुरुङले बताए । रास्वपाको पहिलो महाधिवेशन चितवनको भरतपुरमा आज सुरु हुँदै छ ।
आजदेखि सुरु हुने रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनमा चहलपहल बढेको छ । शनिबारदेखि नै उद्घाटनस्थल गेस्टहाउस चौरमा चहलपहल बाक्लिएको थियो । पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता एवं प्रधानमन्त्री वालेन्द्र शाहको तस्बिरसहितको महाधिवेशन लोगो अंकित बोर्ड उद्घाटनस्थलमा टाँगिएको छ ।
रास्वपामा नयाँ नेतृत्व चुन्नका लागि ४ हजार २११ महाधिवेशन प्रतिनिधि चितवनमा भेला भएका छन् । महाधिवेशनबाट केन्द्रीय सदस्य १ सय ५८ (७ प्रदेश समिति सभापति पदेन केन्द्रीय सदस्य) र सभापतिसहित १९ पदाधिकारी चयन हुनेछन् । रास्वपाको महाधिवेशन उद्घाटन कार्यक्रम भरतपुरको गेस्टहाउस चौरमा हुँदै छ । बन्दसत्र चितवन उद्योग संघको औद्योगिक प्रदर्शनी केन्द्रमा हुँदै छ ।
प्रधानमन्त्री एवं रास्वपाका वरिष्ठ नेता वालेन्द्र शाह पार्टीको महाधिवेशनमा सहभागी हुन चितवन पुगेका छन् । उनी विमानमार्फत श्रीमती र छोरीसहित चितवन पुगेका हुन् । शाह र पार्टी सभापति रवि लामिछानेले आज दिउँसो भरतपुर गेस्ट हाउस चौरमा महाधिवेशनको संयुक्त रूपमा उद्घाटन गर्नेछन् ।


















