जुन सपना तपाईंहरूले देख्नु भएको छ त्यही सपना पनि मैले देखेको छु । म प्रतिस्पर्धी होइन सहयोगी र शुभेच्छुकका रूपमा उपस्थित भएको छु : सीके राउत
काठमाडौँ — जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत(सीके राउत) ले रास्वपा महाधिवेशनलाई क्रान्तिको उत्सवको संज्ञा दिएका छन् । भरतपुरमा आइतबार रास्वपा महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना मन्तव्य दिँदै अध्यक्ष राउतले आफूले देखेका सपना साटासाट गर्न चितवन पुगेको बताए ।
उनले भने, 'यो एउटा महाधिवेशन मात्र होइन, यो क्रान्तिको महोत्सव होइन ।' त्यस्तै रास्वपा नेतृत्व पद र प्रतिष्ठाका लागि नआएकोमा आफूलाई विश्वास रहेको उनको भनाइ थियो । उनले अगाडि भने, 'जुन सपना तपाईंहरूले देख्नु भएको छ त्यही सपना पनि मैले देखेको छु । म प्रतिस्पर्धी होइन सहयोगी र शुभेच्छुकका रूपमा उपस्थित भएको छु ।'
आफू पनि देश बनाउन भनेर ३५ वर्षकै उमेरमा अमेरिका छाडेर स्वदेश फर्किएको उनले बताए । 'म पनि ३५ वर्षको उमेरमा अमेरिका छाडेर आएको हुँ । म पनि नेपाल बनाउने सपना देखेको व्यक्ति हुँ । त्यो सपना साटासाट गर्न म यहाँ उपस्थित भएको हुँ । हामीले सपना मात्र देखेनौँ, एकभन्दा अर्को आन्दोलन गर्यौँ । देशलाई परिवर्तनका लागि नौलो गणतन्त्रको कन्सेप्ट पनि ल्यायौँ ।'
जेन-जी आन्दोलनको मर्म नभुल्न पनि अध्यक्ष राउतले रास्वपा नेतृत्वलाई आग्रह गरे ।
