अख्तियारलाई ५ घण्टा सोधपुछ गर्नु पर्ने भए गर्छौ । ५ घण्टा मात्रै होइन आवश्यक परे ५ वर्ष पनि गर्छौं । यसो गर्दा नियम कानुन मिच्दैनौं नियम कानुन मै बसेर गर्छौं : प्रधानमन्त्री शाह
What you should know
काठमाडौँ — रास्वपाका वरिष्ठ नेता एवं प्रधानमन्त्री वालेन्द्र शाहले देश बनाउने सानो हुटहुटीले सुरु भएको रास्वपा पहिलो महाधिवेशनसम्म आइपुग्दा पार्टीलाई कसरी एक ढिक्का बनाउँदै संस्थागत बनाउने भन्ने स्थानमा आइपुगेको बताएका छन् । चितवनमा जारी महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले यसअघि बोल्ने केही नेताहरूले रास्वपालाई दिएको सल्लाह, सुझाव, आग्रह र चिन्ताप्रति सजक रहेको पनि बताए । उने भने, सरकार भनेको त गाडी जस्तो हो । गाडीमा त ब्रेक पनि हुन्छ । ब्रेक पनि लगाउनु पर्छ भनेर चिन्ता व्यक्त गरेका छन् । त्यस्तो चिन्ता लोकल रोडहरूमा हिड्दा सीधा गइरहेको गाडीमा अरु आए भने ब्रेक लगाउनु पर्ने हुन्छ । तर हाम्रो गाडी लोकल रुटमा हिडेको गाडी होइन एक्स्प्रेस रुटमा हिँडेको गाडी गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ । गन्तव्यमा पुग्नुअघि ब्रेक लगाउन जरुरी हुँदैन । र हाम्रो गाडी अनियन्त्रित पनि छैन । वातावरण पनि राम्रो छ । त्यसकारण हाम्रो पार्टीप्रति जुन चिन्ता चासो देखाउनु भएको छ त्यसका लागि धेरै धेरै धन्यवाद ।
चिन्ता लिनु राम्रो कुरा हो । जनताको मत हावा जस्तो हो कहिले यताबाट चल्छ कहिले उताबाट चल्छ भनेर भनिरहनु भएको छ । हामीले कुनै हावा चलाएका छैनौं । हामीले बाढी ल्याएर खोला फर्काएको हो । खोला एक पटक सीधा बाटोमा फर्किसकेपछि निरन्तर त्यही बाटो हिड्छ । यो हावा जस्तो पूर्व पश्चिम उत्तर दक्षिणतर्फ जाँदैन । यसकारण चिन्ता लिएकोमा धेरै धेरै धन्यवाद । यस्तै चिन्ता सधैभरि लिइरहनु होला । हामीलाई मार्गदर्शन गरिरहनुहोला ।'
समारोहमा उनले एउटा साथीले भनेका कुरा पनि सम्झिए । उनले भने, 'मेरो एउटा अनन्य मित्रले भन्नु हुन्थ्यो, वालेन स्पोटलाइटमा आउन सहज हुन्छ तर त्यो स्पोटलाइटमा टिकिरहन गाह्रो हुन्छ । त्यस्तै चिन्ता यहाँ नेतागणले पनि गर्नु भएको छ । अहिले रास्वाले करिब दुई तिहाइ मत प्राप्त गरेको छ त्यसलाई टिकाइ राख्न उहाँले चिन्ता व्यक्त गरिरहनु भएको छ । यहाँ के भन्न चाहन्छु भने हामीलाई स्पोटलाइटमा जनताले ल्याएका हुन् । जनता सधै स्पोटलाइटमा थियो छ र रहिरहन्छन् ।
वरिष्ठ नेता शाहले रास्वपा कुन धारको पार्टी हो भन्ने प्रश्नको जवाफ पनि दिएका छन् । उनले रास्वपा विकासवादी पार्टी भएको बताए । 'हाम्रो पार्टीको बारेमा यो कस्तो हो राइट हो लेफ्ट हो भनेर चिन्ता गर्नेहरू पनि छन् । हाम्रो पार्टी विकासवादी नेता हो । विकास गर्ने पार्टी हो । हाम्रो पार्टी अघि बढ्ने पार्टी हो प्रतिसोध साध्ने पार्टी होइन । पुराना पुराना कुरा लिएर निहुँ खोज्दै बस्ने पार्टी होइन् । निहुँ खोज्नै पर्ने घटनामा भने निहुँ पनि खोज्छौं । जस्तै सरकारी जमिन दोहन भएको छ भने त्यहाँ निहुँ खोज्छौं । यसरी निहुँ खोज्दा अख्तियारलाई ५ घण्टा सोधपुछ गर्नु पर्ने भए गर्छौ । ५ घण्टा मात्रै होइन आवश्यक परे ५ वर्ष पनि गर्छौं । यसो गर्दा नियम कानुन मिच्दैनौं नियम कानुन मै बसेर गर्छौं । सामाजिक सञ्जालमा देख्दा नियन्त्रण बाहिर गयो कि भने जस्तो लागेको मात्रै हो त्यसो होइन सबै नियन्त्रण मै छ । चिन्ता कुनै विषयमा लिनु पर्दैन,' उनले भने ।
उनले अन्य दलहरूले आफूले सीमाका विषयमा बोलेका कुराप्रति पनि चिन्ता नलिन आग्रह गरेका छन् । 'सीमाका विषयमा पनि चिन्ता लिनु भएको छ । हामीले सीमाका विषयमा कुरा उठाउँदा पक्कै पनि हामीले विषय उठाएको देशले पनि चासो देखाउनु हुन्छ । उहाँहरूले तपाइहरूसँग प्रमाण छ भने ल्याउनुहोस् भन्नु भएको छ । हामीसँग कालापानी, लिपुलेकको प्रमाण छ । र त्यो प्रमाण लिनलाई ब्रिटिसले राज गर्दाखेरिको प्रमाण ल्याउनु पर्छ भने ल्याउँछौ भनेको हो । हामीले ब्रिटिसलाई मध्यस्थता गराउँछौं भनेको होइन । हामी हाम्रा छिमेकीसँग आफैं कुरा गरेर मिलाउँछौं । हामीसँग प्रमाण छ ल्याउँछौं भनेको हो यसमा आशंका मान्नु पर्ने केही छैन । मेरो राष्ट्रियताप्रति कुनै आशंका मान्नु पर्दैन,' उनले भने ।
