रास्वपा केन्द्रीय समिति बैठकबाट संशोधित विधान पारित, १५८ सदस्यीय केन्द्रीय समिति बन्ने

रास्वपाको सदस्य ५ लाख पुग्यो

असार ६, २०८३

राजु चौधरी

RSVP Central Committee meeting passes revised statute, forming 158-member Central Committee

What you should know

चितवन — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनले १५८ सदस्यीय केन्द्रीय समिति चयन गर्ने भएको छ । 

रास्वपाको शनिबार भरतपुरमा बसेको अन्तिम केन्द्रीय समिति बैठकले संशोधित विधान पारित गर्दै १५८ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय गरेको हो । जसमध्ये सभापतिसहित ९९ सदस्य निर्वाचन प्रक्रियाबाट टुंगो लाग्ने छ भने ५२ जनालाई सभापतिले मनोनीत गर्ने व्यवस्था गरिएको छ । सात प्रदेशका सभापतिहरु स्वतः केन्द्रीय सदस्यमा मनोनीत हुने रास्वपाको विधान मस्यौदा सुझाव समिति तथा सचिवालय सदस्य नेता गणेश पराजुलीले जानकारी दिए । उनका अनुसार स्थापनाकालमा २१ सदस्यीय केन्द्रीय समिति परिकल्पना गरिए पनि पछिल्लो समय भएका समायोजन प्रक्रियालाई सम्बोधन गर्न केन्द्रीय सदस्य विस्तार गरिएको हो । 

केन्द्रीय समितिको अन्तिम बैठकपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता पराजुलीले भने, ‘स्थापनाकालमा २१ जना केन्द्रीय सदस्य परिकल्पना गरिएको थियो । तर गत निर्वाचनअघि भएको बृहत् राजनीतिक सहमति, समायोजनको प्रक्रिया, विभिन्न शक्ति, वर्ग क्षेत्र र समूहलाई समेट्दै गर्दा समायोजन प्रक्रियालाई सम्बोधन गर्नुपर्ने भएपछि मनोनीत सदस्य थप गरेका छौं ।’

समावेशीको सिद्धान्तलाई सबै तहमा समेट्ने गरी विधानले सम्बोधन गरिएको नेता पराजुलीले बताए । उनका अनुसार एउटा प्रदेशबाट ५ जना केन्द्रीय सदस्य सुनिश्चितता गर्दैगर्दा २ जना अनिवार्य महिला गरिएको छ । जनसंख्याको आधारमा प्रदेशअन्तर्गतको सदस्यता सुनिश्चितसमेत गरिएको पराजुलीले बताए । रास्वपाको संशोधित विधान अनुसार १९ जना पदाधिकारी हुनेछन् । जसअनुसार सभापति, वरिष्ठ नेता, एक महिलासहित तीन जना उपसभापति, दुई जना महामन्त्री, एक महिलासहित ५ जना सहमहान्त्री, एक कोषाध्यक्ष, दुई सह–कोषाध्यक्ष, एक जना प्रवक्ता, ३ जना सह–प्रवक्ता पदाधिकारी रहने छन् । 

रास्वपाको सदस्य ५ लाख पुग्यो

रास्वपाको प्रथम महाधिवेशन अघिसम्म पार्टी साधारण सदस्य ५ लाख पुगेको छ । शनिबार भरतपुरमा बसेको केन्द्रीय समितिको अन्तिम बैठकपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै पार्टीका प्रवक्ता मनिष झाले पार्टी सदस्य ५ लाख नाघेको जानकारी दिए । उनका अनुसार महाधिवेशनमा ३ हजार ९१८ जना प्रतिनिधि सहभागी हुनेछन् । आइतबारसम्ममा ३ सय प्रतिनिधि थप हुन सक्ने प्रवक्ता झाले बताए । त्यसका लागि दुई महामन्त्रीलाई विवेक प्रयोग गर्ने गरी जिम्मेवारी प्रदान गरिएको उनले बताए । 

उनका अनुसार रास्वपाको ६४ वटा जिल्लाको अधिवेशन सम्पन्न भइसकेको छ । यस्तै ७५३ मध्ये ६१० पालिका अधिवेशन सम्पन्न भएको छ भने ४ हजार ६१ वडा अधिवेशन सकिएको छ । 

प्रवक्ता झाले गत फागुन २१ मा सम्पन्न निर्वाचनबाट पार्टीले प्राप्त गरेको मत पार्टीले आम्दानीको रुपमा लिएको बताए । अब त्यसलाई यो महाधिवेशनबाट संस्थागत रुपमा अघि बढाउने प्रयास भइरहेको बताए । ‘फागुन २१ को निर्वाचनले दिएको मत पार्टीको आम्दानी हो, त्यसलाई अब संस्थागत अभ्यास गर्दै अघि बढ्ने प्रयासमा छौं । त्यसले आम्दानीलाई सम्पत्तिको रुपमा परिणत गर्न सघाउने छ । अभियान र राजनीति फरक कुरा हो । धेरै हदसम्म अब पार्टी अभियानबाट राजनीतिमा परिणत हुँदैछ,’ प्रवक्ता झाले भने । प्रवक्ता झाले रास्वपाको प्रवर्तनको अभियानमा चितवनको योगदान धेरै नै रहेको भन्दै चितवन रास्वपाको राजधानी भएको बताए । 

पत्रकार सम्मेलनमा रास्वपाका सचिवालय सदस्य हरि ढकालले महाधिवेशन व्यवस्थापनको काम ८५ प्रतिशत पूरा भएको जानकारी दिए । उनले आइतबार विहानसम्ममा सबै व्यवस्थापकिय काम पूरा हुने बताए । 

राजु चौधरी कान्तिपुर टेलिभिजनका चितवन संवाददाता हुन् ।

Link copied successfully