पार्टीमा फर्किन पूर्वमहामन्त्री धवल शमशेरलाई राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

पार्टीको केन्द्रीय समितिको बैठकका निर्णय सुनाउने क्रममा संचारकर्मीहरुसँग कुरागर्दै उनले पार्टी छाडेर गल्ती नगर्न आग्रह गरेका हुन् ।

असार ६, २०८३

न्युज एजेन्सी नेपाल

RPP Chairman Lingden urges former General Secretary Dhaval Shumsher to return to the party

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी परित्याग गरेका पूर्वमहामन्त्री धवलशमशेर राणालाई पार्टीमा फर्किन आग्रह गरेका छन् ।

पार्टीको केन्द्रीय समितिको बैठकका निर्णय सुनाउने क्रममा संचारकर्मीहरुसँग कुरागर्दै उनले पार्टी छाडेर गल्ती नगर्न आग्रह गरेका हुन् । उनले नेताहरुले पार्टी छाडेको कुरा जानकारीमा नआएको दाबी गरे ।

उनले भने, ‘हामीले पार्टीको केन्द्रीय समितिको बैठकमा यस विषयमा कुनै जानकारी पनि पाएका छैनौं । अहिलेसम्म हाम्रा कोही साथीहरुले सुन्नुभएको पनि छैन, उहाँहरुले जीवनको यो क्षणमा आएर यस प्रकारको गल्ती गर्नुहुन्न भन्ने मैले विश्वास गर्छु र उहाँहरुले कथम् यस प्रकारको काम गर्नुभयो भने उहाँहरुको जीवनको यो अन्तिम गल्ती हुनेछ ।’

राप्रपाका पूर्वमहामन्त्री राणाले भने पार्टी परित्याग गरेर नयाँ पार्टी गठन गर्ने घोषणा गरिसकेका छन् । अध्यक्ष लिङ्देनले भने राणाको उक्त कार्यलाई जीवनकै अन्तिम गल्तीको रुपमा टिप्पणी गरे । 

अध्यक्ष लिङ्देनले पार्टी नेतृत्वको बहस गर्ने बेला पनि नभएको बताए । महाधिवेशनको निर्धारित समय आएपछि साथीहरूसँग छलफल र परामर्श गरेर निष्कर्षमा पुग्ने उनको भनाइ छ । 

‘अहिले नै नेतृत्वको बारेमा बहस गर्ने समय आएको छैन । महाधिवेशनको जुन ठ्याक्कै समय आउँछ, त्यसबेला साथीहरुसँग छलफल, परामर्शपछि हामी टुंगोमा पुग्छौं । तर आउने महाधिवेशनमा नेतृत्वलाई प्रभावकारी र समयसापेक्ष बनाउने कुरामा हामी सबैको ध्यान केन्द्रित हुनेछ,’ उनले भने । 

न्युज

Link copied successfully