अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्रीले धम्की दिएको भन्दै कांग्रेसको आपत्ति

प्रधानमन्त्री कार्यालयमा बोलाएर प्रधानमन्त्री शाहले उनीहरूमाथि धम्की दिने काम गरिएको विषय आपत्तिजनक भएकाले त्यसको सत्यतथ्य बाहिर ल्याउनका लागि संसदीय छानबिन समिति गठन गर्नुपर्ने कांग्रेस सांसद नरेन्द्रकुमार केरुङको माग छ ।

असार ४, २०८३

कान्तिपुर संवाददाता

Nepali Congress objects to Prime Minister's threats against CIAA officials

काठमाडौँ — प्रमुख प्रतिपक्षी दल कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीमाथि धम्की दिएको भन्दै प्रधानमन्त्री वालेन्द्र शाहप्रति आपत्ति जनाएको छ । 

प्रधानमन्त्री कार्यालयमा बोलाएर प्रधानमन्त्री शाहले उनीहरूमाथि धम्की दिने काम गरिएको विषय आपत्तिजनक भएकाले त्यसको सत्यतथ्य बाहिर ल्याउनका लागि संसदीय छानबिन समिति गठन गर्नुपर्ने कांग्रेस सांसद नरेन्द्रकुमार केरुङको माग छ । 

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले संवैधानिक आयोगका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनछेक गरेर धम्की दिने काम उचित नभएको यसबारे प्रधानमन्त्रीले संसद्‍मा आएर जवाफ दिनेपर्ने माग समेत गरे । 

‘सम्माननीय सभामुखज्यू, अहिलेभन्दा १३ घण्टा अगाडि मात्रै हिजो मात्रै नागरिक सर्वोच्चता भएको यो मुलुकमा लोकतन्त्र र सुशासनको नारा दिएर स्थापित भएको र गठन भएको यो सरकारको कार्यशैलीप्रति अत्यन्तै लज्जाजनक विषयवस्तु बाहिर निस्किएको छ । संवैधानिक निकायका प्रमुख अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख तथा पदाधिकारीहरूलाई प्रधानमन्त्री कार्यालयमा थुनेर प्रधानमन्त्री कार्यालयबाटै प्रधानमन्त्री कार्यालयबाटै पक्राउ पुर्जी जारी गर्न बाध्य बनाइने नत्र भने उनीहरूलाई प्रधानमन्त्री कार्यालयमा नै थुन्ने थुन्ने धम्कीसहित पक्राउ पुर्जी जारी गर्ने कुरा बाहिर आएको छ ।  यो विषय यदि साँचो हो भने सम्माननीय प्रधानमन्त्रीज्यू त्यो विषय के हो ? अथवा सत्यतथ्य छानबिन गर्नका लागि संसदीय समिति गठन गर्नु पर्दछ । होइन भने प्रधानमन्त्रीज्युले यहाँ आएर सदनलाई जानकारी गराउनु पर्दछ,’ उनले भने । 

सांसद केरुङले गृहमन्त्री सुधन गुरुङमाथि गरिएको छानबिन आयोगको प्रतिवेदन सार्वजनिक गर्न पनि सरकारलाई आग्रह गरेका छन् । 

कान्तिपुर

Link copied successfully