यो निर्णय कुनै असन्तुष्टि, गुनासो वा वैचारिक विचलनका कारण नभई केवल स्वास्थ्य अवस्थाले सिर्जना गरेको बाध्यात्मक परिस्थितिको परिणाम हो : महरा
What you should know
काठमाडौँ — नेकपाका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महराले सक्रिय राजनीति छाड्ने बताएका छन् । बिहीबार एक वक्तव्य जारी गर्दै महराले सक्रिय राजनीतिबाट बिदा लिने घोषणा गरेका हुन् ।
झन्डै ५ दशकदेखि नेपाली कम्युनिस्ट राजनीतिमा रहेका महराले स्वास्थ्यका कारण सक्रिय राजनीतिबाट अलग भएको जानकारी दिएका छन् ।
उनी आफू केही वर्षयता एट्रोफीसम्बन्धी रोगबाट ग्रसित रहेको बताएका छन् । उनले वक्तव्यमा भनेका छन्, 'केही वर्षयता म एट्रोफीसम्बन्धी रोगबाट पीडित छु । नसाहरू र मांसपेशीहरू क्रमशः खुम्चिँदै जाने यस समस्याका कारण नियमित उपचार, थेरापी तथा औषधि सेवन गरिरहे पनि स्वास्थ्य अवस्थाले अपेक्षित साथ दिन सकेको छैन । परिणामस्वरूप, पार्टीका नियमित गतिविधि र जिम्मेवारीहरूमा विगतझैं सक्रिय, प्रभावकारी र जिम्मेवार ढंगले योगदान गर्न कठिन हुँदै गएको छ ।'
पार्टीका नियमित गतिविधि र जिम्मेवारीहरूमा विगतझैं सक्रिय, प्रभावकारी र जिम्मेवार ढंगले योगदान गर्न कठिन हुँदै गएको पनि उनको भनाइ छ । कुनै असन्तुष्टि वा गुनासोभन्दा नि स्वास्थ्य अवस्थाका कारण आफू सक्रिय राजनीतिमा रहन नसकेको उनले बताएका छन् । 'निकै गह्रौं मनका साथ आजकै मितिदेखि पार्टीको सक्रिय जिम्मेवारीबाट अलग भई साधारण सदस्य रहने निर्णय गरेको जानकारी गराउन चाहन्छु । यो निर्णय कुनै असन्तुष्टि, गुनासो वा वैचारिक विचलनका कारण नभई केवल स्वास्थ्य अवस्थाले सिर्जना गरेको बाध्यात्मक परिस्थितिको परिणाम हो,' उनले भनेका छन् ।
महरा २०३५/०३६ को विद्यार्थी आन्दोलनमा संलग्न भएका थिए । त्यसपछि नेपाल राष्ट्रिय शिक्षक संगठनको विभिन्न जिम्मेवारीमा रहेका उनी पृथ्वीनारायण क्याम्पस पोखराको स्ववियु कोषाध्यक्ष र उपाध्यक्षसमेत भएका थिए । उनी झन्डै एक दशकसम्म विद्यालयमा विज्ञान र गणितसमेत पढाए । पछि नेकपा चौथो महाधिवेशन, नेकपा मशाल, नेकपा एकता केन्द्र, नेकपा (माओवादी), एनेकपा माओवादी, नेकपा माओवादी केन्द्र हुँदै हाल नेकपामा उनी आबद्ध थिए । उनी तत्कालीन माओवादी र सरकारबीच भएको विस्तृत शान्ति सम्झौताका परिकल्पनाकारसमेत हुन् ।
तर पछिल्लो समय उनी विभिन्न प्रकरणमा समेत मुछिए । सुन तस्करी प्रकरणमा उनी पटक-पटक पक्राउसमेत परे । विशेष अदालतले पूर्वसभामुख महरालाई यही प्रकरणमा १ लाख रुपैयाँ धरौटी लिएर छाड्ने आदेश दिएको थियो । भेपमार्फत सुन तस्करी गरेको अभियोगमा विशेष अदालतमा दायर भएको भ्रष्टाचार मुद्दामा महरासँग अदालतले धरौटी रकम माग गरेको हो ।
