विचार र दर्शन सामाजिक सञ्जालका पोस्टमा सीमित हुन पुगेको छ : प्रदीप ज्ञवाली

नेपालमा पपुलिज्म, अराजकतावाद र चरम दक्षिणपन्थी प्रवृत्तिको हाबी भएको पनि नेता ज्ञवालीले दाबी गरे ।

असार ३, २०८३

कान्तिपुर संवाददाता

Thoughts and philosophy have become limited to social media posts: Pradeep Gyawali

What you should know

काठमाडौँ — एमाले नेता प्रदीप ज्ञवालीले नेपालमा विचार र दर्शनहरू संकुचित हुँदै फेसबुक र एक्समा सीमित हुन पुगेको बताएका छन् । बुधबाट आयोजित दर्शनशास्त्रको इतिहास पुस्तकको परिचर्चा कार्यक्रममा नेता ज्ञवालीले नेपालमा दर्शनप्रतिको रुचि र बौद्धिक बहस संकटमा परेको बताएका हुन् । 

भारतका प्रसिद्ध दार्शनिक तथा लेखक देवीप्रसाद चट्टोपाध्यायको भनाइ स्मरण गर्दै विचार र दर्शनप्रतिको चासो घट्दै गएको उनले अवस्थाप्रति चिन्ता व्यक्त गरे । गर्नुभयो । चट्टोपाध्यायले ‘भारतलाई दर्शनको सबैभन्दा बढी आवश्यकता भएको बेला नै दर्शनप्रतिको रुचि र बौद्धिक बहसमा खडेरी देखिएको’ उल्लेख गरेको सन्दर्भ प्रस्तुत गर्दै ज्ञवालीले नेपालमा पनि यस्तै अवस्था देखिन थालेको बताए । 

‘भारतको एकजना विख्यात दर्शनका ज्ञाता र लेखक हुनुहुन्छ, देवीप्रसाद चट्टोपाध्याय । उहाँले धेरै वर्ष अगाडि एउटा सन्दर्भमा भन्नुभएको थियो, आज भारतलाई जति बेला दर्शनको सबैभन्दा बढी खाँचो छ, दुर्भाग्यवश यति नै बेला दर्शनप्रतिको रुचि, दर्शनको मीमांसा, दर्शनप्रतिको एउटा आकर्षण या त्यस सम्बन्धी क्रियाकलापहरूको एकदमै ठूलो खडेरी देखिन लागेको छ, उहाँले भन्नुभएको थियो । त्यही कुरालाई साभार गर्दै नेपालको हकमा पनि आज दर्शन र समग्र वैचारिक प्रश्नहरूमा सैद्धान्तिक नीतिगत प्रश्नहरूमा बहस झन् झन् झन् साँगुरिदै गएको छ । विचारहरू २४० क्यारेक्टरको टेक्स्टको पोस्टमा ट्विटमा या केही सय वर्डको फेसबुकका टेक्स्टहरूमा, पोस्टहरूमा साँगुरिदै गइरहेको छ,’ उनले भने । 

नेपालमा पपुलिज्म, अराजकतावाद र चरम दक्षिणपन्थी प्रवृत्तिको हाबी भएको पनि उनले दाबी गरे । राष्ट्रियता, लोकतान्त्रिक अधिकार, मानवअधिकार र खुला राजनीतिक स्पेसमाथि संकट बढ्दै गएको उनको भनाइ छ । 

‘पपुलिज्म, अनार्किज्म र चरम दक्षिणपन्थको जगमा एउटा निर्वाचित अधिनायकवादतिर सरकार गइरहेको छ, हेर्दा निर्वाचित हो, पपुलर भोटबाट आएको हो तर उसको यो सत्ताको समग्र व्यवहार एउटा अधिनायकवाद तिर छ, ट्रेड युनियन अधिकार खोसिएको छ, विद्यार्थीको २१ सालमा पञ्चायतसँग प्राप्त गरेका अधिकारहरू खोसिएको छ, अरु विभिन्न ढंगले तर्साइएको छ, सुकुमवासीहरूको बिजोग हामीले देखिनै रहेका छौँ,’ उनले भने । 

कान्तिपुर

Link copied successfully