मन्त्री यादवले विदेशमा गएकाहरूको ज्ञान, सीप र अनुभव राष्ट्रको हितमा लगाउने गरी उनीहरूको तथ्यांक संकलन गर्ने कामलाई पनि सरकारले प्राथमिकताका साथ अघि बढाएको बताए।
काठमाडौँ — युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले तीन तहका सरकारसँगको सहकार्यमा स्वदेशमै रोजगारीका अवसर सृजना गर्ने काममा सरकार लागिपरेको दाबी गरेका छन्।
बुधबार आफ्नो मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले नीति, कार्यविधि, प्रणाली र कार्यान्वयन संरचनालाई स्पष्ट पार्ने काममा सरकारले ध्यान दिएको पनि बताए।
‘स्वदेशमै रोजगारीका अवसर सृजना गर्ने उद्देश्यले राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम संघ, प्रदेश र स्थानीय तहको सहकार्यमा व्यवस्था गरिएको छ,' यादवले भने, 'हामी रिटर्नीको तथ्यांक संकलन गरी उहाँहरूले के सिकेर आउनुभएको हो, कहाँ रुचि छ, कस्तो अवसर खोज्नुभएको हो भन्ने कुरा बुझ्नुपर्छ। उनीहरूको क्षमताअनुसार मुलुकभित्र रोजगारीका अवसर सृजना गर्नका लागि आवश्यक कार्यक्रमको व्यवस्था गरिएको छ। बढ्दो माग भएका क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गरी पठाउने गरी काम भइरहेको छ। बजेटमा धेरै महत्वपूर्ण सवालहरू समावेश भएका छन्। तर, हामीले यो स्पष्टसँग भन्न आवश्यक छ कि– हामी केवल कार्यक्रम थप्ने चरणमा मात्रै छैनौं, हामी जग बसाल्ने चरणमा छौं। नीति, कार्यविधि, प्रणाली र कार्यान्वयन संरचना स्पष्ट नभएसम्म बजेट राखेर पनि खर्च गर्ने अवस्था हुँदैन। यो जग बसेपछि बजेट पनि त्यसरी नै बढाउँदै लैजानुपर्छ। र, आवश्यक भएमा थप बजेट निकासा गर्न सकिन्छ।’
मन्त्री यादवले विदेशमा गएकाहरूको ज्ञान, सीप र अनुभव राष्ट्रको हितमा लगाउने गरी उनीहरूको तथ्यांक संकलन गर्ने कामलाई पनि सरकारले प्राथमिकताका साथ अघि बढाएको बताए।
