सांसदहरूलाई जिल्ला र प्रदेशको नेतृत्वमा नउठ्न महामन्त्री बुर्लाकोटीले गरेको अनुरोध उल्लंघन
What you should know
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीको राष्ट्रिय महाधिवेशन पहिले नै सबै प्रदेश अधिवेशन सम्पन्न हुनेमा संशय पैदा भएको छ । रास्वपाको केही स्थानीय र जिल्ला तह संरचनामा विवाद देखिएको हो । रास्वपाले कोशी, बागमती, गण्डकी र लुम्बिनी गरी चार प्रदेश अधिवेशन सम्पन्न गरेको छ भने दुई प्रदेश कर्णाली र सुदूरपश्चिममा मंगलबार अधिवेशन हुने तय भएको छ । तर मधेश प्रदेशमा भने विवादले अधिवेशन अनिश्चित बनेको छ । रास्वपाले ७–९ असारमा चितवनमा महाधिवेशन गर्दै छ ।
मधेश प्रदेशका आठ जिल्लामध्ये पर्साको मात्रै जिल्ला अधिवेशन सकिएको छ । रास्वपा निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार महाधिवेशनअघि मधेश प्रदेश अधिवेशन गर्न मुस्किल छ । ‘समावेशिता र समायोजनको विषय टुंगो लाग्न बाँकी छ । अब महाधिवेशनको समय पनि नजिकिँदो भएकाले र समय पनि कमी भएकाले मधेशमा अधिवेशन हुने सम्भावना न्यून छ,’ केसीले भने ।
रास्वपा प्रवक्ता मनीष झाले महाधिवेशन अगाडि नै मधेश प्रदेश अधिवेशन सम्पन्न गराउने प्रयास जारी रहेको बताए । ‘रास्वपा मधेश प्रदेशमा केही प्रतिनिधिसम्बन्धी विवाद रहेकाले पर्साबाहेकको जिल्ला अधिवेशन रोकिएको छ । जिल्लाको केही विवाद समाधान गरेर महाधिवेशन अगाडि नै प्रदेश अधिवेशन सम्पन्न गराउने प्रयास हुँदै छ, अन्यथा महाधिवेशनपश्चात्को विकल्प छैन,’ उनले भने । रास्वपा निर्वाचन आयोगका उपप्रमुख राम गुरुङले मधेश अधिवेशन गर्नेबारे छलफल चलिरहेको जानकारी दिए ।
रास्वपाको कोशी प्रदेश सभापतिमा चन्द्र राई निर्वाचित भएका छन् । उनले सरिन तामाङलाई पराजित गर्दै नेतृत्व हात पारेका हुन् । कोशी प्रदेश सभापतिको निर्वाचनमा राईले २ सय ८० मत प्राप्त गरे । तामाङले १ सय ४१, चन्द्रकुमार गौलीले २७ र खगेन्द्र कटुवालले ४१ मत मात्रै प्राप्त गरेका थिए । सरिन तामाङ रास्वपा कोशी प्रदेशको निवर्तमान कार्यवाहक सभापति थिइन् । सभापतिमा पराजित भएपछि उनले पार्टी परित्यागको घोषणा गरेकी छन् ।
केन्द्रबाट ह्विप जारी गरेर आफूलाई पराजित गरिएको उनले आरोप लगाएकी छन् । उनले लेखेकी छन्, ‘सायद अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले, यो कारण गुटबन्दीको घाउले पिरोल्छ कोशीलाई भनेर । तर यो मेरो सोझो, सिधापन आज दुखाइ भो सबैलाई । हजुरीको राजनीति गर्नै जानिनँ, कमजोरी भो मेरो,’ उनले सामाजिक सञ्जालमा लेखेकी छन् । पार्टी कार्यविधि र नियमविपरीत अधिवेशनमा व्यक्ति परिचालन र ह्विप जारी गरिएको उनको आरोप छ ।
रास्वपाको बागमती, गण्डकी र लुम्बिनी प्रदेश अधिवेशनमा महामन्त्री कबिन्द्र बुर्लाकोटीले २१ जेठमा सबै सांसदका नाममा जारी गरेको अनुरोधपत्र उल्लंघन भएको छ । सांसदहरू नै जिल्ला र प्रदेश समितिको नेतृत्वको प्रतिस्पर्धामा उत्रिएपछि बुर्लाकोटीले पत्र नै जारी गरेका थिए । ‘गहन संसदीय जिम्मेवारी र निर्वाचन क्षेत्रको अत्यधिक व्यस्तताबीच यहाँहरूका लागि आफ्नो निर्वाचन क्षेत्रबाहेक अन्यत्र भूगोलको संगठनात्मक जिम्मेवारी सम्हाल्नु व्यावहारिक रूपमा चुनौतीपूर्ण र कार्यबोझका दृष्टिले समेत बोझिलो हुन सक्ने देखिन्छ,’ बुर्लाकोटीले पत्रमा लेखेका थिए, ‘संघीय संसद्का सदस्यहरूलाई संसदीय भूमिका र पार्टीको केन्द्रीय संरचनामा रही नीति निर्माण तहमा रणनीतिक भूमिकामा केन्द्रित रहन प्रेरित गर्ने पार्टीको नीति रहेको व्यहोरा अनुरोध गरिन्छ ।
रास्वपा बागमती प्रदेशमा प्रतिनिधिसभा सदस्य तथा निवर्तमान सभापति पराजित भएका छन् । रास्वपा प्रदेश सभापति निर्वाचनमा उत्सव अर्याल निर्वाचित भएका छन् । उनले यसअघि सभापति सांसद अच्युतम लामिछानेलाई २ मतको अन्तरले पराजित गरेका हुन् । अर्याल ४ सय १६ मत प्राप्त गरी विजयी हुँदा लामिछानेले ४ सय १४ मत प्राप्त गरे । बागमती प्रदेश सभापतिमा प्रतिनिधिसभाका दुई सांसदले उम्मेदवारी दिएका थिए । नुवाकोट २ बाट निर्वाचित लामिछाने पराजित भए भने काभ्रे २ बाट निर्वाचित बदनकुमार भण्डारीको सभापतिमा उम्मेदवारी नै खारेज भएको थियो ।
लामिछानेले पार्टीमा एक पद एक व्यक्तिको नीतिले नेताहरूलाई निस्तेज गर्ने बताएका थिए । महामन्त्री बुर्लाकोटीले संघीय सांसदलाई प्रदेश र जिल्लाको नेतृत्व नलिन भनी गरेको पत्राचारलाई लामिछानेले अस्वीकार गरेका थिए । ‘एक पद एक व्यक्तिले निस्तेज गर्छ, राजनीति गर्ने हरेकले बुझ्नुपर्छ,’ उनले भनेका थिए, ‘महामन्त्री (बुर्लाकोटी) सांसद र मुख्य सचेतक हुनुहुन्छ, यसलाई हामी पद भनेर लिँदैनौं । सांसद नभएको भए मुख्य सचेतक हुनुहुन्थेन । कहाँ कहाँ टेकेर कहाँ जाने भन्ने हो ।’ बहालवाला सभापतिलाई कहीं पनि उठ्न नदिन एक पद एक व्यक्तिको विषय उठाइएको भन्दै उनले आपत्ति जनाएका थिए । हेटौंडामा सुरु भएको बागमती प्रदेशको अधिवेशनमा विवाद उत्पन्न भएपछि काठमाडौंमा सारेर निर्वाचन गरिएको थियो ।
रास्वपा मधेश प्रदेशमा केही प्रतिनिधिसम्बन्धी विवाद रहेकाले पर्साबाहेकको जिल्ला अधिवेशन रोकिएको छ, जिल्लाको विवाद समाधान गरेर महाधिवेशन अगाडि नै प्रदेश अधिवेशन गराउने प्रयास हुँदै छ, अन्यथा महाधिवेशनपश्चात्को विकल्प छैन। -मनीष झा, रास्वपा प्रवक्तारास्वपा गण्डकी प्रदेश सभापतिमा नवीन त्रिपाठी निर्वाचित भएका छन् । उनले सांसद तथा निवर्तमान सभापति राजन गौतमलाई पराजित गरेका हुन् । त्रिपाठीले २ सय ३६ मत ल्याए भने गौतमको १ सय ८५ मत आयो । सभापतिका उम्मेदवारहरू माधवप्रसाद कँडेलले ११ र हरिबहादुर कार्कीले २ मत ल्याएका थिए । गण्डकी प्रदेश सभापतिमा उम्मेदवारी घोषणा गर्दै सांसद गौतमले महामन्त्री बुर्लाकोटीको पत्रप्रति आपत्ति जनाएका थिए । उनी नवलपुर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
‘कानुनसँगै पार्टी बनाउने जिम्मेवारी हो । कानुन बनाएर पार्टी बनाउँछु भन्न मैले पाउनुपर्छ । संसदीय भूमिका र पार्टीको भूमिका फरक कुरा हो,’ गौतमले भने । आगामी दिनमा पार्टीको स्थानीय र जिल्ला समितिको नेतृत्वमा रहेकाहरूलाई स्थानीय तह र प्रदेशसभा सदस्यमा लड्नबाट रोक्नका लागि महामन्त्रीबाट त्यस्तो निर्णय आएको हुन सक्ने गौतमले आरोप लगाए । गौतमले उक्त धारणा राखिरहँदा महामन्त्री बुर्लाकोटी सोही कार्यक्रममा उपस्थित थिए ।
रास्वपा लुम्बिनी प्रदेश सभापति दोस्रो पटक निर्वाचनको समय निर्धारण गरिएपछि भएको थियो । पहिलो चरणमा भएको निर्वाचनमा लुम्बिनी प्रदेश सभापतिका कुनै पनि उम्मेदवारले पार्टी विधानको व्यवस्था अनुसार बहुमत (५० प्रतिशत प्लस १) नपाएपछि पुनः मतदान घोषणा गरिएको थियो । त्यसपछि सबैभन्दा बढी मत ल्याउने उम्मेदवारलाई दोस्रो बढी मत ल्याउने उम्मेदवारले समर्थन गरेका थिए ।
लुम्बिनी प्रदेश सभापतिका लागि ६ उम्मेदवार थिए । शालिकराम घिमिरेले १ सय ९९, गोपाल घिमिरेले ८७, गणेश पौडेलले ८४, राजकुमार सुवेदीले ८०, मञ्जु भुसालले ७१ र मधुप्रसाद अर्यालले १९ मत पाएका थिए । सभापतिका लागि दोस्रो चरणको निर्वाचन हुने भएपछि शालिकरामलाई गोपालले समर्थन गरेका थिए । रास्वपा लुम्बिनीको सभापतिमा ७१ मत मात्र प्राप्त गरेकी मञ्जु ज्ञवाली भुसाल समानुपातिकबाट प्रतिनिधिसभा सभा सदस्य छिन् ।
रास्वपा कर्णालीको अधिवेशन आइतबारदेखि प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा सुरु भएको छ । ५ सय ५ प्रतिनिधि सहभागी अधिवेशनको उद्घाटन महामन्त्री भूपदेव शाहले गरेका छन् । रास्वपा कर्णाली सभापतिका लागि वर्तमान सभापति मदन खड्कासहित उपसभापति प्रेमबहादुर बोहरा, कोषाध्यक्ष स्नेहा उपाध्याय नेपाल, रुकुम पश्चिमका पूर्वसभापति मानबहादुर शाही र नन्दकिशोर बस्नेत (एनके) आकांक्षी छन् । आकांक्षीमध्ये खड्का र उपाध्याय सुर्खेतका, शाही र बोहरा रुकुम पश्चिम र बस्नेत दैलेखका हुन् । उपसभापति बोहरा प्रतिनिधिसभा सदस्यको समानुपातिक सूचीमा थिए । कर्णाली प्रदेश सभापतिका आकांक्षी बस्नेत दैलेख–१ बाट प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका थिए । उनी ८ हजार १ सय ५१ मत ल्याएर कांग्रेस उम्मेदवारसँग पराजित भएका थिए ।
रास्वपा सुदूरपश्चिम प्रदेशको अधिवेशन मंगलबारदेखि धनगढीमा हुँदै छ । यो अधिवेशनमा सभापतिमा उम्मेदवारी घोषणा गर्नेहरूको संख्या बढिरहेको छ । रास्वपा सुदूरपश्चिमका हालका सभापति प्रकाश विष्ट, संस्थापक सभापति नरेन्द्रबहादुर चन्द, जनकराज पन्त, भोजराज जोशीलगायतले उम्मेदवारी घोषणा गरेका छन् ।
