परराष्ट्रमन्त्री खनाल चीन प्रस्थान

तीनदिने भारत भ्रमण सकेको एक हप्तापछि परराष्ट्रमन्त्री खनाल चीन भ्रमणमा गएका हुन् । खनालको चीन भ्रमणलाई दुई छिमेकी मुलुकसँग सन्तुलित सम्बन्ध कायम राख्ने प्रयासका रूपमा हेरिएको छ ।

जेष्ठ ३१, २०८३

कान्तिपुर संवाददाता

Foreign Minister Khanal departs for China

What you should know

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको चार दिवसीय भ्रमणमा आइतबार बेइजिङतर्फ प्रस्थान गरेका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार चीनमा रहँदा मन्त्री खनालले आफ्ना समकक्षी वाङसँग नेपाल–चीन सम्बन्ध अझ सुदृढ बनाउने तथा आपसी सहकार्यलाई अझ सबल बनाउने सम्बन्धमा द्विपक्षीय वार्ता गर्नेछन् । साथै उनले चीनका उच्च अधिकारीहरूसँग पनि बेग्लाबेग्लै भेटवार्ता गर्नेछन् । 

मुलुकमा वैदेशिक लगानी भित्र्याउने उद्देश्यले बेइजिङस्थित नेपाली दूतावासद्वारा आयोजना हुने लगानी सम्मेलनमा मन्त्री खनाल सहभागी हुने कार्यक्रम रहेको छ ।  उक्त सम्लेनमा चिनियाँ उद्यमी व्यवसायीसँग पनि उनले छलफल गर्ने कार्यक्रम छ ।  

परराष्ट्रमन्त्री खनालको सम्मानमा उक्त दूतावासले एक स्वागत समारोह आयोजना गर्नेछ । समारोहमा उनले नेपाली समुदायसँग अन्तरक्रिया गर्नेछन् । मन्त्री खनाल आगामी असार ३ गते स्वदेश फर्किने कार्यक्रम छ ।

तीनदिने भारत भ्रमण सकेको एक हप्तापछि परराष्ट्रमन्त्री खनाल चीन भ्रमणमा गएका हुन् । खनालको चीन भ्रमणलाई दुई छिमेकी मुलुकसँग सन्तुलित सम्बन्ध कायम राख्ने प्रयासका रूपमा हेरिएको छ ।

२१ फागुनमा निर्वाचनको लगत्तै सीपीसीका केही उच्च अधिकारी काठमाडौं आएका थिए । उनीहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र खनाललगायतका नेताहरूसँग भेटवार्ता गर्दै नयाँ सरकारको दृष्टिकोणबारे छलफल गरेका थिए ।

 

कान्तिपुर

Link copied successfully