पार्टी फुटिसक्यो, यो दुर्भाग्य हो । तर कांग्रेस फेरि एक हुनुपर्छ : पूर्वमहामन्त्री शशांक कोइराला
What you should know
विराटनगर — नेपाली कांग्रेसको संस्थापनइतरका नेताहरूले पार्टीभित्र देखिएको विभाजन अन्त्य गरी पार्टीलाई एकताबद्ध बनाउन नेतृत्वलाई आग्रह गरेका छन् ।
विराटनगरमा आइतबार आयोजित कोशी प्रदेशस्तरीय भेलामा पार्टीभित्रको एकता, सहकार्य र आगामी १५औं महाधिवेशनलाई निष्पक्ष र समावेशी बनाउनुपर्ने आवाज प्रमुख रूपमा उठाइएको हो । भेलाका प्रमुख अतिथि तथा कांग्रेस नेता शेखर कोइरालाले नेपाली कांग्रेसको स्थापना लोकतन्त्र र निरंकुशताको अन्त्यका लागि भएको स्मरण गराउँदै पार्टीभित्र सहमति, सहकार्य र एकता अपरिहार्य भएको बताए । 'एकताबिना कांग्रेस अघि बढ्न सक्दैन । कांग्रेस कमजोर भयो भने लोकतन्त्र पनि कमजोर हुन्छ,' उनले भने, 'पार्टी फुट्न दिन्नँ र पार्टी फुट्दैन, तपाईंहरू ढुक्क हुनुस् ।'
कोइरालाले अहिलेको अवस्थामा कांग्रेस धेरै पर जान नसक्ने भन्दै स्थानीय तथा प्रदेश निर्वाचनलाई ध्यानमा राखेर पार्टी एकढिक्का हुनुपर्ने बताए । उनले लोकप्रियतावादको पछाडि लाग्ने प्रवृत्तिप्रति पनि सचेत गराए ।
पूर्वउपप्रधानमन्त्री तथा कांग्रेस नेता विजयकुमार गच्छदारले देश र लोकतन्त्र दुवै संकटमा रहेको उल्लेख गर्दै विराटनगरको भेलाले एकताको सन्देश दिएको दाबी गरे । उनले कांग्रेसभित्रका सबै पक्षलाई समेटेर अघि बढ्न आग्रह गर्दै महामन्त्री गगन थापालाई पार्टीभित्रको विभाजन अन्त्य गर्न आह्वान गरे । 'हिजो पञ्चायतसँग नतर्सिएको कांग्रेस आज आफ्नै नेताहरूसँग तर्सिएको छ,' उनले भने, 'कांग्रेसलाई एक बनाएर लैजानुस् ।'
पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले खण्डित कांग्रेसले राष्ट्र जोगाउन नसक्ने बताए । 'नथामिने कांग्रेसले देश थाम्न सक्दैन,' उनले भने, 'देश, संविधान, लोकतन्त्र र राष्ट्रियता संकटमा छन् । एकताको बाटोमा गएर मात्रै देश र पार्टी दुवै बलियो बन्छन् ।'
पूर्वमहामन्त्री शशांक कोइरालाले कांग्रेस विभाजित भएको अवस्था आफूहरूले स्वीकार गर्न नसक्ने बताए । 'पार्टी फुटिसक्यो, यो दुर्भाग्य हो । तर कांग्रेस फेरि एक हुनुपर्छ,' उनले भने । कांग्रेस एकताबद्ध भए पुरानै शक्ति र हैसियतमा फर्किन सक्ने उनको भनाइ थियो ।
पूर्वकेन्द्रीय सदस्य एनपी साउदले पदका लागि नभई पार्टीको भविष्यको चिन्ताले आफूहरू एकत्रित भएको बताए । उनले विशेष महाधिवेशनले पार्टीलाई एकजुट बनाउने जिम्मेवारी दिएको उल्लेख गर्दै १५औँ महाधिवेशनका लागि सबैलाई समान अवसर दिनुपर्ने धारणा राखे ।
पूर्वमन्त्री मोहनबहादुर बस्नेतले वर्तमान नेतृत्वले पार्टीलाई इतिहासकै कमजोर मोडमा पुर्याएको आरोप लगाए । उनले क्रियाशील सदस्यता नवीकरणमा भेद्भाव गरिएको दाबी गर्दै पुराना र स्थापित नेताहरूलाई पाखा लगाउने प्रयास भइरहेको बताए ।
नेता मिनेन्द्र रिजालले कांग्रेसको ८० वर्षे इतिहासमा पटक–पटक संकट आए पनि पार्टी जोगिएको स्मरण गराए । 'अहिले हामी एक ठाउँमा छैनौँ,' उनले भने, 'सबैको सम्मान हुने बाटोबाट मात्रै निकास निस्कन्छ ।' कांग्रेसलाई जिताउन सबैलाई जिताउनुपर्ने उनको भनाइ थियो ।
पूर्वकेन्द्रीय सदस्य बलबहादुर केसीले देश गम्भीर राजनीतिक संकटतर्फ गएको भन्दै कांग्रेस एक हुनुपर्ने आवश्यकता औंल्याए । 'देश संविधानले चल्छ, कांग्रेस विधानले,' उनले भने ।
नेता रामहरि खतिवडाले पार्टीभित्रको गुटबन्दी र सामाजिक सञ्जालमार्फत हुने आपसी आरोप–प्रत्यारोपले कांग्रेस मात्र नभई लोकतन्त्र, राष्ट्रियता र कानुनी शासनसमेत कमजोर बनेको टिप्पणी गरे । 'आन्तरिक कलह अन्त्य भएन भने आगामी निर्वाचनमा कांग्रेसले लज्जास्पद हार व्यहोर्नुपर्ने अवस्था आउन सक्छ,' उनको भनाइ छ ।
कोशी प्रदेश कांग्रेसका महामन्त्री भूपेन्द्र राईले भेला बृहत्तर एकताका लागि आयोजना गरिएको बताए । उनले पार्टी कब्जा गर्ने प्रयास स्वीकार्य नहुने भन्दै १५औँ महाधिवेशन एकताको महाधिवेशन हुनुपर्ने धारणा राखे ।
