परराष्ट्रमन्त्री खनाल आइतबार चीन जाने

तीनदिने भारत भ्रमण सकेको एक हप्तापछि परराष्ट्रमन्त्री खनाल चीन भ्रमणमा जान लागेका हुन्

जेष्ठ २९, २०८३

कान्तिपुर संवाददाता

Foreign Minister Khanal to leave for China on Sunday

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनालको चीन भ्रमणको तालिका सार्वजनिक भएको छ । परराष्ट्र मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै मन्त्री खनालको भ्रमण तालिका सार्वजनिक गरेको हो । 

परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनाल आइतबार ४ दिने औपचारिक भ्रमणका लागि चीन जानेछन् । उनी असार ३ गते फर्कने तालिका रहेको छ । 

चिनियाँ समकक्षी वाङ यीको निमन्त्रणमा मन्त्री खनाल  बेइजिङ प्रस्थान गर्ने भएका हुन् । चिनियाँ विदेशमन्त्री वाङसँग द्विपक्षीय भेटवार्ता हुने पनि मन्त्रालयले जनाएको छ । साथै मन्त्री खनालले बेइजिङमा उच्चस्तरीय भेटघाट गर्नेछन् ।

भ्रमणका क्रममा नेपाली राजदूतावासले गर्ने लगानी सम्मेलनमा समेत उनी सहभागी हुनेछन् । जहाँ चिनियाँ व्यवसायी तथा लगानीकर्ताको पनि उपस्थित रहने विज्ञप्तिमा जनाइएको छ । 

तीनदिने भारत भ्रमण सकेको एक हप्तापछि परराष्ट्रमन्त्री खनाल चीन भ्रमणमा जान लागेका हुन् । खनालको चीन भ्रमणलाई दुई छिमेकी मुलुकसँग सन्तुलित सम्बन्ध कायम राख्ने प्रयासका रूपमा हेरिएको छ ।

२१ फागुनमा निर्वाचनको लगत्तै सीपीसीका केही उच्च अधिकारी काठमाडौं आएका थिए । उनीहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र खनाललगायतका नेताहरूसँग भेटवार्ता गर्दै नयाँ सरकारको दृष्टिकोणबारे छलफल गरेका थिए ।

कान्तिपुर

Link copied successfully