अर्थमन्त्रीजीले ७ वटा करका दरहरू हेरफेर गरेँ भनेर खुलमखुला स्विकार्नुभयो । यो आर्थिक अपराध हो । हामीले अपराध गर्नुभयो भनेका थिएनौँ । जिज्ञासा राखेका थियौँ । तर उहाँले धम्की दिँदै यो मैले गरेकै हुँ, के गर्छौ ? भन्नुभयो : पुन
What you should know
काठमाडौँ —
प्रतिपक्षी दल नेकपाका नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले अर्थमन्त्री स्वर्णिम वाग्लेले संसद्को अवमूल्यन गरेको भन्दै छानबिनका लागि संसदीय समिति गठन गर्न माग गरेका छन् ।
अर्थमन्त्री वाग्ले आगामी आर्थिक वर्षको बजेटमाथि सांसदहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सिंगो संसद्को अवमूल्यन हुनेगरी सांसदहरूलाई धम्क्याउने काम गरेको पनि पुनले बताए ।
'अर्थमन्त्रीजीले ७ वटा करका दरहरू हेरफेर गरेँ भनेर खुलमखुला स्विकार्नुभयो । यो आर्थिक अपराध हो । हामीले अपराध गर्नुभयो भनेका थिएनौँ । जिज्ञासा राखेका थियौँ । तर उहाँले धम्की दिँदै यो मैले गरेकै हुँ, के गर्छौ ? भन्नुभयो । यो संसद्को मानहानी भयो । सम्माननीय सभामुख महोदयले यसमा यसमा छानबिन गरिनुपर्दछ । यस प्रकारको अपराध गर्न पाइँदैन सभामुख महोदय । खुलमखुल्ला उहाँले स्विकार गर्नु भयो यो रोस्ट्रमबाट रेकर्ड छ,' पुनले भने ।
बिहीबार सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री स्वर्णिम वाग्लेले भ्रष्टाचार आरोपको प्रतिवाद गर्दै भनेका थिए, ‘तपाईंका काण्डबारे हामी अनभिज्ञ हो र ! ती पनि खुल्नेछन् ।’ यस विषयमा पनि छानबिन होस् भन्दै पूर्वअर्थमन्त्री पुनले भने, 'पुरानाले गरेँ, पोहोरसाल ७३ वटा हेरफेर गरेँ, मैले अहिले जम्मा ७ वटा गरेँ भन्नुभयो । ७३ होस् वा एउटा होस् । अपराध भनेको अपराध हो सभामुख महोदय । म पनि पुरानो हो । २ वर्ष अगाडि मैले नै बजेट ल्याएको थिएँ । म आजको मात्रै भन्दै छैन सभामुख महोदय, पुरानो छानबिन होस्, २ वर्ष अगाडिको मेरो पनि छानबिन होस् ।'
पुराना मात्र होइन, नयाँ सांसदहरूमाथि छानबिन हुनुपर्ने वर्षमान पुनको भनाइ छ । 'यस पटक मात्रै आउनु भएका माननीयजीहरूलाई राखेर छानबिन गरौँ, संसद्को मर्यादा कायम गरौँ । पुरानो र नयाँ भनेर विषयान्तर गर्न पाइँदैन । त्यसो हुनाले मैले सभामुख महोदयबाट रुलिङको अपेक्षा गरेको छु,' उनले भने ।
पछिल्लो समय उठेका विवादित विषयमाथि छानबिन समिति नै गठन हुनुपर्ने पनि उनको भनाइ छ । 'म आफ्नोसहित विपक्ष दलहरूको तर्फबाट यो माग राख्न चाहन्छु कि एउटा संसदीय छानबिन समिति गठन होस् । कहाँनिर ग्रे एरिया छन्, कहाँनिर चुहावट छन, कहाँनिर के भए ? हामी सबैलाई थाहा छ नि सभामुख महोदय । २० लाखभन्दा मुनि कुन गाडी, कुन कम्पनी कुन ब्रान्ड सबैलाई थाहा छ । मैले गरेकै हुँ भन्नुभयो, त्यो पाइँदैन । विधेयकको प्रोसेस हुन्छ । मन्त्रालयहरुले विधेयक तयार गर्छ,' उनले भने ।
त्यस्तै विधेयकका पेजहरू तलमाथि भएको भन्दै उनले भने, 'विधेयकको प्रोसेस हुन्छ । मन्त्रालयहरूले विधेयक तयार गर्छन् । सबै विधेयक क्याबिनेटले पास गर्छ । त्यसपछि मन्त्रीले हेर्न, फेर्न, अझ कर्मचारीले १२ पेज मिलाउन त पाउँदै पाउँदैन ।'
