बजेटबारे एमालेको टिप्पणी : गरिबीलाई छोएन, माथिल्लो वर्गलाई झन् माथि लैजान खोजियो

एमालेको प्रश्न : जगलाई कमजोर राखेर तला थप्ने कुरा कत्तिको वैज्ञानिक हो ?

जेष्ठ २८, २०८३

कान्तिपुर संवाददाता

UML's comment on the budget: Poverty was not touched, attempts were made to elevate the upper class even further

काठमाडौँ — प्रतिपक्ष दल एमालेले सरकारको आगामी आर्थिक वर्षको बजेटले गरिवलाई छुन नसकेको टिप्पणी गरेको छ । 

बिहीबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको सामान्य छलफलमा भाग लिँदै एमाले संसदीय दलकी उपनेता पदमा अर्यालले उक्त टिप्पणी गरेकी हुन् । उनले बजेटमा निमुखा वर्गलाई माथि उकास्ने, उनीहरूको चुल्होमा सधैं आगो बल्ने, अनुहारमा मुस्कान ल्याउने ठोस कार्यक्रमको अभाव खड्किएको पनि बताइन् । उपनेता अर्यालले सरकारको बजेटले गरिबलाई झनै गरिब बनाउने र धनीलाई झनै धनी बनाउने नीति लिएको भन्दै आपत्ति जनाइन् । 

‘बजेटले गरिबीलाई छोएन । सिंगो बजेट वक्तव्यमा गरिबी भन्ने शब्दको उचित सम्बोधन छैन । सरकार भन्छ– मध्यम वर्गको विकास गर्ने । यसमा केही भन्नु छैन । तर यसको लक्ष्य कसरी हासिल गर्न सकिन्छ ? मेरो प्रश्न छ–२० प्रतिशत निरपेक्ष गरिबीको रेखामुनि रहेका तल्लो वर्गका नागरिकलाई माथि नउठाईकन माथिल्लो वर्गको आकार कसरी ठूलो हुन्छ ? जगलाई कमजोर राखेर तला थप्ने कुरा कत्तिको वैज्ञानिक हो ?,’ उनले सोधिन् । 

यो बजेटले तल्लो वर्गलाई तलै राख्ने, माथिल्लो वर्गलाई झनमाथि लैजाने नीति लिएको अर्यालको भनाइ छ । 'हुनेखाने र हुँदा खानेबीचको वर्गीय खाडल झन फराकिलो बनाउने बजेट हो । मध्यम वर्गको आकार त्यत्तिकै फराकिलो हुँदैन । यसका लागि तल्लो स्तरको आय बढ्नुपर्‍यो,' उनले भनिन् । 

उपनेता अर्यालले सरकारले लिएको मध्यम वर्गलाई उकास्न पनि बजेटले गरिब वर्गको उत्थानमा केन्द्रित हुनुपर्ने तथ्य पनि स्मरण गराइन् । 

कान्तिपुर

Link copied successfully