विख्यात अर्थशास्त्री माननीय अर्थमन्त्रीले ल्याउनुभएको बजेटमा विकासको खाका बनाउँदै गर्दा दुर्गम गाउँको झुपडीमा बस्ने नागरिकलाई ध्यान राखेर बनाउनुपर्दछ भन्ने बीपीको उद्गारलाई नै बिर्सिनु भएको छ : सांसद राना
What you should know
काठमाडौँ — कांग्रेस सांसद सन्दीप रानाले अर्थमन्त्री स्वर्णिम वाग्लेले बीपी कोइरालालाई आर्दश मान्ने बताउने गरे पनि बजेटमा त्यस्तो नदेखिएको टिप्पणी गरेका छन् ।
बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको सैद्धान्तिक छलफल सांसद रानाले अर्थमन्त्रीले बजेट निर्माण गर्दा दुर्गम गाउँका नागरिकलाई बिर्सिएको आरोप लगाएका हुन् ।
बजेटमा विकासको खाका बनाउँदै गर्दा दुर्गम गाउँको झुपडीमा बस्ने नागरिकलाई ध्यान राखेर बनाउनुपर्दछ भन्ने बीपीको उद्गारलाई अर्थमन्त्रीले बिर्सिएको उनको भनाइ छ ।
'महामानव बीपी कोइरालालाई आदर्श मान्नुहुने, सुवर्ण शमशेरको नामबाट बजेट भाषण प्रारम्भ गर्नुहुने विख्यात अर्थशास्त्री माननीय अर्थमन्त्रीले ल्याउनुभएको बजेटमा विकासको खाका बनाउँदै गर्दा दुर्गम गाउँको झुपडीमा बस्ने नागरिकलाई ध्यान राखेर बनाउनुपर्दछ भन्ने बीपीको उद्गारलाई नै बिर्सिनु भएको छ,' उनले भने ।
राष्ट्रिय योजना आयोगले तोकेको सीमाभन्दा २ खर्ब रूपैयाँ बढी रकमको बजेटले ७ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने र मुद्रा स्फीतिलाई ६ प्रतिशतभित्र सीमित राख्ने कुरा व्यवहारिक नदेखिएको उनले बताए ।
निम्न वर्ग, किसान, युवा, महिला तथा सीमान्त वर्गलाई बजेटले समेट्न नसकेको उनको भनाइ छ । '२० प्रतिशतभन्दा मुनिका निम्न वर्ग र २० प्रतिशत असंगठित वर्ग जस्ता देशको ठूलो वर्गलाई यो बजेटले कतै समेटेको छैन । २४ प्रतिशत जीडीपी र ६० प्रतिशत रोजगारलाई योगदान पुर्याएको कृषि क्षेत्रलाई उपेक्षा नै गरिएको छ,' उनले भने ।
राज्यले जनतामाथि अनावश्यक भार नपर्ने गरी कर संकलन गरेर त्यसलाई विकासमा लगानी गर्नुपर्नेमा उनले जोड दिए । विलासिताका वस्तुमा उच्च कर र आधारभूत आवश्यकताका वस्तुमा सहुलियत हुनुपर्ने उल्लेख गर्दै उनले बजेटले शिक्षा, स्वास्थ्य, दुग्ध उत्पादन तथा विद्युत् क्षेत्रमा अतिरिक्त करको भार थपेको आरोप लगाए ।
