विपक्षी दलका नेताहरूसँग छलफलमा सभामुख अर्याल

कांग्रेस, नेकपा, राप्रपालगायतका दलहरूले प्रधानमन्त्रीको अभिव्यक्तिबारे सरकारको तर्फबाट परराष्ट्रमन्त्रीले जवाफ दिनेबारे लचक देखिएका छन् । एमाले भने प्रधानमन्त्री नै संसद्‍मा आएर आफ्नो धारणा राख्नुपर्ने अडानमा छ ।

जेष्ठ २७, २०८३

कान्तिपुर संवाददाता

Speaker Aryal in discussion with opposition party leaders

What you should know

काठमाडौँ — सभामुख डीपी अर्याल संसद्को अवरोध खुलाउनका लागि सभामुख डीपी अर्याल विपक्षी दलका नेताहरूसँग छलफल गरिरहेका छन् । 

सभामुख अर्यालले बुधबार प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बे, एमाले संसदीय दलका नेता रामबहादुर थापा, नेकपाका सांसद वर्षमान पुन, विपक्षी दलका प्रमुख सचेतक र सचेतकहरूसँग आफ्नो कार्यकक्षमा छलफल गरिरहेका हुन् । 

संसद् भवनमा भइरहेको छलफलमा परराष्ट्रमन्त्री शिशिर खनाललाई सरकारको तर्फबाट सम्बोधन गर्ने विषय रहेको छ । 

छलफलमा सहभागी नेताहरूका अनुसार प्रधानमन्त्री वालेन्द्र शाहले जेठ १७ मा सीमा सम्बन्धमा दिएको विवादबारे परराष्ट्रमन्त्री खनालले स्पष्ट पार्ने तयारी गरेका छन् । कांग्रेस, नेकपा, राप्रपालगायतका दलहरूले प्रधानमन्त्रीको अभिव्यक्तिबारे सरकारको तर्फबाट परराष्ट्रमन्त्रीले जवाफ दिनेबारे लचक देखिएका छन् । एमाले भने प्रधानमन्त्री नै संसद्‍मा आएर आफ्नो धारणा राख्नुपर्ने अडानमा छ । 

'परराष्ट्रमन्त्रीको धारणा सुनेर राजनीतिक दलका नेताहरूले आफ्ना कुरा राख्ने भन्नेबारे छलफल भइरहेको छ,' राप्रपा सचेतक खुश्बु ओलीले जानकारी दिइन् ।

एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले भने प्रधानमन्त्री वा प्रधानमन्त्रीको वक्तव्य परराष्ट्रमन्त्रीले सदनमा राख्नुपर्ने माग आफ्नो पार्टीको रहेको बताए । 

प्रधानमन्त्री शाहले जेठ १७ गते संसद्‍मा 'तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्छ होला मैले पनि अस्ति भर्खर प्रधानमन्त्री भइसकेपछि थाहा पाएँ, भारतले नेपालको जग्गा मात्र होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ' भनेको विषयले विवाद निम्त्याएको हो ।  जेठ १९ यताका प्रतिनिधिसभा र राष्ट्रिय सभा बैठक अवरुद्ध हुँदै आएका छन् । प्रधानमन्त्रीले हालसम्म उक्त विषयमा संसदमा आएर बोल्ने तयारी गरेका छैनन् भने विपक्षी दलहरूले प्रधानमन्त्रीले नै आउनुपर्ने र आफ्नो अभिव्यक्तिबारे स्पष्ट पार्नुपर्ने अडान राख्दै आएका छन् ।

सदनको अवरोध खुलाउनका लागि यसअघि रास्वपा सभापति रवि लामिछानेले विपक्षी दलहरूसँग छलफल गरेका थिए । उक्त छलफलमा सहमति जुट्न सकेको थिएन । 

प्रतिनिधिसभाको बुधबार ११ बजे बोलाइएको बैठक सूचना टाँसेर २ बजेका लागि तय गरिएको थियो । २ बजे बोलाइएको बैठक पनि समयमा सुरू हुन सकेको छैन । 

कान्तिपुर

Link copied successfully