विज्ञप्तिअनुसार क्रियाशील सदस्यता अद्यावधिक गर्न योग्य कुल ७ लाख ८२ हजार २०९ सदस्यमध्ये हालसम्म ४ लाख ५७ हजार ३ सय ६६ जनाले कांग्रेसको एनसी आईडी प्राप्त गरिसकेका छन्।
काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलले क्रियाशील सदस्यता अद्यावधिक गर्न एक दिन मात्र बाँकी रहेको भन्दै समयसीमाभित्रै प्रक्रिया पूरा गर्न पार्टीका सदस्यहरूलाई आग्रह गरेका छन्।
बुधबार विज्ञप्ति जारी गर्दै पौडेलले क्रियाशील सदस्यता अद्यावधिक कार्यको निर्धारित समयावधि २८ जेठको राति १२ बजेसम्म रहेको जानकारी दिएका छन्।
विज्ञप्तिअनुसार क्रियाशील सदस्यता अद्यावधिक गर्न योग्य कुल ७ लाख ८२ हजार २०९ सदस्यमध्ये हालसम्म ४ लाख ५७ हजार ३ सय ६६ जनाले कांग्रेसको एनसी आईडी प्राप्त गरिसकेका छन्। त्यस्तै १ लाख २४ हजार ७ सय ४८ जनाले स्वयं अद्यावधिक फारम पेस गरी अद्यावधिक प्रक्रियामा सहभागी भएका छन्।
पौडेलले अझै सदस्यता अद्यावधिक गर्न छुटेका सम्पूर्ण क्रियाशील सदस्यलाई तोकिएको समयसीमाभित्रै आफ्नो सदस्यता अद्यावधिक गरिसक्न आग्रह गरेका छन्।
कांग्रेसले सदस्यता व्यवस्थापनलाई व्यवस्थित बनाउने तथा आगामी संगठनात्मक प्रक्रियाका लागि अद्यावधिक अभियान सञ्चालन गरिरहेको छ ।
