कुलमान भन्छन् : बागमती प्रदेशमा अब हामी सरकार बनाउँछौँ

गत निर्वाचनमा पार्टीले चुनाव हारे पनि देशभरि पार्टीमा प्रवेश गर्नेहरूको लहर रहेको कुलमानको दाबी छ

जेष्ठ २७, २०८३

कान्तिपुर संवाददाता

Kulman says: We will now form a government in Bagmati Province

काठमाडौँ — उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रदेशसभाको निर्वाचनपछि बागमती प्रदेश सरकारको नेतृत्व आफूहरूले गर्ने दाबी गरेका छन् ।

बुधबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा घिसिङले आगामी स्थानीय तह तथा प्रदेशसभा निर्वाचनमा आफ्नो पार्टीले सशक्त उपस्थिति जनाउने दाबी गरेका हुन् । २०८४ सालमा स्थानीय तथा प्रदेशसभाको निर्वाचन हुने उल्लेख गर्दै उज्यालो नेपाल पार्टीले धेरै स्थानमा विजय हासिल गर्ने बताएका हुन् ।

'अब हामी स्थानीय निकायको चुनाव र प्रदेशको चुनावमा जाँदैछौँ । करिब एक वर्षभित्र, एक वर्ष पनि छैन, करिब ८–९ महिनाभित्र चुनाव आउँदैछ । त्यो चुनावमा अब उज्यालो नेपाल पार्टीले आफ्नो सशक्त प्रतिनिधित्व गर्नेछ र धेरै ठाउँमा हामी जित्नेछौँ । बागमती प्रदेशको सरकार हामीले बनाउनेछौँ । बागमती प्रदेश मात्रै हैन, अरू ठाउँको पनि सरकार बनाउनेछौँ । यो देशको मुटु बागमती प्रदेशलाई केन्द्रमा राखेर हामी हाम्रो पार्टीले संगठन विस्तार गर्ने काम गरिरहेका छौँ,' उनले भने ।

गत निर्वाचनमा पार्टीले चुनाव हारे पनि देशभरि पार्टीमा प्रवेश गर्नेहरूको लहर रहेको उनको दाबी छ । पार्टीको उद्देश्य, भिजन र नेतृत्वप्रतिको विश्वासका कारण मानिसहरू जोडिइरहेको उनको दाबी छ । आगामी निर्वाचनमा पार्टीलाई नम्बर एक बनाउने लक्ष्यसहित अघि बढेको उनले बताए ।

कान्तिपुर

Link copied successfully