प्रधानमन्त्रीको अभिव्यक्तिको स्पष्टीकरण परराष्ट्रमन्त्रीले दिने अवस्था आउनु नै दुर्भाग्यपूर्ण छ : शाही

देशको कार्यकारी प्रमुख प्रधानमन्त्रीबाट भएको गम्भीर राजनीतिक तथा भूराजनीतिक त्रुटि मन्त्रीहरूले सच्याउनुपर्ने परिस्थिति आयो : शाही

जेष्ठ २७, २०८३

कान्तिपुर संवाददाता

It is unfortunate that the Foreign Minister has to clarify the Prime Minister's statement: Shahi

काठमाडौँ — राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाहीले प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिबारे परराष्ट्रमन्त्री शिशिर खनालले दिएको स्पष्टीकरण दुर्भाग्यपूर्ण भएको टिप्पणी गरेका छन् । 

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै प्रधानमन्त्रीको अभिव्यक्तिबारे मन्त्रीहरूले स्पष्टीकरण दिनेकुरा विश्वमा कहीँ नभएको शाहीले जिकिर पनि गरे । नेपालको इतिहासमा प्रधानमन्त्रीको अभिव्यक्तिको स्पष्टीकरण मन्त्री खनालले दिएर सरकार उल्टो गतिमा हिँडेको नेता शाहीको भनाइ थियो । 

'प्रधानमन्त्रीले अभिव्यक्तिबारे माननीय परराष्ट्रमन्त्रीले जुन अभिव्यक्ति दिनुभयो । नेपालको राजनीतिक इतिहासमा पहिलो पटक सायद यस्तो अवस्था देखियो तपाईंले इतिहास पल्टाएर हेरे हुन्छ । नेपालको इतिहास मात्रै होइन, विश्वकै इतिहास पल्टाउनुहोस । तपाईं हामीभन्दा पनि कलिला मान्छे प्रधानमन्त्री भएको देश पनि छ । तपाईं हामीभन्दा क्षमतावान प्रधानमन्त्री पनि विभिन्न देशमा भएका छन । नेपालको राजनीतिक इतिहासमा मात्रै होइन, विश्वको राजनीतिक इतिहासमा पहिलो पटक यस्तो अवस्था देखिएको छ । जहाँ देशको कार्यकारी प्रमुख प्रधानमन्त्रीबाट भएको गम्भीर राजनीतिक तथा भूराजनीतिक त्रुटि मन्त्रीहरूले सच्याउनुपर्ने परिस्थिति आयो,' उनले भने । 

प्रधानमन्त्रीको भनाइ संसद्को रेकर्डबाट हटाउन पनि शाहीले माग गरेका छन् । 'यो प्रधानमन्त्रीज्यूको लागि नै हो । यो हामी भन्दा बढि सत्ता पक्षका लागि नै हो । किनभने यो कुनै सत्ता र शक्तिको कुरा होइन । शासनको कुरा होइन यो । कुनै ऐनको कुरा होइन, यो भूभागको कुरा हो । अति संवेदनशील कुरा हो,' उनले भने । 

कान्तिपुर

Link copied successfully