प्रतिनिधिसभा बैठकमा उनले भने- 'हामीले कहाँकहाँ अतिक्रमण गर्यौं, प्रधानमन्त्रीले पुष्टि गर्नुपर्छ । नत्र नेपाली जनतालाई सम्बोधन गरेर आफ्नो भनाइ सच्याउनुपर्छ ।'
काठमाडौँ — श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई (साम्पाङ) ले नेपाली सेनालाई सिमानामा तैनाथ गर्नुपर्ने बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले सेना अन्यत्रै प्रयोग भइरहेको बताए । 'म त भन्छु, नेपाली सेनालाई सिमानामा लगेर तैनाथ गर्नुपर्छ । सेनालाई राख्नुपर्ने ठाउँचाहिँ सिमानामा हो, अन्यत्रै प्रयोग भइरहेको छ । यसमा सरकारले ध्यान दिनुपर्छ,' उनले भने ।
सांसद राईले प्रधानमन्त्री वालेन्द्र शाहले प्रतिनिधिसभा बैठकमा सीमासम्बन्धी दिएको अभिव्यक्तिलाई अविलम्ब सच्याउन पनि आग्रह गरे । 'यतिका दिनसम्म सदन अवरोध हुँदा उहाँबाट कुनै वक्तव्य आएन । आज पनि उहाँ आउनुभएन, आउने छाँटकाँट देखिएन,' उनले भने, 'प्रधानमन्त्रीले संसद्को रोष्ट्रमबाट दिएको अभिव्यक्ति सच्याउनुपर्छ । हामीले कहाँकहाँ अतिक्रमण गर्यौं, उहाँले पुष्टि गर्नुपर्छ । नत्र नेपाली जनतालाई सम्बोधन गरेर आफ्नो भनाइ सच्याउनुपर्छ ।'
देश रहन भूगोल चाहिन्छ भन्दै उनले बेलाबेला अतिक्रमणको विरुद्धमा रक्षाको नीति लिनुको साटो प्रधानमन्त्रीको यस खालको अभिव्यक्ति आउँदा आफूहरु दु:खी र आक्रोशित बनेको उनले बताए ।
प्रधानमन्त्री वालेन्द्र शाहले गत जेठ १७ गते प्रतिनिधिसभामा नेपालले पनि धेरै ठाउँमा भारतीय भूमि मिचेको अभिव्यक्ति दिएका थिए । प्रधानमन्त्री शाहको यो अभिव्यक्तिलाई लिएर संसद्भित्र र बाहिर आलोचना तथा विरोध भइरहेको छ ।
