कांग्रेसमा थापा–खड्काबीच बढ्दै अविश्वास, एकता प्रयास संकटमा

इतर पक्षका १९ जनालाई केन्द्रीय सदस्यमा मनोनयन र नेताहरूको व्यवस्थापनबारे छलफल चलिरहेकै बेला नेता पूर्णबहादुर खड्काको अभिव्यक्तिले एकताको वातावरण बिग्रेको संस्थापन पक्षको भनाइ छ ।

जेष्ठ २५, २०८३

कुलचन्द्र न्यौपाने

Growing distrust between Thapa and Khadka in Congress, unity efforts in crisis

What you should know

काठमाडौँ — कांग्रेस सभापति गगन थापासँग ३१ दिनसम्म कुनै माध्यमबाट पनि सम्पर्क नभएको भन्दै तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आइतबार दिएको सार्वजनिक धारणापछि कांग्रेसको आन्तरिक विवाद थप बढेको छ । यसले संस्थापन र इतर पक्षबीच एकताको प्रयास झन् संकटमा परेको छ ।

उपसभापति विश्वप्रकाश शर्माले खड्काको त्यस्तो धारणाबाट आफू ‘अचम्मित’ भएको बताए । उनले पार्टी एकताकै लागि आफ्नै मोबाइलबाट १६ जेठमा ७ बुँदाको प्रस्ताव खड्कालाई पठाइएको जानकारी दिए । ७ बुँदाको प्रस्ताव सभापति थापासँगै बसेर तयार पारिएको थियो । शर्माका अनुसार त्यसको कुनै पनि जवाफ एक सातासम्म नआएपछि थापासँगको परामर्शमा २२ जेठमा गल्फुटारस्थित निवासमै पुगेर खड्कालाई भेटेका थिए । त्यस क्रममा साढे दुई घण्टासम्म संवाद भएको उपसभापति शर्माले बताए । त्यस बीचमा ‘ह्वाट्सएप’ मा पठाइएको ७ बुँदा र खड्काले राखेका थप केही विषयमाथि छलफल भएपछि शर्मा निस्केका थिए ।

खड्काले सहमतिका लागि तयार पारिएको सात बुँदा अहिल्यै खुलाउन नमिल्ने बताए । यद्यपि, त्यसमा केन्द्रीय कार्यसमितिमा सहभागिता संख्यादेखि, महाधिवेशन तयारी समिति, क्रियाशील सदस्यताको अद्यावधि गर्ने विषयदेखि छानबिन, निर्वाचन, अनुशासन समितिदेखि भ्रातृ संस्थाहरूको सहभागिता लगायतका विषय समावेश थिए । खड्का र शर्माबीच आ–आफ्नो समूहमा थप छलफल गरेर दुई दिनपछि पुनः बस्ने गरी २२ जेठको बैठक टुंगिएको थियो ।

बैठकबारे शर्माले २४ जेठमा सभापति थापासँग छलफल गरेका थिए । खड्काले पनि आफ्नो समूहका नेताहरूसँग संवाद गरेका थिए । स्रोतका अनुसार नजिक रहेका केही नेताहरूले सिंगापुरमा रहेका पूर्वसभापति शेरबहादुर देउवालाई समेत यसबारेमा जानकारी गराएका थिए ।

सभापति थापासँग खड्काको पछिल्लो भेट २२ वैशाखमा भएको थियो । त्यस भेटमा उपसभापति शर्मासँगै थिए । त्यसै दिनदेखि थापासँग आफ्नो सम्पर्क नभएको खड्काले बताएका हुन् । खड्कालाई भेटकै दिन थापाले अर्का नेता शेखर कोइरालालाई पनि भेटेका थिए । पार्टी एकताको पक्षमा पछिल्लो पटक आफूले गरेको पहलकदमी पनि थापाकै सल्लाह बमोजिम भइरहेको शर्माले बताए ।

विशेष महाधिवेशनलाई मान्यता दिने निर्वाचन आयोगको निर्णयलाई नै सर्वोच्च अदालतले ४ वैशाखमा सदर गरेलगत्तै थापाले खड्कालाई भेटेर एकताको पहल थालेका हुन् । ६ वैशाखमा थापाले खड्कालाई विशेष महाधिवेशनपछि पहिलोपल्ट भेटेका थिए । त्यसपछि खड्का र कोइराला समूहका १९ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गर्नेदेखि नेताहरूको व्यवस्थापनका लागि विभिन्न मोडलमा छलफल भइरहेका बेला खड्काले सार्वजनिक गरेको धारणाले एकताको वातावरण थप बिग्रेको संस्थापन पक्षीय नेताहरूको भनाइ छ ।

खड्काले सामाजिक सञ्जालमार्फत सभापति थापासँग ‘कुनै पनि प्रकृतिको सम्पर्क, संवाद नभएको आज ३१ दिन भयो’ भन्दै एकताका लागि इमानदार प्रयत्न नभएको बताएका छन् । ‘दुई महिनादेखि पार्टीको सम्पूर्ण एकताको लागि इमानदार प्रयत्न गर्दा पनि आजसम्म खासै कुनै प्रगति भएको छैन,’ उनले भनेका छन्, ‘अहिले आएर केही दिनयता पार्टीका बारेमा चलाइएका यथार्थभन्दा फरक हल्ला र विकसित घटनाक्रमबाट म चिन्तित भएको छु ।’

तर, खड्काको यो प्रतिक्रियाबाट आफू अचम्मित भएको बताउँदै एकताको प्रयत्न आफूहरूले जारी राखेको शर्माले बताए । ‘एकताका लागि उहाँहरूले (खड्का पक्ष) पहल गर्नु भएको होइन । गगन थापा र विश्वप्रकाशको घरमा उहाँहरू आउनु भएको होइन, हामीहरू नै गएर कुराकानी गर्नेदेखि प्रस्ताव पठाउने काम गरिरहेका हौं,’ उनले भने, ‘अचानक यस्तो प्रतिक्रियाले मलाई अचम्मित बनाएको छ ।’

खड्का निकट केन्द्रीय सदस्य श्याम घिमिरेले २२ वैशाखमा भएको भेटमा धेरै कुरा मिलिसकेको र भोलिपल्टै आएर सहमति गर्ने भनी बाहिरिएका सभापति थापा त्यसपछि नआएकाले आशंका उब्जेको बताए । ‘सभापतिजी वार्तामा बस्दा सबै कुरा मिलाउन सकारात्मक हुनुहुन्छ तर बाहिर गएपछि टाढिएको अनुभव भएको छ,’ उनले भने, ‘यसले हामीलाई आशंका बढाएको छ ।’

खड्काले क्रियाशील अद्यावधिका लागि जिल्ला–जिल्लामा दबाब दिइएको भन्दै त्यसको समेत विरोध गरेका छन् । यो प्रवृत्ति पार्टी जीवनका लागि अत्यन्तै घातक रहेको उनको टिप्पणी छ । अर्कोतर्फ अद्यावधि नगराएका तर १० पुससम्म नवीकरण र नयाँ सदस्यता लिएका सबैलाई महाधिवेशनमा भाग लिनका लागि सुनिश्चित गरिने भनेर खड्काले दिएको अभिव्यक्तिले पनि संस्थापन पक्ष चिढिएको छ ।

‘सबैलाई महाधिवेशनमा स्वतः भाग लिन पाउने व्यवस्थाको सुनिश्चितता गर्नु हाम्रो जिम्मेवारी हो– ढुक्क हुनुस्,’ खड्काले आइतबार सामाजिक सञ्जालमा लेख्दै भनेका थिए । खड्काको यो भनाइपछि अद्यावधि नगरेमा महाधिवेशनमा भाग लिन पाउने कि नपाउने भन्नेमा कार्यकर्ताहरू थप अन्योलमा परेका छन् । महामन्त्री गुरुराज घिमिरे अद्यावधि नगर्ने सदस्यहरू महाधिवेशनको प्रक्रियामा सहभागी नै हुन नपाउने बताउँछन् । ‘यसमा कुनै द्विविधा छैन, जसले अद्यावधि गरेका छैनन्, उनीहरू महाधिवेशन प्रक्रियामा सहभागी हुन पाउने छैनन्,’ घिमिरेले भने ।

२ भदौमा वडा अधिवेशन सुरु गरेर १५ औं केन्द्रीय महाधिवेशन १६–१९ असोजमा सम्पन्न गर्ने कांग्रेसको तालिका छ । तल्लो तहका मतदाता क्रियाशील सदस्यता हुने भएकाले वडा अधिवेशन सुरु हुनुअगाडि नै यससम्बन्धी विवाद मिलाई सक्नुपर्ने हुन्छ । २७–३० मा सम्पन्न विशेष महाधिवेशनबाट आएको गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिले १ वैशाखदेखि क्रियाशील सदस्यताको नयाँ अद्यावधि अभियान सुरु गरेको छ । यसको समय सीमा २८ जेठसम्म छ । खड्का र कोइरालाले महाधिवेशनका लागि ‘अद्यावधि’ बाध्यकारी हुन नहुने अडानमा लिँदै आएका छन् भने संस्थापन पक्ष महाधिवेशनमा भाग लिन ‘अद्यावधि’ अनिवार्य भएको बताउँदै आएको छ ।

सदस्यतालाई लिएर गरिएको यो विवाद आसन्न १५ औं महाधिवेशनको निष्पक्षता माथि लक्षित रहेको छ । इतर पक्षका नेता प्रकाशशरण महतका अनुसार आन्तरिक एकताका लागि निष्पक्ष महाधिवेशनको सुनिश्चितता मात्रै खोजिएको बताउँछन् । त्यसमा सदस्यको विषय मुख्य रहेको छ । ‘अरू विषयमा दुवै पक्षको सहभागितामा महाधिवेशन आयोजक समिति बनाउने, अनुशासन समिति, क्रियाशील सदस्यता छानबिन समिति र निर्वाचन समितिमा दुवै पक्षको सहभागिता हुने गरी बनाउने भन्ने विषय नै प्रमुख हो, ’ उनले भने, ‘यति पनि नेतृत्वले नमान्ने हो भने पार्टीलाई थप क्षति पुग्ने अवस्था देखिँदैछ ।’

छुट्टै आयोजक समिति बनाउने इतर पक्षको मागमा संस्थापन पक्ष तयार नभएपछि इतर पक्षले तत्कालीन १४ औं महाधिवेशनमा रहेका सबै केन्द्रीय सदस्यहरूको समायोजन गर्ने विषय उठाएको छ । १४ औं महाधिवेशनमा निर्वाचित र मनोनीत गरी पूर्वसभापति देउवा पक्षमा रहेका १ सय ९ जना तत्कालीन केन्द्रीय सदस्य अहिलेको केन्द्रीय कार्यसमितिमा छैनन् । ती सबैको समायोजन हुनुपर्ने अडान इतर पक्षले राखेको हो ।

अनि नमिलेको केमा त ? सभापति थापा र शर्मा विभिन्न मुद्दामा आरोपितहरूलाई केन्द्रीय कार्यसमितिमा ल्याउन चाहेका छैनन् । त्यसबाहेक केही ‘पार्टीको अनुशासन उल्लंघन गर्ने, अन्तर्घात गर्नेहरू पनि पर्दछन् । ‘यी बाहेक अरू सबैलाई समायोजन गर्न करिब सहमति भएको छ,’ थापा निकट एक केन्द्रीय सदस्यले भने, ‘तर इतर पक्षले सबका सब ल्याउनुपर्छ भन्ने अडान लिएकाले समस्या भएको हो ।’

कुलचन्द्र उनी कान्तिपुरका राजनीतिक संवाददाता हुन् । उनी संसदिय मामिला र दलहरुको भूमिकाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully