५ महिनाअगाडि नवीकरण र नयाँ सदस्यता लिएका सबैले महाधिवेशनमा भाग लिन पाउनुपर्ने माग इतरपक्षको छ भने संस्थापन पक्ष अद्यावधिक भएका बाहेक अरूले भाग लिन नपाउने अडानमा देखिन्छ ।
What you should know
काठमाडौँ — कांग्रेसमा १० पुससम्म नवीकरण भएका तथा नयाँ सदस्यता लिएर अद्यावधिक नगरेकालाई आसन्न १५ औं महाधिवेशनमा भाग लिन दिने कि नदिने भन्ने विवाद चर्केको छ ।
संस्थापन पक्षले अद्यावधिक नगर्ने सदस्य महाधिवेशनमा सहभागी हुन नपाउने बताउँदै आएको छ । तर, इतरपक्षका नेता पूर्णबहादुर खड्काले महाधिवेशनमा सहभागिता सुनिश्चित गरेरै छाड्ने बताएका छन् । इतरपक्षमा रहेका अर्को समूहका नेता शेखर कोइरालाको जोड पनि महाधिवेशनमा सहभागी हुन अद्यावधिकलाई बाध्यकारी बनाउन नहुने भन्नमै छ ।
सबैलाई महाधिवेशनमा भाग लिन पाउने सुनिश्चित गराइन्छ, ढुक्क हुनुहोस् । -पूर्णबहादुर खड्का, तत्कालीन कार्यवाहक सभापति२ भदौमा वडा अधिवेशन सुरु गरेर १५ औं केन्द्रीय महाधिवेशन १६–१९ असोजमा सम्पन्न गर्ने कांग्रेसको तालिका छ । तल्लो तहका मतदाता क्रियाशील सदस्य हुने भएकाले वडा अधिवेशन सुरु हुनुअघि नै यससम्बन्धी विवाद मिलाइसक्नुपर्ने हुन्छ । गत पुस २७–३० मा सम्पन्न विशेष महाधिवेशनबाट आएको गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिले गएको १ वैशाखदेखि क्रियाशील सदस्यता अद्यावधिक सुरु गरेको छ ।
अद्यावधिक
नगराउनेहरू महाधिवेशनको प्रक्रियामा सहभागी हुन पाउँदैनन्, यो निश्चित छ । -गुरुराज घिमिरे, महामन्त्रीविशेष महाधिवेशनअगाडि नै १५ औं महाधिवेशनका लागि भन्दै पुरानाको नवीकरण र नयाँ सदस्यता वितरण भएको थियो । १० पुससम्म ४ लाख ५० हजार पुराना सदस्यको नवीकरण र १ लाख ५० हजार नयाँ सदस्यता वितरण भएको थियो । १४ औं महाधिवेशनमा कुल सदस्य संख्या ८ लाख ६६ हजार थियो । यो घटेर ६ लाखमा झरेको हो ।
५ महिनाअगाडि नवीकरण र नयाँ सदस्यता लिएका करिब ६ लाख सदस्य सबैले महाधिवेशनमा भाग लिन पाउनुपर्ने माग इतरपक्षका नेताहरूको छ । संस्थापन पक्ष भने अद्यावधिक भएका बाहेक अरूले महाधिवेशनमा भाग लिन नपाउने बताउँदै आएको छ । गत १ वैशाखदेखि सुरु भएको अभियानमा हालसम्म करिब ५ लाखले क्रियाशील सदस्यता अद्यावधिक गरेको महामन्त्री गुरुराज घिमिरेको दाबी छ । यसको समयसीमा २८ जेठसम्म पुर्याइएको छ ।
यता, विशेष महाधिवेशनमा सहभागी नभएका पूर्वसभापति शेरबहादुर देउवा र नेता कोइरालापक्षीय नेता तथा कार्यकर्ताहरू पार्टीको मूल प्रवाहमा आइनसकेका कारण पनि सदस्यता विवाद थप पेचिलो बन्दै गएको छ ।
२१ फागुनको प्रतिनिधिसभा निर्वाचनअगाडि नै विदेश गएका देउवा अझै फर्किएका छैनन् । उनको समूहको नेतृत्व नेता खड्काले गर्दै आइरहेका छन् । विशेष महाधिवेशनको विपक्षमा उभिएका खड्का र कोइराला समूहले मूल धारमा जोडिन ‘सम्मानजनक’ एकताको माग राख्दै आएका छन् । एकताका लागि संवाद चलिरहेको बेला सदस्य अद्यावधिकसम्बन्धी विवाद निस्केको हो ।
‘हामीले १५ औं महाधिवेशनका लागि नवीकरण गराएका र नयाँ क्रियाशील सदस्यता लिएका साथीहरूलाई अद्यावधिक नगरेको निहुँमा १५ औं महाधिवेशनमा भाग लिनबाट कसैले वञ्चित गर्न–गराउन सक्दैन,’ खड्काले आइतबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘सबैलाई महाधिवेशनमा स्वतः भाग लिन पाउने व्यवस्थाको सुनिश्चितता गर्नु हाम्रो जिम्मेवारी हो, ढुक्क हुनुहोस् ।’
महामन्त्री घिमिरे भने अद्यावधिक नहुनेहरू महाधिवेशनको प्रक्रियामा सहभागी हुन नपाउने बताउँछन् । ‘अद्यावधिक २८ गतेबाट बन्द हुन्छ । अत्यावश्यकबाहेक अब समय बढाउने काम हुँदैन । अद्यावधिक नगर्नेहरू महाधिवेशनको प्रक्रियामा भाग लिन नपाउने कुरा सुनिश्चित हो,’ उनले भने ।
मूलधारमा आइनसकेका इतरपक्षका नेताहरूले भने अद्यावधिक गरेका छैनन् । यो समूहका मुख्य कार्यकर्ता र केही शुभेच्छुकहरू बाहेक अधिकांशले अद्यावधिक गरेका छन् । खड्का, कोइराला, पूर्वपदाधिकारीहरू विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विजयकुमार गच्छदार, शशांक कोइराला, प्रकाशरण महत, एनपी साउद लगायतका नेताहरूको ठूलो पंक्ति अझै पनि सदस्यता अद्यावधिक नगरी बसेका छन् ।
पछिल्लो पटक नेताहरूले नचाहे पनि तल्लो तहका कार्यकर्ताहरूमा अद्यावधिकप्रति उत्साह छाएको अर्का महामन्त्री प्रदीप पौडेल बताउँछन् । ‘पछिल्लो समय अद्यावधिक पार्टीको हितमा रहेछ भन्ने बुझेर सबै जोडिन खोजेका छन् । पुराना सदस्यहरू अद्यावधिक गर्नबाट छुट्दैनन् भन्ने देखिन्छ,’ पौडेलले भने, ‘बाँकी आन्तरिक असहमति पनि हल भएपछि सबै अद्यावधिक हुने विश्वास छ ।’
