परियारले रातारात ठूलो परिवर्तन सम्भव नरहेको उल्लेख गर्दै निरन्तर काम, मिहिनेत र परिणाममार्फत मात्रै विकास तथा समृद्धिको लक्ष्य हासिल गर्न सकिने बताए।
What you should know
धनकुटा — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य तथा संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले पुराना राजनीतिक दलहरूको आलोचना र विरोध मात्र गरेर मुलुक समृद्ध बन्न नसक्ने बताएका छन्।
रास्वपाको जिल्ला अधिवेशनलाई सम्बोधन गर्न धनकुटा आएका परियारले रातारात ठूलो परिवर्तन सम्भव नरहेको उल्लेख गर्दै निरन्तर काम, मिहिनेत र परिणाममार्फत मात्रै विकास तथा समृद्धिको लक्ष्य हासिल गर्न सकिने बताए।
उनले अब रास्वपाको प्रमुख राजनीतिक शत्रु कांग्रेस, एमाले, माओवादी वा अन्य दल नभई गरिबी, बेरोजगारी, पछौटेपन, बेथिति, विकृति र विसंगति भएको धारणा राखे। राज्यका सबै संयन्त्र यिनै समस्याको समाधानतर्फ केन्द्रित हुनुपर्ने उनको भनाइ थियो।
'फागुन २१ गते नेपाली जनताले अभूतपूर्व मतक्रान्तिमार्फत परम्परागत दलहरूलाई दण्ड दिइसकेका छन्,' उनले भने, 'अब पुराना दलका नेता तथा कार्यकर्ताको मात्रै आलोचना गरेर, विरोध गरेर वा उनीहरूमाथि विषवमन गरेर हामी अगाडि बढ्न सक्दैनौं । हाम्रो वास्तविक प्रतिस्पर्धी र प्रधान शत्रु गरिबी, बेरोजगारी र बेथिति हुन्।'
परियारले पार्टीका नेता तथा कार्यकर्तालाई अझ मिहिनेती, रचनात्मक र जनतासँग नजिक भएर काम गर्न आग्रह गरे। विकास, समृद्धि र सुशासनको यात्रालाई अघि बढाउन सबैले साझा प्रयास गर्नुपर्ने उनको भनाइ थियो।
उनले परिवर्तनका लागि धैर्यता आवश्यक रहेको बताए। 'रातारात केही हुनेवाला छैन। जति मिहिनेत गरियो, जति परिणाम ल्याइयो, त्यति नै सफलता प्राप्त हुन्छ,' उनले भने, 'काम, काम र काम तथा परिणाम, परिणाम र परिणाम नै हाम्रो मूल मन्त्र हुनुपर्छ।'
धनकुटामा आयोजित रास्वपाको जिल्ला अधिवेशनमा बोल्दै परियारले राजनीतिक प्रतिस्पर्धालाई स्वस्थ बनाउँदै जनजीविकासँग जोडिएका समस्याको समाधानमा केन्द्रित हुन पार्टीपंक्तिलाई आह्वान गरेका थिए।
रास्वपा धनकुटाले आइतबार पहिलो अधिवेशन गर्दैछ । अधिवेशनबाट नौ सदस्यीय कार्यसमिति चयन हुने रास्वपा धनकुटा संयोजक बालानन्द दाहालले जानकारी दिए । अध्यक्षका लागि पाँचजना आकांक्षी छन् । सर्वसम्मत विधिबाटै नेतृत्वको टुंगो लगाउने गृहकार्य भइरहेको दाहालले जानकारी दिए।
