सीमा विवादबारे दिल्लीमा कुरा उठाउनुभो भन्ने प्रश्नमा लामिछानेले भने : ढोल नबजाइकन आफ्ना देशका बारेमा गर्ने कुराहरू, गर्नुपर्ने कुराहरू, गर्नुपर्ने ठाउँमा, गर्नुपर्ने समयमा, गर्नुपर्ने जसरी र चरणबद्ध तरिकाले गर्नुपर्ने हुन्छ ।
काठमाडौँ — सत्तारुढ दल रास्वपा सभापति रवि लामिछाने भारतसँगको सीमा विवादलगायतका विषय 'डिप्लोमेटिक च्यानल' बाटै समाधान गरिने बताएका छन् ।
भारतको ५ दिने औपचारिक भ्रमण सकेर फर्किने क्रममा शुक्रबार विमानस्थलमा सञ्चारकर्मीहरूसँग कूटनीतिक विषय कूटनीतिक माध्यमबाटै समाधान हुने बताएका हुन् ।
'पत्रकारिता गर्दा 'ग्रेटर नेपाल' को नक्सा राखेर सीमाका कुरा उठाउनुहुन्थ्यो, अहिले भ्रमणका क्रममा सीमा विवादका विषय उठाउनुभयो त ?' भन्ने प्रश्नमा सभापति लामिछानेले भने, 'कुनै पनि विषय कूटनीतिक माध्यमबाट डिप्लोम्याटिक च्यानलहरूलाई एक्टिभ बनाएर समाधान गर्नु महत्त्वपूर्ण हुन्छ । तिनको आवाज ढोल बजाएर हुँदैन । तर ढोल नबजाइकन आफ्ना देशका बारेमा गर्ने कुराहरू गर्नुपर्ने कुराहरू गर्नुपर्ने ठाउँमा गर्नुपर्ने समयमा गर्नुपर्ने जसरी र चरणबद्ध तरिकाले गर्नुपर्ने हुन्छ ।'
पत्रकारितामै रहँदा लामिछानेले सुगौली सन्धिपूर्वको 'ग्रेटर नेपाल' समेटिएको नक्सा स्टुडियोको पृष्ठभूमिमा राखेर कार्यक्रम चलाउँथे । त्यही विषय पत्रकारले उठाउँदा उनको जवाफ थियो, 'एक्टिभिस्टले काम गर्ने कुरा उठाउने कुरा, जर्नलिस्टले उठाउने विषय र एउटा देशको सबैभन्दा बढी नागरिकले पत्याएको राजनीतिक दलका रूपमा त्यसले उठाउने विषय उस्तै हुँदैन । त्यसका फरक फरक जिम्मेवारी र त्यसका फरक-फरक संवेदनशीलतालाई बुझ्न सकिएन भने कूटनीतिमा त्यसको कुनै महत्त्व हुँदैन ।'
सभापति लामिछानेले नयाँदिल्लीमा भएका भेटवार्ताका विषय पारदर्शी रहेको पनि बताए । उनले यस पटक आफूहरूले विकास कूटनीतिलाई अगाडि सारेको पनि बताए ।
