रास्वपा स्थानीय तहमा पहिलो पटक बलियो नतिजा ल्याउने रणनीतिमा छ भने कांग्रेस, एमाले, नेकपालगायत दलहरू स्थानीय निर्वाचन लक्षित संगठन पुनर्गठन अभियानमा जुटेका छन् ।
What you should know
काठमाडौं — एक वर्षपछि हुने स्थानीय तह निर्वाचनका लागि राजनीतिक दलहरू तयारीमा जुटेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा जस्तै गरी जनमत ल्याउने रणनीतिमा लागेको छ भने कांग्रेस, एमाले, नेकपालगायत दलहरू पनि स्थानीय निर्वाचन लक्षित संगठन पुनर्गठन अभियानमा जुटेका छन् ।
उम्मेदवार छान्न रास्वपाले गठन गर्यो समिति
०७९ को निर्वाचनमा रास्वापाले प्रदेश र स्थानीय तहमा भाग नलिएकाले त्यहाँ उसको जनप्रतिनिधि छैनन् । प्रदेश र स्थानीय जनप्रतिनिधि नहुँदा राष्ट्रिय सभामा रास्वपाका जनप्रतिनिधि चयन भएका छैनन् । जसका कारण प्रतिनिधिसभामा दुई तिहाइ नजिक भए पनि राष्ट्रिय सभामा जनादेश नहुँदा रास्वपाको चुनावी एजेण्डा 'संविधान संशोधन' हुने अवस्था छैन । अबको स्थानीय र प्रदेश निर्वाचनबाट स्थानीय तहमा बलियो जनमत भए मात्र रास्वपाले चाहेअनुसार संविधान संशोधन हुने अवस्था छ ।
रास्वपाले वैशाख १० गते सहमहामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा स्थानीय तह निर्वाचन उम्मेदवार छनोट रुपरेखा र क्यान्डिडेट छनोट क्लब सम्पादन समिति गठन गरी तयारी सुरु गरेको छ । प्रतिनिधिसभा निर्वाचन परिणामका कारण स्थानीय तहमा आकांक्षी उम्मेदवार धेरै हुने भएकाले विधि र प्रक्रियाबाट उम्मेदवार बनाइने प्रवक्ता मनिष झाले बताए ।
झाले असार ७, ८ र ९ मा हुने पार्टीको राष्ट्रिय महाधिवेशनको लागि वडा तहसम्म अधिवेशनमा केन्द्रित भएकाले त्यसमै केन्द्रित भएको र महाधिवेशन सकिन बित्तिकै देशव्यापी रुपमा स्थानीय निर्वाचनको तयारीमा लाग्ने बताए । ‘महाधिवेशन सकिन बित्तिकै देशव्यापी रुपमा स्थानीय निर्वाचनको तयारीमा लाग्छौं,’ उनले भने, ‘उम्मेदवार छनौट चुनौतीपूर्ण छ । तर, विधि र प्रक्रिया बनाएर सबै पालिका र वडामा उम्मेदवार छान्छौं ।’
रास्वपाले सबै क्लस्टरबाट युवालाई उम्मेदवार बनाउने नीति लिएको छ । ७५३ पालिकामा युवा उम्मेदवार छनौट गर्ने तयारी रास्वपाको छ । प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले १६४ निर्वाचन क्षेत्रमा ४० वर्षमुनिका ४० प्रतिशत युवालाई उम्मेदवार बनाएको थियो ।
सातै प्रदेशमा निर्वाचन लक्षित अभियानमा कांग्रेस
गगन थापाले नेतृत्व लिएपछि कांग्रेसले युवा र नयाँलाई प्राथमिकता दिँदै प्रतिनिधिसभा निर्वाचनमा ६४ प्रतिशत युवा र नयाँ अनुहारका उम्मेदवार उठाएको थियो । आगामी स्थानीय र प्रदेश निर्वाचनमा पनि त्यही ‘स्प्रिट’लाई निरन्तरता दिने उसको तयारी छ । यसैबीच कांग्रेसको सदस्यता नवीकरणसँगै सुरु भएको अभियान सातै प्रदेशमा सकिएको छ ।
कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले आगामी निर्वाचन लक्षित देशव्यापी अन्तरक्रिया गरी सुझाव लिएका छन् । कांग्रेस सभापति थापाले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरूलाई नागरिकका सरोकारका विषयसँग जोडिएर काम गर्न निर्देशन दिँदै आएका छन् । कांग्रेसले आफ्नो नेतृत्वको सरकार भएका प्रदेश र पालिकाले आमनागरिकलाई हित गर्ने नीति तथा कार्यक्रम ल्याउनुपर्ने निष्कर्ष निकालेको छ । ‘प्रदेश र स्थानीय सरकारले आमनागरिकलाई सकारात्मक प्रभाव पार्ने गरी नीति तथा कार्यक्रम र बजेट ल्याउनु पर्छ,’ कांग्रेस महामन्त्री गुरुराज घिमिरेले भने, ‘हामीले सातै प्रदेश र स्थानीय तहमा निर्वाचन लक्षित अन्तरक्रिया र प्रशिक्षण गरेका छौं ।’ प्रशिक्षणमा सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा र महामन्त्री गुरु बराललगायत नेताले आगामी निर्वाचन कांग्रेसको परीक्षा हुने भन्दै बदलिएको कांग्रेसले मुलुकलाई बदल्न चाहेको विश्वास दिनेगरी काम गर्न निर्देशन दिएका थिए । ०७९ को निर्वाचनमा ३२९ पालिकामा जितेर कांग्रेस पहिलो भएको थियो ।
एमालेले ७५३ वटै पालिकामा खटायो केन्द्रीय सदस्य
२ साताअघि बसेको एमाले केन्द्रीय सचिवालय बैठकले स्थानीय निर्वाचन केन्द्रित निर्देशन दिएको छ । डिजिटल माध्यमबाट सदस्यता नवीकरणलाई अघि बढाएको एमालेले ७५३ वटै पालिकामा केन्द्रीय सदस्यलाई ‘मिसन पार्टी जागरण’ कार्यविभाजन गरेको छ । ‘वर्तमान सरकार र निर्वाचन आयोग प्रदेश सभा र स्थानीय तहका निर्वाचन एकैसाथ गर्नेगरी तयारीमा जुटिरहेको अवस्था छ । प्रतिनिधिसभा निर्वाचनमा व्यहोर्नुपरेको पराजयका कारण पार्टीको एउटा हिस्सा निराश र पलायन हुन खोजेको अवस्था छ,’ एमालेले तल्लो कमिटीमा पठाएको अन्तरपार्टी निर्देशिकामा भनेको छ, ‘यसप्रकारको अवस्थामा सुधार ल्याउनु र पार्टीपंक्तिमा आशाको सञ्चार जागृत गर्नु आवश्यक छ । पार्टी समीक्षाको चरणमा रहेको हुँदा केन्द्रीय कमिटीको बैठकबाट पार्टी पुनर्गठन र पुनर्जागरणको कार्ययोजना अघि बढाइने छ ।’
एमाले संगठन विभाग प्रमुख एवं सचिव भानुभक्त ढकालले बुधबार र बिहीबार सांगठनिक सुदृढीकरण र गतिशीलता दिन काठमाडौंमा कार्यशाला गर्न लागेको बताए । ‘यसले पार्टी संगठनलाई थप गति दिनेछ भने आगामी निर्वाचनका लागि राम्रो गर्ने विश्वास छ,’ उनले भने ।
कार्यशालामा प्रदेश तथा जिल्ला ईन्चार्जहरू, प्रदेश कमिटी वा सो सरहका कमिटीका पदाधिकारी र कार्यालय सचिवहरू, जिल्ला कमिटीका अध्यक्ष र संगठन विभाग प्रमुखहरू, जनसंगठन केन्द्रीय कमिटीका अध्यक्ष र संगठन विभाग प्रमुखहरूलाई बोलाइएको छ । सदस्यता विस्तार, नवीकरण प्रक्रिया र सांगठनिक सुदृढीकरणका भावी योजना बनाउने ढकालले बताए । ०७९ सालको निर्वाचनमा एमालेले २०६ पालिका जितेर दोस्रो भएका थियो ।
नेकपाद्वारा पालिका प्रमुख उपप्रमुखलाई तालिम
नेपाली कम्युनिस्ट पार्टी ( नेकपा)ले जेठ १३ र १४ मा स्थानीय तहका प्रमुख र उपप्रमुखलाई प्रशिक्षण दिई आगामी निर्वाचनको तयारीमा लाग्न निर्देशन दिएको छ । नेकपाले जितेका स्थानीय तहमा राम्रो काम गरे मात्र आगामी निर्वाचनमा मतदाताको मन जित्न सकिने भन्दै आखिर वर्षका कार्यक्रम बनाउँदा ध्यान दिन निर्देशन दिएको छ । स्थानीय विभाग प्रमुख अग्नि सापकोटाले लिखित गाइडलाइन्स दिँदै ‘सुशासन, विकास र सेवा प्रवाह’ लाई प्रभावकारी बनाउन प्रस्ताव पेस गरेका थिए ।
‘स्थानीय तहको प्रमुख प्राथमिकता सुशासन, विकास र सेवा प्रवाह हुनुपर्छ,’ उनले भने, ‘स्थानीय सरकारको प्राथमिकता जनताको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका विकासका विषयमा केन्द्रित हुनुपर्छ । जसमा जीविकोपार्जन, रोजगारी सिर्जना, उत्पादन वृद्धि, कृषि आधुनिकीकरण, गुणस्तरीय शिक्षा, आधारभूत स्वास्थ्य सेवा, खानेपानी, पूर्वाधार विकास तथा सामाजिक सुरक्षा प्रमुख हुन् ।’
‘स्थानीय सरकार जनताको सुख दुःखको प्रत्यक्ष अभिभावक हो । यसले जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने विकास, सेवा प्रवाह र सुशासनलाई प्रभावकारी बनाउँदै खस्किएको जनविश्वासलाई पुनः स्थापित गर्ने महत्वपूर्ण जिम्मेवारी वहन गर्दछ,’ नेकपाले जनप्रतिनिधिलाई दिएको निर्देशनमा उल्लेख छ, ‘नागरिकका कुरा ध्यानपूर्वक सुन्नु र वास्तविक समस्याको पहिचान गर्नु आवश्यक छ । सम्पूर्ण शक्ति र प्रतिबद्धताका साथ अघि बढ्यौ भने २०८४ को स्थानीय निर्वाचनमा गुणात्मक सफलता हासिल गर्न सकिनेछ ।’
धेरैभन्दा धेरै उम्मेदवार उठाउने तयारीमा श्रम संस्कृति पार्टी
पहिलो पटक प्रतिनिधिसभामा पुगेको श्रम संस्कृति पार्टीले स्थानीय र प्रदेश निर्वाचनमा सकेसम्म धेरै उम्मेदवार उठाउने तयारी गरेको छ । पूर्वबाट उदाएको श्रम संस्कृतिले श्रमसँग जोडिएर काम गर्न सक्ने व्यक्तिलाई उम्मेदवार बनाउने नेता आरेन राईले बताए । ‘हामी त स्थानीय र प्रदेश चुनावको तयारीमा लागिसक्यौं,’ उनले भने, ‘अनिवार्य श्रम गर्ने, इमान्दार राम्रो छवि भएको व्यक्तिलाई उम्मेदवार बनाउँछौं ।’
अध्यक्ष हर्कराज राईले सामाजिक सञ्जालमार्फत स्थानीय तहका उम्मेदवारको नाम पठाउन आग्रह गरेका छन् । ‘पालिकाले उम्मेदवारहरूको नाम जस्ताको तस्तै पठाउनु होला । चुनाव गर्ने कुरा नगर्नु है,’ उनले भनेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवलशमशेर राणाबीच द्वन्द्वका कारण आन्तरिक कलहमा फसेको छ । आगामी निर्वाचनबारे तयारी थालिनसकेको नेताहरूको भनाइ छ ।
प्रतिनिधिसभा निर्वाचनमा एक सिट जित्न नसके पनि जनता समाजवादी पार्टीले मधेस केन्द्रित पुनर्जागरण अभियान थालेको छ । यसअघि जसपा र लोसपा (लोकतान्त्रिक समाजवादी)बीच एकता भएपछि ४६ पालिका जितेका थिए । जसपा नेता प्रकाश अधिकारीले लोसपासँग एकतापछि संगठन विस्तारमा लागेको बताएका छन् ।
जनमतले संगठन विस्तार जारी राखेको महासचिव चन्दन सिंहले बताए । फागुनको प्रतिधिनिधिसभा निर्वाचनको समीक्षा गरी जेठ २४ मा बस्ने केन्द्रीय कार्य समिति बैठकले गर्दै प्रदेश र स्थानीय तह निर्वाचनको कार्यक्रम बनाउने बताए । जनमतले ०७९ को निर्वाचनमा २ पालिका जितेको थियो ।
