शिक्षामन्त्री सस्मित पोखरेल भन्छन् : प्रधानमन्त्रीज्यूले विवाद सिर्जना हुने खालको कुनै अभिव्यक्ति दिनुभएको होइन
What you should know
काठमाडौँ — सरकारका प्रवक्तासमेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री वालेन्द्र शाहले नेपालले पनि भारतको भूमि मिचेको छ भन्ने अभिव्यक्ति नदिएको बताएका छन् । मंगलबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा मन्त्री पोखरेलले प्रधामन्त्री शाहको बचाउ गरेका हुन् ।
यद्यपि आइतबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री शाहले लिपुलेक, कालापानी र लिम्पियाधुरा विवादमा कूटनीतिक रूपमा समाधानको प्रयास भइरहेको उल्लेख गर्दै दुवै देशले एक अर्काको जमिन मिचेको बताएका थिए । प्रधानमन्त्री शाहले भनेका थिए, 'तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्छ होला मैले पनि अस्ति भर्खर प्रधानमन्त्री भइसकेपछि थाहा पाएँ, भारतले नेपालको जग्गा मात्र होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ ।'
तर मन्त्री पोखरेलले भने प्रधानमन्त्रीले सीमा विवादसम्बन्धी काम अगाडि बढाउँदा अर्को पक्षबाट नेपालले पनि सीमा मिचेको छ भन्नेकुरा आउँदा आफू अचम्मित परेको बताएको भनेर मंगलबार स्पष्ट पार्न खोजे । मन्त्री पोखरेलले भने, 'प्रधानमन्त्रीज्युले के भन्नुभएको हो भने, सीमा विवादसम्बन्धी काम अगाडि बढाउँदा अर्को पक्षबाट नेपालले पनि सीमा मिचेको छ भन्नेकुरा आउँदा आफू अचम्मित परेको बताउनुभएको हो । उहाँले सदनमा पनि यही प्रसङ्ग उल्लेख गर्नुभएको थियो ।'
प्रधानमन्त्रीको अभिव्यक्तिपछि परराष्ट्र मन्त्रालयले समेत आफ्नो स्पष्टीकरण दिइसकेको कुरा पनि मन्त्री पोखरेलले उल्लेख गरे । प्रधानमन्त्री शाहको अभिव्यक्ति विवादास्पद भएपछि सोही दिन परराष्ट्रले विज्ञप्ति निकाल्दै स्पष्ट पार्ने प्रयास गरेको थियो । परराष्ट्रले प्रधानमन्त्रीले संसद्मा 'सीमावारपारको जग्गा भोगाधिकार' सम्बन्धी विषय उठाएको बताएको थियो ।
मंगलबार फेरि सोही कुरा दोहोर्याउँदै मन्त्री पोखरेलले भने, 'कतिपय स्थानमा भारतले उपभोग गरिरहेको भूमि नेपालतर्फ पर्न सक्ने र नेपालले उपभोग गरिरहेको भूमि भारततर्फ पर्न सक्ने भन्ने विषय ती संयन्त्रहरूबाट उठेका छन् । यस्ता विषयमा दुई देश बसेर आपसी छलफलमार्फत विवाद समाधान गर्नुपर्छ भन्ने प्रधानमन्त्रीज्यूको धारणा हो । प्रधानमन्त्रीज्यूले विवाद सिर्जना हुने खालको कुनै अभिव्यक्ति दिनुभएको होइन ।'
मन्त्री पोखरेलले प्रधानमन्त्रीले आफूले उक्त कुरा सुन्दा अचम्मित परेको भनेर भनेको दाबी गरे । उनले अगाडि भने, 'उहाँले यस्तो कुरा आउँदा म अचम्मित परें भन्ने सन्दर्भमा मात्र आफ्नो धारणा व्यक्त गर्नुभएको हो । त्यसैले प्रधानमन्त्रीज्यूले सदनमा व्यक्त गर्नुभएको भनाइलाई एकपटक पुनः सुन्नु उपयुक्त हुन्छ ।'
