प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तिजनक, चिन्ताजनक र देशद्रोही : गगन थापा

सभापति थापाले प्रधानमन्त्रीको गैरजिम्मेवारपूर्ण कदमले नेपालीको शिर निहुराएको र राष्ट्रिय अखण्डतालाई खण्डित गर्ने दुष्प्रयास गरेको आरोप लगाए ।

जेष्ठ १८, २०८३

घनश्याम गौतम

Prime Minister's statement is objectionable, worrying and anti-national: Gagan Thapa

बुटवल — कांग्रेस सभापति गगनकुमार थापाले सीमावर्ती क्षेत्रमा हुने अतिक्रमण, 'क्रस बोर्डर अकुपेसन' र विवादका विषयमा तथ्य-प्रमाणबिनै प्रधानमन्त्रीले बोलेको भन्दै यसलाई ‘आपत्तिजनक, चिन्ताजनक र देशद्रोही प्रवृत्ति’ भनेका छन् ।

कांग्रेसको बिहीबारदेखि सुरु लुम्बिनी प्रदेशस्तरिय जरा अभियानको सुरुवात गर्दै सभापति थापाले यस्तो बताएका हुन् ।  ‘तथ्य, प्रमाण र दस्तावेजबिना प्रधानमन्त्रीले यस्तो बोल्नु राष्ट्रहितविपरीत छ,’ उनले भने, ‘२०७४ सालमा सबै दल मिलेर संसदबाट एकमतले पारित गरेको नेपालको नक्सा र त्यसका आधारहरूलाई नजरअन्दाज गरिनु देशद्रोही प्रवृत्ति हो ।’

प्रधानमन्त्रीको यस्तो गैरजिम्मेवारपूर्ण कदमले नेपालीको शिर निहुराएको र राष्ट्रिय अखण्डतालाई खण्डित गर्ने दुष्प्रयास गरेको आरोप पनि उनले लगाए । सभापति थापाले यो ‘राष्ट्रिय लज्जाको विषय’ भन्दै प्रधानमन्त्रीले तत्काल संसद्‌मा उपस्थित भएर आफ्नो गल्ती स्वीकार गरी जनतासँग माफी माग्नुपर्ने बताए ।

अभियानको सुरूवात गर्दै सभापति थापाले संसद्मा सत्तापक्षले बहुमतको जोरमा आइतबारको बैठकबाट संसद् नियमावली पारित गराएको घटनालाई संसदको इतिहासमा कालो दिन भएको पनि बताए । प्रमुख प्रतिपक्ष दलको हैसियतले कांग्रेसले यो घटनालाई अदालतमा विषय बनाउने चेतावनी पनि उनले दिएका छन् । 

‘संसद सञ्चालनको कानुन निर्माण गर्ने परम्परामा हिजोको दिन संघीय संसद्को इतिहासमा एउटा कालो दिन हो,’ उनले भने, ‘जहाँ संसद् जस्तो संस्थाको नियमावली सर्वसम्मतले पारित गराउने प्रतिपक्षहरूको आवाजलाई सत्तापक्षले बहुमतको दम्भमा जबरजस्ती पेलेर नियमावली पास गराउने काम गरियो । जुन अहिलेसम्मको अभ्यास र नजिर विपरित छ ।’

उनले सभामुखलाई संसद्भित्र आउने व्यक्तिका अधिकारको अन्तिम व्याख्याता बनाइएको उक्त नियमावलीको प्रावधान असंवैधानिक रहेको बताए । सभापति थापाले कार्यपालिका वा व्यवस्थापिकाले संविधान तथा कानुनले तोकेको सीमा मिच्दा न्यायपालिकाले सच्याउनुपर्ने भनाइ राखे ।

थापाले रास्वपाका सांसदहरूको टेबल ठोक्ने व्यवहारलाई यसअघि नेकपा सांसदहरूको व्यवहारसँग जोड्दै संख्याको उन्मादको रुपमा व्याख्या गरे । ‘संख्याले कहिलेकाहीँ उन्माद चढ्छ, सरकार बरालिन्छ र आफ्नो जिम्मेवारी बिर्सन्छ,’ उनले भने, ‘जुन यस अघि नेकपाको सरकारले पनि गरेको थियो ।’

कांग्रेसले संसदमा विरोध र प्रतिरोध गरे पनि नियमावली जबरजस्ती पारित गरिएको उल्लेख गर्दै उनले यो विषयलाई घरघरमा नागरिकसम्म पुर्‍याउने जिम्मेवारी पार्टी कार्यकर्ताको रहेको बताए ।

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully