हामी कसैको भूमि एक इन्च पनि मिच्दैनौँ । र, कसैलाई एक इन्च भूमि पनि दिँदैनौँ : एमाले प्रमुख सचेतक ऐन महर
काठमाडौँ —
प्रतिपक्षी दल एमालेले प्रधानमन्त्री वालेन्द्र शाहले नेपालले पनि भारतको धेरै भूमि मिचेको छ भनी दिएको अभिव्यक्ति राष्ट्रघाती भएको भन्दै तत्काल संसद्मा माफी माग्नुपर्ने माग गरेको छ ।
सोमबार प्रतिनिधिसभा बैठक सुरू हुनेबित्तिकै एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुखलाई आग्रह गरेका हुन् ।
लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमि भएको तथ्य अध्ययन गर्न पनि प्रधानमन्त्री शाहलाई प्रमुख सचेतक महरले सचेत गराए ।
‘प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती, देशद्रोही, गैरजिम्मेवार छ । र, त्यो संसद्को रेकर्डबाट हटाउँदै प्रधानमन्त्रीले रोस्ट्रमबाट माफी माग्नुपर्छ भनेर म यहाँहरूको बीचमा म समामुखमार्फत यो सदनको ध्यानाकर्षण गराउन चाहन्छु । म यहाँ भन्न चाहन्छु–हाम्रो राष्ट्रको बडो स्पष्ट नीति छ । असंलग्न परराष्ट्र नीति छ । हामी कसैको भूमि एक इन्च पनि मिच्दैनौँ । र, कसैलाई एक इन्च भूमि पनि दिँदैनौँ,’ महरले भने ।
