विपक्षी दलको निष्कर्ष : प्रधानमन्त्रीले संसद्‌मा माफी माग्नुपर्ने, नत्र अवरोध जारी राख्ने

कांग्रेस सचेतक निश्कल राईले भने, 'प्रधानमन्त्रीले संसद्मा आएर आफूले बोलेका अभिव्यक्तिका बारेमा प्रस्टीकरण दिनुपर्छ, जवाफ नदिउन्जेलसम्म संसद्‍मा अवरोध जारी रहन्छ ।'

जेष्ठ १८, २०८३

कुलचन्द्र न्यौपाने

Opposition party's conclusion: Prime Minister must apologize in Parliament, otherwise obstruction will continue

What you should know

काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहले आइतबार संसद्मा दिएको अभिव्यक्तिलाई लिएर आज संसद् अवरोध गर्ने निष्कर्ष विपक्षी दलको बैठकले निकालेको छ । 

कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा कांग्रेससहित एमाले, नेकपा र राप्रपाको सहभागिता थियो । श्रम संस्कृति पार्टीलाई बोलाइए पनि बैठकमा पार्टीका तर्फबाट कसैको उपस्थिति रहेन ।

कांग्रेस संसदीय दलका सचेतक निश्कल राईका अनुसार प्रधानमन्त्रीको अभिव्यक्तिलाई विपक्षी दलहरूले गम्भीरतापूर्वक लिँदै भर्त्सना गरेका गरेका छन् । 

प्रधानमन्त्रीले संसद्मा आएर आफूले बोलेका अभिव्यक्तिका बारेमा प्रस्टीकरण दिनुपर्ने र संसद्समक्ष माफी माग्नुपर्ने निष्कर्ष समेत निकालिएको उनले बताए । 'प्रधानमन्त्रीले जवाफ नदिउन्जेलसम्म संसद्‍मा हाम्रो अवरोध जारी रहन्छ,' उनले भने ।

एमाले उपनेता पद्मा अर्यालले पनि प्रधानमन्त्रीको अभिव्यक्तिले सारा नेपालीको शिर झुकेको भन्दै संसद्‌मा विपक्षी दलहरूले विरोध जनाउने बताइन् । 'प्रधानमन्त्री संसद्‌मा आएर माफी नमागेसम्म विरोध जारी रहन्छ,' उनले भनिन् ।

प्रधानमन्त्री शाहले आइतबार प्रतिनिधिसभामा दिएको नेपाल–भारत सीमासम्बन्धी दिएको अभिव्यक्तिलाई लिएर टीकाटिप्पणी भइरहेका छन् । लिम्पियाधुरा, लिपुलेक र कालापानीबारे सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले नेपालले पनि धेरै ठाउँमा भारतीय भूमि मिचेको अभिव्यक्ति दिएका थिए ।

प्रधानमन्त्री शाहको यो अभिव्यक्तिलाई लिएर संसद्भित्र र बाहिर आलोचना तथा विरोध भइरहेको हो ।

‘तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, म पनि अस्ति भर्खर प्रधानमन्त्री भएपछि नै थाहा पाएँ, भारतले नेपालको जग्गा मिचेको मात्र होइन, नेपालले पनि भारतको थुप्रै जग्गा मिचेको रहेछ,’ प्रधानमन्त्री शाहले संसद्मा भनेका थिए ।

कुलचन्द्र उनी कान्तिपुरका राजनीतिक संवाददाता हुन् । उनी संसदिय मामिला र दलहरुको भूमिकाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully