राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाहीले भने- 'तथ्यांकबिनाको अभिव्यक्ति राजनीतिक भाषण हुन सक्छ तर राज्यसञ्चालन गर्ने आधार बन्न सक्दैन । अनुमानका आधारमा राष्ट्र चल्दैन ।'
What you should know
काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल र भारतबीच सीमा विवादका सम्बन्धमा बोलेका विषय सत्य भए संसद्मा पेस गर्न र नभए संसद्को रेकर्डबाट हटाउन माग गरिएको छ ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाहीले प्रधानमन्त्रीको अभिव्यक्तिको विषयमा आपत्ति जनाएका हुन् । 'सरकारसँग नेपालले भारतको सीमाना मिचेको कुनै पनि दाबी आधार छ भने संसद्समक्ष पेस गर्न अपिल गर्दछु । छैन भने जनतालाई भ्रमित पार्ने खालका अभिव्यक्तिबाट सरकार जोगिनुपर्छ,' शाहीले माग गरे, 'तथ्यबिना बोलिएका प्रधानमन्त्रीका शब्द संसदको रेकर्डबाट हटाउनका निम्ति म अपिल गर्न चाहन्छु । प्रमाण छ भने पेस गरौं, होइन भने संसद्को रेकर्डबाट हटाउन माग गर्दछु ।'
प्रजातन्त्रमा अभिव्यक्ति स्वतन्त्रता हुने भए पनि सरकारको नेतृत्वले अभिव्यक्ति दिँदा ख्याल राख्नुपर्ने शाहीको भनाइ थियो । 'सरकारको नेतृत्व गर्ने व्यक्तिको अभिव्यक्ति जिम्मेवार पनि हुनुपर्छ । चिया पसलको गफ र संसदको अभिव्यक्तिबीच फरक हुन्छ,' उनले भने, 'सामान्य नागरिकले भनेको कुरा र देशको प्रधानमन्त्रीले भनेको कुराको प्रवाह फरक हुन्छ । प्रधानमन्त्रीले जब कुनै दाबी गर्नुहुन्छ त्यसलाई देशले सरकारी धारणा ठान्छ । अन्तर्राष्ट्रिय समुदायले आधिकारीक दृष्टिकोणको रूपमा लिन्छ र सत्यका रूपमा ग्रहण गर्छन् ।'
प्रधानमन्त्रीको अभिव्यक्ति तथ्य, प्रमाण र यथार्थमा आधारित हुनुपर्ने शाहीको भनाइ थियो । 'तथ्यांक बिनाको अभिव्यक्ति राजनीतिक भाषण हुन सक्छ तर राज्यसञ्चालन गर्ने आधार बन्न सक्दैन । अनुमानका आधारमा राष्ट्र चल्दैन,' उनले भने ।
प्रधानमन्त्री शाहले आइतबारको प्रतिनिधिसभाको बैठकमा श्रम संस्कृति पार्टीका सांसद आरेन राईको प्रश्नको जवाफ दिने क्रममा लिपुलेक, कालापानी र लिम्पियाधुरा विवादमा कूटनीतिक रूपमा समाधानको प्रयास भइरहेको बताएका थिए । तर त्यसक्रममा उनले भनेका थिए, 'तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्छ होला म पनि अस्ति भर्खर प्रधानमन्त्री भइसकेपछि थाहा पाएँ, भारतले नेपालको जग्गा मिचेको मात्र होइन, नेपालले पनि भारतको थुप्रै जग्गा मिचेको रहेछ ।'
प्रधानमन्त्री शाहको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले प्रतिनिधिसभा बैठकमा अवरोध गरिरहेका छन् ।
