नेकपाका प्रमुख सचेतक युवराज दुलालले भने- प्रधानमन्त्रीले संसद्मा हिजो नेपालले पनि धेरै ठाउँमा भारतको भूमि मिचेको रहेछ भनेर दिनुभएको अभिव्यक्ति सीमा समस्यासम्बन्धी अज्ञानता त हो नै त्योभन्दा बढी गम्भीर राष्ट्रहित विपरितको अभिव्यक्ति हो ।
What you should know
काठमाडौँ — नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्री वालेन्द्र शाहमा नेपाल-भारत सीमा समस्या सम्बन्धबारे अज्ञानता रहेको बताएका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा नेकपाका प्रमुख सचेतक दुलालले प्रधानमन्त्रीमा सीमा समस्याबारे अज्ञानता देखिएको बताएका हुन् । 'प्रधानमन्त्रीले संसद्मा हिजो नेपालले पनि धेरै ठाउँमा भारतको भूमि मिचेको रहेछ भनेर दिनुभएको अभिव्यक्ति सीमा समस्यासम्बन्धी अज्ञानता त हो नै तर त्योभन्दा बढी गम्भीर राष्ट्रहित विपरितको अभिव्यक्ति हो,' दुलालले भने, 'भारतीय सेनाबाट भएको यो अतिक्रमणको तुलना दशगजामा खेतीपाती गरिएको कुरासँग तुलना गर्ने विषय नै होइन । न भारतले नेपालले यहाँ हाम्रो सीमा मिच्यो भनेको छ, न हाम्रो सेनाले कुनै भारतीय भूमि कब्जा गरेर नै बसेको छ, न कुनै त्यस्तो तथ्यांक नै छ । अतः नेपालले भारतको भूमि मिचेको छैन ।'
प्रधानमन्त्रीले तथ्यहीन बोलेर गम्भीर गल्ती गरेको साथै परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकाल्नु पनि गल्ती भएको दुलालको भनाइ छ । 'एउटा सार्वभौम राष्ट्रका प्रधानमन्त्रीले यसरी तथ्यहीन विषय बोल्नु गम्भीर गल्ती हो र परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको बचाउमा दशगजाको विषयलाई लिएर 'क्रस बोर्डर अकुपेन्सी'को कुरा हो भनेर झुठलाई तोडमरोड गर्नु अर्को गल्ती हो,' दुलालले थपे, 'लिपुलेक, लिम्पियाधुरा, कालापानीलगायत नेपालको करिब ६० हजार हेक्टर भूमि भारतले अतिक्रमण गरेको हाम्रो राष्ट्रिय दाबी हो ।'
प्रधानमन्त्रीको अभिव्यक्तिमा मिचिएको भूमि प्राप्त गर्नसक्ने इच्छाशक्ति अभाव र कूटनीतिक अपरिपक्वता देखिएको दुलालको भनाइ थियो । उनले थपे, 'आश्चर्यको कुरा त सरकारवादी दलका सभापतिको भारत भ्रमणको पूर्वसन्ध्यामा प्रधानमन्त्री दौडिएर आएर यो अभिव्यक्ति दिनु भारत भ्रमणको अवसरमा भारतलाई दिएको उपहार त होइन गम्भीर संसय पैदा भएको छ ।'
दुलालले संसद्को रोष्ट्रमबाट प्रधानमन्त्रीले दिएको अभिव्यक्ति भ्रामक भएको र त्यो फिर्ता हुनुपर्ने माग गरे । उनले प्रधानमन्त्रीले गल्ती स्वीकार गर्नुपर्ने बताए ।
प्रधानमन्त्री शाहले आइतबारको प्रतिनिधिसभाको बैठकमा श्रम संस्कृति पार्टीका सांसद आरेन राईको प्रश्नको जवाफ दिने क्रममा लिपुलेक, कालापानी र लिम्पियाधुरा विवादमा कूटनीतिक रूपमा समाधानको प्रयास भइरहेको बताएका थिए । तर, त्यसक्रममा उनले भनेका थिए, 'तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्छ होला म पनि अस्ति भर्खर प्रधानमन्त्री भइसकेपछि थाहा पाएँ, भारतले नेपालको जग्गा मिचेको मात्र होइन, नेपालले पनि भारतको थुप्रै जग्गा मिचेको रहेछ ।'
प्रधानमन्त्री शाहको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले प्रतिनिधिसभा बैठकमा अवरोध गरिरहेका छन् ।
