सांसद कर्णले भने- 'नेपाल सरकारले छिमेकी मुलुक भारतको कुन कुन ठाउँमा जग्गा मिचेको छ ? सो उपलब्ध गराउन सक्नुभएन भने जनताको माझमा प्रधानमन्त्रीले सार्वजनिक रूपमा माफी माग्नुपर्छ ।'
काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल र भारतको सीमा विवाद सम्बन्धमा दिएको अभिव्यक्तिका सम्बन्धमा छानबिन गर्न समिति गठन गर्नुपर्ने कांग्रेस सांसद रञ्जित कर्णले माग गरेका छन् ।
राष्ट्रिय सभाको सोमबारको बैठकमा कांग्रेस सांसद कर्णले उक्त माग गरेका हुन् । 'प्रधानमन्त्रीले आफै प्रतिनिधिसभाको रोष्ट्रममा उभिएर नेपाल सरकारले नै हाम्रो छिमेकी मुलुक भारतको जग्गा मिचेको छ भनेर स्वीकार गर्नुभयो । म प्रधानमन्त्रीलाई आग्रह गर्न चाहन्छु, नेपाल सरकारले छिमेकी मुलुक भारतको कुन कुन ठाउँमा जग्गा मिचेको छ ?' कर्णले भने, 'उहाँले सो उपलब्ध गराउन सक्नुभएन भने जनताको माझमा सार्वजनिक रूपमा माफी माग्नुपर्दछ । आज संसदमा विशेष निर्णय गर्नुपर्ने हुन्छ कि प्रधानमन्त्रीले बोलेको कुराको कारण के हो ? यसको छानबिन समितिसमेत गठन गर्न राष्ट्रिय सभाबाट माग गर्दछु ।'
प्रधानमन्त्री शाहले आइतबारको प्रतिनिधिसभाको बैठकमा श्रम संस्कृति पार्टीका सांसद आरेन राईको प्रश्नको जवाफ दिने क्रममा लिपुलेक, कालापानी र लिम्पियाधुरा विवादमा कूटनीतिक रूपमा समाधानको प्रयास भइरहेको बताएका थिए । तर त्यसक्रममा उनले भनेका थिए, 'तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्छ होला म पनि अस्ति भर्खर प्रधानमन्त्री भइसकेपछि थाहा पाएँ, भारतले नेपालको जग्गा मिचेको मात्र होइन, नेपालले पनि भारतको थुप्रै जग्गा मिचेको रहेछ ।'
प्रधानमन्त्री शाहको अभिव्यक्तिलाई लिएर राष्ट्रिय सभाको बैठक अवरुद्ध भएको छ । राजनीतिक दलहरूले प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा राष्ट्रिय सभाको बैठक अवरुद्ध गरेका हुन् ।
