कांग्रेसले प्रधानमन्त्रीको उक्त भनाइलाई ‘आत्मघाती’ र ‘कूटनीतिक रूपमा हानिकारक’ टिप्पणीको संज्ञा दिँदै संसद् र आमनेपाली जनतासामु तत्काल स्पष्टीकरण दिन माग गरेको छ ।
What you should know
काठमाडौँ — नेपाली कांग्रेसले प्रधानमन्त्री वालेन्द्र शाहले प्रतिनिधिसभामा दिएको ‘हामीले पनि धेरै ठाउँमा सीमा मिचेका छौं’ भन्ने अभिव्यक्तिलाई नेपालको राष्ट्रिय हित, सार्वभौमिकता र स्थापित सीमा नीतिविपरीत रहेको भन्दै त्यसले लिम्पियाधुरा, लिपुलेक र कालापानीलगायत क्षेत्रमाथि नेपालको दाबी नै कमजोर बनाएको जनाएको छ । कांग्रेसले प्रधानमन्त्रीको उक्त भनाइलाई ‘आत्मघाती’ र ‘कूटनीतिक रूपमा हानिकारक’ टिप्पणीको संज्ञा दिँदै संसद् र आमनेपाली जनतासामु तत्काल स्पष्टीकरण दिन माग गरेको छ ।
प्रवक्ता देवराज चालीसेले आइतबार जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री शाहले सार्वभौम संसद्मा उभिएर सीमा समस्या जस्तो संवेदनशील विषयमा ऐतिहासिक तथ्य र प्रमाणबिनै गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएको आरोप लगाएका छन् । कांग्रेसले प्रधानमन्त्रीको भनाइले नेपालको संवैधानिक नक्सा, राष्ट्रिय स्वाभिमान र सीमासम्बन्धी स्थापित कूटनीतिक अडानमाथि गम्भीर आघात पुगेको जनाएको छ । विज्ञप्तिमा प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रिय हित प्रतिकूल सन्देश प्रवाह गरेको मात्र नभई अन्तर्राष्ट्रिय मञ्चमा नेपालको कूटनीतिक विश्वसनीयतामाथि समेत प्रश्न उठाएको उल्लेख छ ।
कांग्रेसले विशेषगरी लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको ३७२ वर्ग किलोमिटर नेपाली भूमिमाथिको अतिक्रमणको विषयलाई सीमा क्षेत्रमा देखिने सामान्य प्राविधिक प्रकृतिका समस्यासँग जोडेर प्रधानमन्त्रीले संसद्मै ‘हामीले पनि धेरै ठाउँमा सीमा मिचेका छौं’ भन्नु नेपालको राष्ट्रिय अडानविरुद्ध भएको दाबी गरेको छ ।
विज्ञप्तिमा यस्तो अभिव्यक्तिले नेपाल–भारतबीच कूटनीतिक माध्यमबाट समाधान खोज्ने सहमति र प्रयासलाई समेत प्रभावित पार्ने उल्लेख गरिएको छ । कांग्रेसका अनुसार प्रधानमन्त्रीको भनाइले नेपालको दाबीलाई स्वतः कमजोर बनाउने र दीर्घकालीन राष्ट्रिय हितमा प्रतिकूल असर पार्ने जोखिम सिर्जना गरेको छ ।
कांग्रेसले प्रधानमन्त्रीले संसद्मा सीमा समस्याको प्रसंगमा ‘इङ्ल्यान्ड (बेलायत) सँग पनि कुरा भइरहेको’ भन्ने आशयको अभिव्यक्ति दिएको विषयलाई समेत गम्भीर रूपमा लिएको छ । दुई देशबीचको सीमा समस्या समाधानका लागि स्थापित कूटनीतिक संयन्त्र हुँदाहुँदै बेलायतको प्रसंग किन उठाइयो भन्ने प्रश्न कांग्रेसले गरेको छ । यस्तो अभिव्यक्तिले नेपालको कूटनीतिक परिपक्वतामाथि नै प्रश्न खडा गरेको कांग्रेसको भनाइ छ ।
विज्ञप्तिमा प्रधानमन्त्रीले संसद्मा व्यक्त गरेको धारणा सरकारको आधिकारिक दृष्टिकोण हो, राष्ट्रिय स्वतन्त्र पार्टीको धारणा हो वा प्रधानमन्त्रीको व्यक्तिगत विचार हो भन्ने विषयमा स्पष्ट पार्न माग गरिएको छ । कांग्रेसले प्रधानमन्त्री र सरकारसँग अविलम्ब संसद् र आम नेपाली जनतासमक्ष स्पष्टीकरण दिन आग्रह गरेको छ ।
कांग्रेसले ऐतिहासिक तथ्य, सन्धि तथा प्रमाणका आधारमा राष्ट्रिय स्वाभिमान र भौगोलिक अखण्डताको रक्षा गर्दै सीमा समस्याको समाधान वार्ता र कूटनीतिक पहलमार्फत खोज्नुपर्ने आफ्नो अडान दोहोर्याएको छ । कांग्रेसले छिमेकी राष्ट्रहरूसँगको ऐतिहासिक तथा बहुआयामिक सम्बन्धलाई ध्यानमा राख्दै आपसी संवादबाट समस्या समाधान गर्नुपर्नेमा पनि जोड दिएको छ ।
