नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्ध, सन्धि–सम्झौता, सीमा विवादित विषयमा समस्या समाधान गर्न गठित नेपाल–भारत प्रबुद्ध समूह (ईपीजी) का सदस्यसमेत रहेका आचार्यले भने : नेपाल राज्यका तर्फबाट भारतको कहीँकतै जग्गा मिचिएको छैन । प्रधानमन्त्रीले भनेजस्तो होइन ।
काठमाडौँ — भारतका लागि नेपालका पूर्वराजदूत नीलाम्बर आचार्यले प्रधामन्त्री वालेन्द्र शाहले भनेजस्तो ‘नेपालले भारतको जग्गा नमिचेको’ बताएका छन् । नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्ध, सन्धि–सम्झौता, सीमा विवादित विषयमा समस्या समाधान गर्न गठित नेपाल–भारत प्रबुद्ध समूह (ईपीजी) का सदस्यसमेत रहेका आचार्यले नेपाल र भारतको सीमा विवाद ९७ प्रतिशत समाधान भइसकेको बताए ।
‘नेपाल राज्यका तर्फबाट भारतको कहीँकतै जग्गा मिचिएको छैन । प्रधानमन्त्रीले भनेजस्तो होइन,’ उनले भने । दुई देशको सीमा क्षेत्रमा जंगे पिलर हराउँदा केही ठाउँमा समस्या देखिएको हुन सक्ने भए पनि भारतीय जग्गा भने नमिचिएको उनको भनाइ छ । ‘सीमा क्षेत्रको कतिपय जग्गा भारतीयले यताको र नेपालीले उताको खेतीपातीका लागि बसोबास गरेको देखिन्छ । तर त्यो नेपाल राज्यले मिचेको भन्ने होइन,’ पूर्वराजदूत आचार्यले भने ।
नेपाल र भारतबीच लिम्पियाधुरा, लिपुलेक, कालापानी र नवलपरासीको सुस्ता मुख्य सीमा विवाद भएको उनले बताए । ‘अरू सीमा विवाद होइन, सीमामा देखिएको समस्या हो,’ उनले भने, ‘प्रधानमन्त्रीले नेपालले भारतको जग्गा मिचेको कुन सन्दर्भमा भन्नुभएको हो । स्पष्ट भएन ।’
