नेतृत्व हस्तान्तरण गर्न ओलीलाई ‘नैतिक दबाब’

तीन दशकदेखि ओलीलाई साथ दिंदै आएका महासचिव पोखरेल पनि नेतृत्व हस्तान्तरणको पक्षमा

जेष्ठ ११, २०८३

गंगा बीसी

'Moral pressure' on Oli to hand over leadership

काठमाडौँ — नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले गत साता भक्तपुरको गुन्डु गएर अध्यक्ष केपी शर्मा ओलीलाई सम्मानजनक ढंगले नेतृत्व हस्तान्तरण गर्न आग्रह गरे ।

विगतका दुई विश्वासपात्र नेताले नेतृत्व हस्तान्तरणका लागि आग्रह गरेपछि ओली झस्किए । २१ फागुनको निर्वाचनपछि एमाले इतिहासकै कमजोर अवस्थामा पुगेको भन्दै पौडेल र पोखरेलले संयुक्त रुपमा ओलीलाई अध्यक्ष पद छाडेर ‘अभिभावक’ बन्न आग्रह गरे पनि उनले त्यसलाई ठाडै अस्वीकार गरे ।

गत पुसमा तेस्रो कार्यकालका लागि ७० वर्षे उमेर हद र कार्यकारी पदमा दुई कार्यकाल रहने विधानको प्रावधान हटाएर तेस्रो पटक ओली अध्यक्ष भएका थिए । दुई विश्वासिला नेताले अध्यक्ष पद छाड्न मुख खोलेपछि ओली दबाबमा परे । लगत्तै ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता फुकुवा गरिदिए । भण्डारीको सदस्यता फुकुवा गरेर ओलीले उनको पक्षमा लागेका नेताहरुलाई आफ्नो पक्षमा पार्ने रणनीति लिएको एमालेका नेताहरुको भनाइ छ ।

जेन-जी आन्दोलनमा तत्कालीन प्रधानमन्त्री ओलीको ‘हठ’ का कारण ठूलो मानवीय क्षति भएको र त्यसको जगमा भएको निर्वाचनमा एमालेलाई भएको क्षतिको जिम्मेवारी लिंदै नेतृत्व हस्तान्तरण गर्न नेताहरुको सुझाव छ । तर ओलीले चुनावी परिणाम यस किसिमको आउनुमा आफू जिम्मेवार नभएको तर्क पदाधिकारी बैठकमा गरेका छन् । ‘चुनावमा यो परिणाम आउनुमा मेरो के गल्ती छ ? पार्टीले मलाई भावी प्रधानमन्त्रीको रुपमा अघि सारको थियो । तर उम्मेदवारहरुले त्यसलाई बेवास्ता गरे’ ओलीले बैठकमा भनेका थिए ।

ओलीले पार्टी नेतृत्व छाड्नुपर्ने माग भएपछि अन्तरसंघर्ष चर्किने संकेत देखिएका छ । करिब तीन दशकभन्दा बढी ओलीलाई बलियो साथ दिंदै आएका महासचिव शंकर पोखरेलले समेत पार्टी नेतृत्व पुनर्गठन पक्षमा खुलेका छन् ।

महासचिव पोखरेलले ‘सम्मानजनक’ रुपमा नेतृत्व हस्तान्तरण गरी एमालेलाई नयाँ संरचनामा लैजानुपर्ने धारणा अघि सारेका छन् । जेन-जी आन्दोलनपछि भएको निर्वाचन परिणामले पार्टी पुनर्गठनको अवस्थामा पुर्‍याएकाले नेतृत्वगत रुपमा पुनर्सरचना हुनुपर्ने तर्क गरेका छन् । चुनाव लगत्तै उनले स्वच्छिक रुपमा ओलीले नेतृत्वबाट मार्गप्रशस्त ग र्नु उयुक्त हुने सुझाव दिएको निकट नेताहरुसँग बताएका छन् ।

पाँच उपाध्यक्षमध्ये चार, महासचिव, तीन उपमहासचिवमध्ये दुई र नौ सचिवमध्ये पाँच जनाले ओलीले नेतृत्व हस्तान्तरण गर्नुपर्ने माग गरेका छन् । उपाध्यक्षहरु विष्णु पौडेल, गोकर्ण बिष्ट, पृथ्वीसुब्बा गुरुङ र रघु पन्त, महासचिव पोखरेल, उपमहासचिवहरु रघुबीर महासेठ, योगश भट्टराई र सचिवहरु खगराज अधिकारी, छविलाल विश्वकर्मा, पद्माकुमारी अर्याल, शेरधन राई र हिक्मतकुमार कार्की नेतृत्व पुनर्गठनको पक्षमा खुलेका छन् ।

उपाध्यक्ष रामबहादुर थापा र सचिवद्वय यामलाल कँडेल र महेश बस्नेत ‘संकटको बेला नेतृत्व बलियो बनाउनुपर्ने’ भन्दै ओलीको पक्षमा उभिएका छन् । सचिवहरु भानुभक्त ढकाल, राजन भट्टराई पार्टी निर्माण गर्न नयाँ नीति लिनुपर्ने भन्दै तटस्थ देखिएको एक नेताले बताए । एमालेका १९ मध्ये १२ पदाधिकारीले ओलीले मार्गप्रशस्त गर्नुपर्ने मत राखेका छन् । त्यसमध्ये दुई तटस्थ र तीन पदाधिकारीले ओलीको विकल्प खोज्नु गलत हुने मत राखेका छन् । पदाधिकारीमै अल्पमतमा परेपछि ओलीमाथि ‘नैतिक दबाब’ परेको छ ।

ओलीको विकल्प खोज्ने नेताहरु ‘वार कि पार’ गर्ने मनस्थितिमा देखिएका छन् । ‘ओलीले सहज नेतृत्व छाड्न तयार नभए अन्तरसंघर्ष ‘वार कि पार’ को अवस्थामा जाने छ’ एक पदाधिकारीले भने ।

गत पुसमा ११औं महाधिवेशनबाट तेस्रो कार्यकालका लागि अध्यक्ष भएका ओलीमाथि सचिवालयमा पहिलो पटक नेतृत्व छाड्न दबाब आएको हो । तर ओलीले भने नेतृत्व छाड्ने विषयमा केन्द्रीय कमिटीले निर्णय गर्न सक्ने भन्दै प्रतिवाद गरेका छन् । ‘कुन विधिबाट मलाई छाड् भन्दै हुनुहन्छ ? मैले नेतृत्व छाड्ने कारण के छ ?’ ओलीले केन्द्रीय सचिवालयमा प्रश्न गरेका छन् ।

ओलीले पार्टी विधान अनुसार विशेष महाधिवेशनबाट मात्र आफूले नेतृत्व हस्तान्तरण गर्न सक्ने भएकाले आफूलाई हटाउन नसक्ने बताए । ‘तपाईहरु मलाई हटाउन सक्नुहुन्न’ ओलीको भनाइ उद्धृत गर्दै एक पदाधिकारीले भने, ‘अबको छ महिनापछि विशेष महाधिवेशन गर्ने बेला स्थानीय चुनाव आउँछ । उसो भए स्थानीय चुनावमा भाग नलिएर विशेष महाधिवेशन गरौं ।’

'Moral pressure' on Oli to hand over leadershipसचिवालयमा नेतृत्व हस्तान्तरणको माग भए पनि आफ्नो अडानबाट पछि हट्ने संकेत गरेका छैनन् । ‘हाल पदाधिकारीले सम्मानजनक रुपमा नेतृत्व हस्तान्तरण गर्न सुझाव दिनुभएको छ । त्यसमा केपी ओली तयार हुनुहुन्न’ एक सचिवालय सदस्यले भने, ‘अब पार्टीभित्र अन्तरसंघर्ष तीब्र हुनेछ । त्यसबेला ओलीले चाल्ने कदम पार्टीका लागि घातक हुनसक्छ । त्यस्तो हुन दिनु हुँदैन भन्नेमा नेताहरु सजग हुनुहुन्छ ।’

केन्द्रीय कमिटीमा ओलीको बहुमत छ । चार उपाध्यक्ष, महासचिव र पाँच सचिवहरु खुलेर नेतृत्व हस्तान्तरण गर्न ‘लबिङ’ गरे भने केन्द्रीय कमिटीमा पनि ओलीमाथि दबाब पर्ने छ ।

‘एमाले विधानमा विशेष महाधिवेशनमा ठोस कार्यसूची र कारण दर्शाइ दुईतिहाइ जिल्ला कमिटी वा बहुमत राष्ट्रिय महाधिवेशन प्रतिनिधिले लिखित रुपमा माग गरेमा मागपत्र दर्ता गरेको मितिले ६ महिनाभित्र केन्द्रीय कमिटीले विशेष महाधिवेशन आयोजना गर्नुपर्ने छ,’ एमाले विधानमा भनिएको छ ।

११औं महाधिवेशनमा २ हजार २६३ प्रतिनिधिमध्ये बहुमतले विशेष महाधधिवेशनको माग गर्ने प्रावधान छ ।

महाधिवेशनमा संस्थापन पक्षकै महाधिवेशन प्रतिनिधि बहुमतभन्दा धेरै भएकाले विशेष महाधिवेशनमा जान सजिलो छैन । विशेष महाधिवेशनका लागि एक हजार एक सय ३२ जनाले हस्ताक्षर गर्नुपर्ने छ । वा, दुई तिहाइ जिल्ला कमिटीले विशेष महाधिवेशनको माग गर्नुपर्ने छ ।

११औं महाधिवेशनमा अध्यक्षका प्रतिस्पर्धी ईश्वर पोखरेलको प्यानलका करिब ६०० महाधिवेशन प्रतिनिधि थिए ।

गंगा

Link copied successfully