पदाधिकारीहरूमा पार्टी पुनर्गठनको माग बढ्दै गएको छ ।
काठमाडौँ — एमाले सचिवालय बैठक आज पनि पार्टी अध्यक्ष केपी शर्मा ओलीको गुण्डुस्थित निजी निवासमा जारी छ ।
बैठकमा पार्टीको सांगठनिक कार्यविभाजन, विभिन्न कार्यदल गठन तथा वर्तमान राजनीतिक घटनाक्रमलगायत समसामयिक विषयमा छलफल भइरहेको छ । विशेषगरी पार्टीको आन्तरिक सांगठनिक सुदृढीकरण र पछिल्लो राजनीतिक परिस्थितिबारे ठोस निर्णय लिन यो बैठक आह्वान गरिएको हो ।
बैठकको कार्यतालिकाअनुसार यसअघिका छलफलमा पार्टीका पदाधिकारीले उठाएका प्रश्न र जिज्ञासाहरूको सम्बन्धमा अध्यक्ष ओलीले सम्बोधन गर्नेछन् । बैठकले पार्टीको सांगठनिक संरचनालाई थप व्यवस्थित बनाउन आवश्यक जिम्मेवारी बाँडफाँट र कार्यदल गठनसम्बन्धी निर्णयहरू गर्नेछ ।
एमालेमा चार उपाध्यक्षले भने पार्टीको नीति र नेतृत्व पुनर्गठनको माग गरेका छन् । शुक्रबारको बैठकमा उपाध्यक्षहरू विष्णु पौडेल, गोकर्ण विष्ट, पृथ्वीसुब्बा गुरुङ र रघु पन्तले २१ फागुनको निर्वाचन परिणामले पार्टीको नीति र नेतृत्वको पुनगर्ठनको माग गरेका थिए । पदाधिकारीमा पार्टी पुनर्गठनको माग बढ्दै गएको छ ।
उपाध्यक्ष रामबहादुर थापाले भने अहिलेको नेतृत्वमा पार्टीलाई बलियो बनाएर जानु पर्ने धारणा राखेका थिए ।
