कांग्रेसको क्रियाशील सदस्यता विवाद वडा तहसम्मै

इतर समूहबाट सदस्यताको अद्यावधि रोकिएपछि जिम्मेवारीबाट हटाउने सभापति गगन थापाले चेतावनी दिएका छन् ।

जेष्ठ ९, २०८३

कुलचन्द्र न्यौपाने

Congress' active membership dispute reaches ward level

What you should know

काठमाडौँ — एकपटक नवीकरण भइसकेको सदस्यतालाई पुनः अद्यावधि गर्ने अभियानले कांग्रेसमा संस्थापन र इतर पक्षबीच शक्ति संघर्ष चुलिएको छ । आगामी ९–१४ असोजमा काठमाडौंमा हुने १५ औं केन्द्रीय महाधिवेशनका लागि १ वैशाखदेखि नै क्रियाशील सदस्यता अद्यावधि अभियान जारी छ ।

वैशाख मसान्तभित्र अद्यावधि सक्ने समयसीमा आन्तरिक विवादका कारण २१ जेठसम्म बढाइएको छ । केन्द्रमा सीमित विवाद अहिले भने जिल्ला, क्षेत्र हुँदै वडा तहसम्मै पुगेको छ ।

यसलाई लिएर सभापति गगन थापाले असहयोग गर्ने पदाधिकारीहरुलाई जिम्मेवारीबाट हटाउने चेतावनी समेत दिएका छन् । विराटनगरमा रहेका थापाले शनिबार बिहान स्थानीय पत्रकारहरुको जिज्ञासामा असहयोगमा संलग्न जोसुकैलाई जिम्मेवारीबाट हटाइने बताए ।

इतर पक्षीय नेता प्रकाशशरण महत भन्छन्- 'महाधिवेशनको निष्पक्षता सुनिश्चितताका लागि अद्यावधि रोकेर पुरानै नवीकरणलाई मान्यता दिनुपर्छ ।' पार्टीको क्रियाशील सदस्यताको अद्यावधि वडा कार्य समितिका सभापतिले गर्ने अधिकार छ । इतर पक्षीय खेमामा रहेका वडा सभापतिहरुले अद्यावधिमा असहयोग गरेपछि थापाले जिम्मेवारीबाट हटाउने चेतावनी दिएका हुन् ।

पार्टी केन्द्रीय कार्यसमितिले सदस्यता अद्यावधि अभियानको नेतृत्व महामन्त्री प्रदीप पौडेललाई दिएको छ । उनका अनुसार वडा सभापतिहरु प्रत्येक जिल्लामा ५-६ जना हुन सक्ने बताए ।

‘मृत्यु भएका, अन्य पार्टीमा गएका र विदेश गएका सभापतिहरुको हकमा अर्कोलाई जिम्मेवारी दिने काम भइसकेको छ, असहयोग गर्नेहरुको हकमा पनि अब अर्कोलाई जिम्मेवारी दिने काम हुन्छ,’ पौडेलले भने ।  

क्रियाशील सदस्य नै महाधिवेशनका पहिलो मतदाता हुन् । केन्द्रीय सभापति को हुने भन्ने कुरा क्रियाशील सदस्यता नवीकरण र वितरणदेखि नै निर्धारण हुने भएकाले संस्थापन र इतर पक्षबीचको मुख्य शक्ति संघर्ष नै यसैमा केन्द्रित छ ।

Congress' active membership dispute reaches ward levelइतर पक्षीय नेता प्रकाशशरण महतले महाधिवेशनको निष्पक्षताका लागि क्रियाशील सदस्यताको अद्यावधि रोकेर पहिलाकै नवीकरणलाई निरन्तरता दिनुपर्ने बताए ।

इतर पक्षमा नेता पूर्णबहादुर खड्का र शेखर कोइरालाले नेतृत्व गरेको दुवै समूहले सदस्यता अद्यावधि गर्ने संस्थापन पक्षले चलाएको अभियानको विरोध गर्दै आइरहेका छन् ।

उनीहरुले २१ फागुनको निर्वाचन अगाडि गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्री हुँदा नै नवीकरण गरिएको सदस्यताको निरन्तरता खोजेका छन् । त्यतिबेला ५ लाखभन्दा बढी सदस्य नवीकरण प्रक्रियामा आएका थिए । १४ औं महाधिवेशनमा ८ लाख ६६ हजार क्रियाशील सदस्यता थिए । एक महिनाको बीचमा करिब डेढ लाख जनाले अद्यावधि गराएको महामन्त्री पौडेलले बताए ।

पार्टीभित्रको विवादका कारण यसपटक सदस्यता संख्या ह्वात्तै हट्ने लक्षण देखिएको छ ।

नवीकरण भइसकेका सदस्यतालाई फेरि अद्यावधि गरिनुपर्छ भनेर सभापति थापाले पार्टीभित्र एकलौटी गर्न खोजेको इतर पक्षीय नेताहरुले आरोप लगाउँदै आएका छन् ।

खड्का र कोइरालाले नेतृत्व गरेको समूह महाधिवेशनको प्रक्रिया बाहिर छ । विशेष महाधिवेशनदेखि नै अलग रहेको इतर समूहले एकताका लागि आत्मसम्मानपूर्ण सहमति हुनुपर्ने माग गर्दै आइरहेको छ ।

नेता महतले एकताका लागि क्रियाशील सदस्यता अद्यावधि रोक्ने, महाधिवेशन सम्पन्न गराउन दुवै पक्षका नेताहरु सम्मिलित संयन्त्र बनाउने, निर्वाचन, क्रियाशील छानबिन र अनुशासन जस्ता महत्त्वपूर्ण समितिहरु दुवै पक्षको सहमतिमा हुनुपर्ने न्यूनतम माग भएको बताए ।

‘हामीले यो र त्यो पद भनेका पनि छैनौं, ६० र ४० को भागबण्डा नै चाहिन्छ पनि भनेका छैनौं, १५ औं महाधिवेशन निष्पक्षता साथ हुने सुनिश्चिता खोज्दा न्यूनतम यतिसम्म हुनुपर्छ भनिएको हो,’ महतले भने, ‘साझा संयन्त्र बनाएर महाधिवेशन गरिनुपर्ने कुरा पनि नमान्ने हो भने पार्टी विभाजन गर्ने पक्षमा म नगएपनि अरु साथीहरु निष्क्रिय रहनुहुन्न ।’

नवीकरण भइसकेका सदस्यहरुको टेलिफोन नम्बर छुटेको भएमा छुट्टै माग्न सकिने अवस्था हुँदाहुँदै अद्यावधि सुरु गरेर महाधिवेशनको निष्पक्षतामाथि प्रश्न उब्जाएको उनले बताए ।

तर, थापाले क्रियाशील सदस्यतालाई डिजिटलमा राख्ने प्रयोजनका लागि यो काम गरिएको बताए । ‘यसमा कुनै भ्रममा नपरे हुन्छ, कसैलाई भ्रम छ भने त्यसलाई हटाउन हामी तयार छौं,’ थापाले भने, ‘पार्टी सदस्यताको विवरण केन्द्रीय कार्यलयमा राख्न नपाउने भन्ने हुन्छ र ?’

पौडेलले पार्टीका पुरानै संयन्त्रबाटै अद्यावधि गर्न लागिएकाले आशंकाको विषय नै नभएको उनले बताए ।

‘अद्यावधि गर्ने वडाको पुरानै सभापतिले हो । नयाँ सभापति बनाएर गर्न खोजिएको होइन । यसको सूचना सम्पूर्ण सदस्यहरुको बढीभन्दा बढी सूचनाको विवरण राख्यौँ र पार्टीलाई डिजिटल रुपान्तरणमा लैजाऔं भन्नका लागि हो,’ पौडेलले थपे, ‘अहिले ४ हजार वडा सभापतिहरु यो प्रक्रियामा जोडिनु भएको छ । अरुले नजानेर हो वा राजनीतिक रुपमा असहयोग गरीरहनु भएको छुट्याउन बाँकी छ ।’

क्रियाशील सदस्यताले वडाबाट क्षेत्रीय प्रतिनिधिको छनोट गर्ने र तीनै क्षेत्रीय प्रतिनिधिहरुले केन्द्रीय महाधिवेशनका लागि प्रतिनिधिहरुको चयन गर्छ । त्यसरी चयन भएका प्रतिनिधिहरुबाटै केन्द्रका पदाधिकारी तथा सदस्य चयन हुन्छन् ।

यसअघि सदस्यताको अद्यावधि भौतिक रुपमा वडामा नै उपस्थित भएर गरिनुपर्ने नियम राखिएको थियो । चौतर्फी आलोचना भएपछि संशोधन गर्दै अनलाइनबाट पनि भर्न पाइने व्यवस्था गरिएको छ । ‘त्यसरी अनलाइनबाट भर्दा वडाको सभापतिले स्वीकृत दिनुपर्छ । दिएन भने सदस्यता हुन्न । त्यसैले कतिपय वडामा प्राविधिक ज्ञानको कमीले पनि ढिलाइ भइरहेको छ,’ पौडेलले भने ।

कुलचन्द्र उनी कान्तिपुरका राजनीतिक संवाददाता हुन् । उनी संसदिय मामिला र दलहरुको भूमिकाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully