गगन थापा र विश्वप्रकाश शर्मा नै प्रदेश सरकारको नेतृत्व बदल्न सक्रिय छन् । उनीहरूले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर नेतृत्व फेरबदलबारे छलफल गरेका छन् ।
What you should know
काठमाडौँ — कांग्रेस र एमाले प्रदेशमा फेरि आलोपालो सरकार सञ्चालनको दौडमा जुटेका छन् । सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मा आफैं प्रदेश सरकारको नेतृत्व बदल्न कस्सिएका छन् ।
प्रदेशमा सरकार फेरबदलकै विषयमा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेसका शीर्ष नेताहरूबीच पटक–पटक संवाद भइसकेको छ ।
कांग्रेसले एमालेसँग समझदारी जुटाउन उपसभापति विश्वप्रकाश शर्मालाई जिम्मेवारी दिए पनि सभापति थापाले समेत ओलीलाई भेटेका छन् । थापा गत आइतबार मात्र ओलीलाई भेट्न उनकै निवास गुन्डु पुगेका थिए । भेटमा संविधान निर्माणका शक्तिहरू एकठाउँमा रहेर जाने र प्रदेश सरकारमा सहकार्य गर्नेबारे छलफल भएको ओलीनिकट एक नेताले जानकारी दिए ।
शर्माले भने मंगलबार गुन्डु पुगेर दोस्रो पटक एमाले अध्यक्ष ओलीसँग भेटेका थिए । त्यसअघि वैशाख २९ गते पनि उनी सहमहामन्त्री उदय शमशेर राणालाई लिएर ओलीलाई भेट्न पुगेका थिए ।
७ प्रदेशमध्ये ४ मा कांग्रेस र ३ मा एमालेको नेतृत्व छ । साढे ५ महिनाअगाडि मात्रै पुनर्गठन भएको मधेश प्रदेश सरकारलाई निरन्तरता दिँदै बाँकी ६ प्रदेशमा नेतृत्व अदलबदल गर्ने दुई दलबीच समझदारी भइसकेको छ । बागमती, गण्डकी र सुदूरपश्चिममा कांग्रेसको नेतृत्वमा सरकार छ । कोशी, लुम्बिनी र कर्णालीमा भने एमालेको सरकार छ ।
मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले शुक्रबार विश्वासको मत लिँदैछन् । प्रदेशसभा सचिवालयले सांसदहरूलाई दिउँसो १ बजे विश्वासको मत लिने कार्यक्रम रहेको सूचना पठाइसकेको छ । एमाले संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री सरोजकुमार यादवले कांग्रेसलाई विश्वासको मत दिने विषयमा छलफल चलिरहेको बताए ।
कांग्रेस महामन्त्री गुरूराज घिमिरेले सरकार पुनर्गठनको विषय केही दिनमै टुंगिने बताए । ‘दुइटै पार्टीमा दुवै खालका धारणा छन्, यसमा समझदारी बनेपछि पुनर्गठन हुन्छ,’ घिमिरेले भने ।
एमाले नेता राजन भट्टराईले पनि कांग्रेससँग निर्णायक संवाद चलिरहेको बताए । उनका अनुसार कांग्रेसले चार प्रदेशकै नेतृत्वमा दाबी गरेको छ । तर, एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपालाई समेत सामेल गराउन खोजिरहेका छन् । नेकपाले प्रदेश सरकारमा साझेदारी खोजेको छ । भट्टराईका अनुसार नेकपाले सुदूरपश्चिम प्रदेशको नेतृत्वमा दाबी गरेको छ ।
सुदूरपश्चिममा नेकपा सबैभन्दा ठूलो दल हो । कुल ५३ सदस्यीय प्रदेशसभामा नेकपाका २२, कांग्रेसका १८, एमालेका ११, राप्रपाका १ सांसद छन् । स्वतन्त्र निर्वाचित ताराप्रसाद जोशी भने प्रदेशसभाबाट राजीनामा दिएर फागुन २१ को प्रतिनिधिसभा चुनाव लडेका थिए । उनी रास्वपाबाट डडेलधुराबाट निर्वाचित भए ।
‘कांग्रेसले चारवटा प्रदेशमा नेतृत्व पाउनुपर्नेलाई ‘पोजिसन’ बनाएको बुझेको छु । सुदूरपश्चिममा नेकपाको दाबी रहेकाले हाम्रो पार्टी अध्यक्षले उसलाई समेत मिलाएर लैजाऔं भन्नु भएको छ तर कांग्रेस मानिरहेको थिएन,’ भट्टराईले भने । संविधान र लोकतन्त्रमाथि सत्तारुढ दलबाट खतरा उत्पन्न भएकाले सबै विपक्षी एकठाउँमा उभिने अवस्था आएको भट्टराईको दाबी छ ।
प्रदेशमा सरकार पुनर्गठन ढिलाइ हुनुमा कोशी प्रदेशको विषयले पनि अल्झाएको छ । तत्कालीन कांग्रेस सभापति शेरबहादुर देउवा र ओलीबीच आ–आफ्ना प्रदेश क्षेत्रका मुख्यमन्त्री नचलाउने अनौपचारिक समझदारी भएको थियो । त्यही सहमति स्मरण गराउँदै ओलीले कोशीका मुख्यमन्त्री हिक्मतबहादुर कार्कीलाई निरन्तरता दिन खोजेका छन् ।
तर, कांग्रेस नेतृत्वमा थापा र शर्मा आए पनि देउवानिकट मानिने सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई नै निरन्तरता दिन चाहन्छन् ।
कांग्रेस नेतृत्व बदलिएसँगै कोशीको राजनीतिमा उपसभापति शर्मा नै हाबी भएका छन् । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई पन्छ्याएर शर्माले आफ्नो राजनीतिक प्रभाव विस्तार गरेका छन् । पाँचथरका भीष्मराज आङ्देम्बेलाई संसदीय दलको नेता बनाउन पनि शर्माकै जोड थियो । अब उनको ध्यान कोशी प्रदेश सरकारमा छ । प्रदेश संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउन उनले कोशीमा नेतृत्व साट्नुपर्ने अडान राखेका छन् । सिटौला खेमा छाडेर थापा केही समय अघिदेखि नै शर्मासँग नजिकिएका छन् ।
विगतमा पनि प्रदेशमा पटक-पटक सरकार अदलबदल भएका छन् । केन्द्रीय समीकरण बदलिनासाथ प्रदेशमा पनि सरकार फेर्ने चलन नै बसेको छ ।
०७९ पछि पहिलो सरकार एमाले, माओवादी र रास्वपालगायतका गठबन्धनमा बनेको थियो । त्यसपछि कांग्रेस/माओवादी, एमाले/माओवादी र अन्तिममा कांग्रेस/एमाले गरेर चारवटा समीकरण संघीय सरकारमै बनेका थिए । ती सबैको प्रभाव संघीय सरकारमा परेको थियो ।
साढे तीन वर्षको अवधिमा मधेशमा सबैभन्दा बढी ६ पटक सरकार परिवर्तन भएको छ । त्यसपछि कोशीमा ५ पटक, गण्डकी, लुम्बिनी, सुदूरपश्चिममा चार पटक सरकार परिवर्तन भएको छ । बागमतीमा ३ र कर्णालीमा २ पटक बदलिएका छन् ।
बागमती र कोशीमा पार्टीभित्रको आन्तरिक शक्ति संघर्षका कारण पनि समीकरण बदलिएका छन् । बारम्बार सरकार परिवर्तनले संघीयता कार्यन्वयनप्रति नै आम नागरिक तहबाटै ठूलो प्रश्न उठ्ने गरेको छ ।
विशेष महाधिवेशनमार्फत नेतृत्वमा पुगेपछि कांग्रेस सभापति थापा र उपसभापति शर्माले राजनीतिलाई विकृत बनाउने यस्तै प्रवृति अन्त्य गर्ने उद्घोष गरेका थिए । उनीहरूले नयाँ सन्देश दिन ‘कांग्रेस २.०’ को अवधारणा पनि ल्याए । तर, नेतृत्व सम्हालेको केही महिनामै पुरानै सत्ता खेलमा थापा र शर्माप नि लाग्न थालेपछि उनीहरूमाथि पनि आलोचना सुरू भएको छ । कांग्रेसका एक मुख्यमन्त्रीले बजेटको नीति तथा कार्यक्रमको मुखमा प्रदेश सरकार बदल्ने कुराले सबै काममा मनोवैज्ञानिक असर पर्न थालेको बताए ।
कांग्रेस महामन्त्री घिमिरेले भने पुरानो सहमतिको आधारमा केन्द्रका गति र भावना अनुसार बाँकी एक वर्ष काम गर्नका लागि नै नेतृत्व बदल्नुपरेको बताए ।
‘यसअघिको नेतृत्वले सबैलाई समेटेको छैन । एकथरीले मात्रै अवसर लिएका छन् । पार्टीको केन्द्रीय संरचना बदलिएपछि कतिपयले तद्अनुकूल काम गरेका छैनन् । कामको वेभलेन्थ मिलेको छैन,’ उनले भने । एमाले नेता भट्टराईले पनि ०७९ को निर्वाचनपछाडि बनेकै सहमतिअनुसार नेतृत्व बदल्न खोजिएको बताए ।
