अमरेश सिंहको व्यंग्य : नयाँको नाम सबै भत्काउने होइन । सिंहदबार पनि भत्काऔँ, प्रधानमन्त्री पद पनि भत्काऔँ । मन्त्री पद पनि भत्काऔँ । सबै चिज चेन्ज गरौँ न ।
What you should know
काठमाडौँ — सत्तारुढ रास्वपाका सांसद अमरेशकुमार सिंहले विनियोजित विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा अर्थमन्त्री स्वर्णिम वाग्ले उपस्थित नभएको भन्दै आपत्ति जनाएका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा सो विधेयकमाथिको जारी छलफलमा भाग लिँदै उनले सरकारले परम्परा तोड्ने नाममा गर्दै नहुने काम गरिरहेकाले बोल्न बाध्य हुनुपरेको समेत स्पष्ट पारे ।
सांसद सिंहले संसदीय व्यवस्थामा संसद्मा बजेटबारे छलफल हुँदा अर्थमन्त्री अनिवार्य उपस्थिति हुने परम्परा रहेको र त्यसलाई सरकारले दृढतापूर्वक पालना गर्नुपर्नेमा त्यसो नगरेर संसद्को औचित्य नै समाप्त पार्ने अवस्था ल्याउन खोजेको आरोप पनि लगाए । नयाँको नाममा सबै भत्काउने छुट सरकारलाई नभएको पनि बताए ।
सांसद सिंहले आफू पटक-पटक सांसद भएको तर संसद्मा बजेटबारे छलफल हुँदा अर्थमन्त्री नभएको पहिलो पटक भएको भन्दै आक्रोश व्यक्त गरे ।
सांसद सिंहको भनाइ जस्ताको त्यस्तै
वास्तवमा परम्परा तोडने नाममा सबै परम्परा तोडियो । बजेट विनियोजन प्राथमिकता हुँदाखेरी अर्थमन्त्री जहिले पनि बस्ने सिस्टम थियो । परराष्ट्रमन्त्रीले बजेट बनाउने होइन । परराष्ट्र मन्त्रालयको बजेट त्यही जान्छ । हामी पाँच चोटीको सांसद पनि सबै परम्परा भत्काउँदै गयौँ भने यो संसद्को औचित्य समाप्त हुन्छ । पार्लियामेन्ट्री सिस्टम समाप्त हुन्छ ।
हाम्रो देश, हाम्रो संविधान, पार्लियामेन्ट्री सिस्टम अंगिकार गरेको छ । जहाँ अल पार्लियामेन्टरी इक्वेल हुन्छ । प्रश्न सरकारसँग गरिन्छ । र, सांसदले जनताका कुरा पनि सरकारसँग राखिन्छ । यो बीस वर्षको कार्यकालमा म पहिलोचोटी देख्दैछु कि अर्थमन्त्री नभएर पनि यो बजेट विनियोजन विधेयकको छलफल चल्दैछ कि । यो कस्तो परम्परा सुरुवात हुँदैछ? नयाँको नाम सबै भत्काउने होइन ।
सिंहदरबार पनि भत्काऔँ, प्रधानमन्त्री पद पनि भत्काऔँ । मन्त्री पद पनि भत्काऔँ । सबै चिज चेन्ज गरौँ न । किनकि जति व्यस्त भए पनि त्यो औचित्यपूर्ण हुनुपर्छ के । अति भएपछि बोल्न बाध्य भएँ । त्यही भएर बालेको हो ।
