ओली र भण्डारीबीच सम्बन्ध सुधार भएको हो ?

एमालेमा उपाध्यक्षद्वय विष्णु पौडेल, गोकर्ण विष्ट, उपमहासचिव योगेश भट्टराईलगायत नेता निर्वाचन परिणामका कारण नेतृत्व पुनर्गठन हुनुपर्ने बताउँदै आएका बेला ओली-भण्डारीबीच सम्बन्ध सुधारको प्रयास सुरु भएको हो ।

जेष्ठ ३, २०८३

गंगा बीसी

Have relations between Oli and Bhandari improved?

What you should know

काठमाडौं — पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र एमाले अध्यक्ष केपी शर्मा ओलीले आपसी सम्बन्ध सुधारमा अग्रसरता लिएका छन् । २१ फागुनको प्रतिनिधिसभा निर्वाचनमा एमाले खुम्चिएपछि उनीहरूले पार्टी सुदृढीकरणका लागि संवाद अघि बढाएका हुन् ।

पत्थरीको शल्यक्रियापछि स्वास्थ्य लाभ गरिरहेका ओलीलाई भेट्न २८ बैशाखमा भण्डारी भक्तपुरको गुन्डु पुगेकी थिइन् । त्यतिबेला दुई नेताबीच करिब २ घण्टा राजनीतिक विषयमा छलफल भएको थियो ।

भण्डारी निकट नेता एवं एमाले पूर्वउपाध्यक्ष ईश्वर पोखरेलले दुई नेताबीच राजनीतिक विषयमा कुराकानी भएको उल्लेख गर्दै दूरी बढाउन जरुरी नभएको बताए ।‘दुई नेताबीच राजनीतिक विषयमा कुराकानी भएको जानकारी पाएको छु,’ उनले भने, ‘नेताहरूबीच दूरी बढाउन आवश्यक छैन ।’ त्यसवेला भण्डारीको सदस्यता ‘पेन्डिङ’ राखेर ‘गैरराजनीतिक विवाद’ उठाएको उनको भनाइ छ ।

पूर्वमहासचिव मदन भण्डारी र नेता जीवराज आश्रितको ३३औं स्मृति दिवसमा आइतबार आयोजित कार्यक्रममा एमालेले भण्डारीलाई प्रमुख अतिथि बनाएको थियो ।एमाले केन्द्रीय कार्यालयका मुख्य सचिव भीष्म अधिकारी ‘मदन–आश्रित’ स्मृतिमा भएको कार्यक्रममा प्रमुख अतिथ्यका लागि निम्ता दिन भण्डारी निवास गएका थिए । प्रमुख अतिथि भइदिन ‘अध्यक्ष ओलीको आग्रह’ भएकाले निम्तो दिएका थिए ।

आइतबार आयजित कार्क्रममा प्रमुख अतिथिको रुपमा भण्डारीले एकता, जनतासँगको सम्बन्धबारे धारणा राखेकी छन् । एमाले नेताहरूले निर्वाचनपछि भण्डारीलाई पार्टी राजनीतिमा सक्रिय बनाउँदा फरक नपर्ने महसुस गरेको बताएका छन् । ‘विद्या भण्डारीले सदस्यता नवीकरण गरेर पार्टी अध्यक्ष हुने तयारी गरेपछि केपी ओली रोक्न लाग्नु भएको थियो । ०८२ पुसमा तेस्रो कार्यकालका लागि अध्यक्ष भइसक्नु भएको छ’ ती नेताले भने, ‘अब विद्यासँग दूरी बढाउनु हुन्न भन्ने निश्कर्षमा ओली पुग्नु भएको छ ।’

एमाले उपमहासचिव लेखराज भट्टले पूर्वराष्ट्रपति भण्डारी पार्टी कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहेर सक्रियता देखाएको बताए ।

भण्डारीका स्वकीय सचिव राजकुमार राईले पार्टीले ‘मदन आश्रित’ स्मृति कार्यक्रममा प्रमुख अतिथि बनाउनु पार्टीका लागि सकारात्मक विषय भएको बताए । ‘पूर्वराष्ट्रपतिलाई सम्मानपूर्वक पार्टीमा सक्रिय हुने वातावरण दिनु सकारात्मक कुरा हो,’ उनले भने, ‘यसले आगामी दिनमा राम्रो परिणाम दिने वातावरण बन्छ ।’

एमालेमा उपाध्यक्षद्वय विष्णु पौडेल, गोकर्ण विष्ट, उपमहासचिव योगेश भट्टराईलगायत नेता निर्वाचन परिणामका कारण नेतृत्व पुनर्गठन हुनुपर्ने बताउँदै आएका बेला ओली–भण्डारीबीच सम्बन्ध सुधारको प्रयास सुरु भएको हो ।

एमालेले एक वर्षअघि पार्टी सदस्यता ‘पेन्डिङ’ मा राखेपछि भण्डारी र अध्यक्ष केपी शर्मा ओलीबीच दूरी बढेको थियो । भण्डारीले आफू एमालेमा ४५ वर्षदेखि जोडिएको उल्लेख गर्दै गत वर्ष सक्रिय राजनीतिमा आउने घोषणा गरेकी थिइन् । पार्टी नेतृत्व लिन आफू एमालेमा सक्रिय भएको बताएपछि ओली झस्किएका थिए । त्यसपछि गत वर्ष साउनको केन्द्रीय समिति बैठकले भण्डारीको सदस्यता पेन्डिङमा राख्ने निर्णय गरेको थियो । भण्डारीको सदस्यता ‘निलम्बन’ को अवस्थामा राखेपछि विवाद बढेको थियो ।

पूर्ववरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे, युराज ज्ञवाली, अष्टलक्ष्मी शाक्यलगायत नेताहरूले भण्डारीको सदस्यता रोकेकोमा फरक मत राखेका थिए ।

गत वर्ष सदस्यता नवीकरण गरेकी भण्डारीले ‘मदन जयन्ती’  १४ असारमा पार्टी नेतृत्वमा आउने उद्देश्यसहित सक्रिय  राजनीतिमा आउने घोषणा गरेकी थिइन् । ५ र ६ साउनमा बसेको केन्द्रीय कमिटीले भण्डारीको सदस्यता ‘पेन्डिङ’ राखेपछि एमालेमा विवाद चुलिइएको थियो ।

८ साउनमा भण्डारीले पत्रकार सम्मेलन गरी आफ्नो सदस्यता नवीकरण गरिसकेकाले खोस्न नसक्ने भन्दै असन्तुष्टि जनाएकी थिए । त्यसको एक वर्ष अघिनै केन्द्रीय कार्यालय च्यासल गएर भण्डारीले सदस्यता नवीकरण गरे पनि केन्द्रीय कमिटीले त्यसलाई मान्यता दिएको थिएन ।

गत वर्ष ५ र ६ साउनको केन्द्रीय कमिटीले पूर्वराष्ट्रपति भण्डारीलाई सक्रिय राजनीतिमा आउन नहुने निश्कर्ष निकालेको थियो । राष्ट्रपतिको भूमिका अत्यन्त सम्मानित, गरिमायुक्त र ऐतिहासिक महत्त्वको भएकाले दलीय आबद्धताबाट पूर्ण रूपमा मुक्त रहेकोले दलीय राजनीतिमा फर्कने निर्णय संविधानको मर्मअनुकूल नभएको भन्दै उनलाई राजनीतिमा फर्किन नहुने निर्णय गरिएको थियो ।

एमालेले भण्डारीलाई मदनको ३३औं स्मृति दिवसमा प्रमुख अतिथिको रुपमा निम्त्यायो । ०८२ साउनमा उनको सदस्यता ‘पेन्डिङ’ मा राखेपछि एमालेले प्रमुख अतिथिको रुपमा पहिलोपटक निम्त्याएको हो ।

भण्डारीले नेताकै हैसियतमा एमाले सुधारबारे कार्यक्रममा धारणा राखेकी थिइन् । पूर्वमहासचिव मदन र आश्रितको शालिक राखिएको स्थलको कार्यक्रममा उनले एमाले सुधारका लागि गर्नुपर्ने कामबारे धारणा राखिन् । 

‘मदन भण्डारी तथा कुशल संगठक जीवराज आश्रितको स्मृति नेपाली राजनीति, लोकतान्त्रिक आन्दोलन र राष्ट्रिय चेतनामा सधैं सम्मानका साथ जीवित रहनेछन् भन्ने विश्वास व्यक्त गर्दछु । मदन र आश्रितले नेपाली कम्युनिस्ट आन्दोलनलाई संगठनात्मक उचाइमा मात्र होइन, वैचारिक स्पष्टतले राजनीति भनेको जनताको जीवनसँग जोडिएको विषय हो र जनताको विश्वासबाट निर्देशित हुनुपर्छ,’ उनले भनिन्, ‘आज हामीले गौरवका साथ स्मरण गर्ने नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले मार्गदर्शक सिद्धान्तका रूपमा अवलम्बन गरेको जनताको बहुदलीय जनवाद नेपाली समाजको यथार्थमा आधारित मौलिक राजनीतिक विचार हो ।’

भण्डारीले ‘जबज’ का उपलब्धिसँगै प्रश्नहरू उठेको भण्डारीको भनाइ छ । ‘विगतका उपलब्धिहरूसँगै वर्तमानका चुनौतीहरूप्रति पनि हामी गम्भीर हुन आवश्यक छ। एदाकदा सिद्धान्त र व्यवहारबीच देखिने असन्तुलनका कारण समाजमा प्रश्नहरू उठ्ने गरेका छन्,’ उनले मदननगरमा भनिन्, ‘जनताको विश्वास नै कुनै पनि राजनीतिक शक्तिको सबैभन्दा ठूलो शक्ति हो । यदि पार्टी र जनताबीच दूरी बढ्यो भने राजनीतिक आन्दोलनको मर्म कमजोर हुन्छ ।’

पूर्वराष्ट्रपति भण्डारीले नेताहरूले आत्मसमीक्षा, आन्तरिक एकता गरी जनविश्वास जगाउनु पर्ने जनाएकी छन् । ‘अब पार्टीले पुनः जनविश्वासलाई अझ सुदृढ बनाउन जनमुखी कार्यशैली, आत्मअनुशासन र सेवाभावलाई व्यवहारमा उतार्नु पर्छ,’ उनको सुझाव छ, ‘कार्यकर्ताहरू जनताको बीचमा पुग्नुपर्छ, जनताको दुःख–सुखमा सहभागी हुनुपर्छ र समाजमा सकारात्मक राजनीतिक संस्कार निर्माणमा सक्रिय बन्नुपर्छ ।’

२८ बैशाखमा गुन्डुमा भण्डारी र ओलीबीच छलफल भएको थियो । गत वर्ष साउनमा भण्डारीका सदस्यता ‘पेन्डिङ’ मा राखेपछि दुई नेताबीच विवाद बढेको थियो । गुन्डु भेटपछि एमालेले औपचारिक रुपमा प्रमुख अतिथितिको रुपमा बल्खुमा बोलाएको हो । मदन आश्रित समृति कार्यक्रममा भण्डारीले नेताकै हैसियतले सम्बोधन गरिन्, ‘जनताको बहुदलीय जनवादको मूल मर्मलाई आत्मसात गर्दै लोकतन्त्र, राष्ट्रिय एकता, सुशासन र समृद्ध नेपालको लक्ष्य प्राप्तिका लागि हामी सबै एकताबद्ध भएर अघि बढौं ।’

कार्यक्रममा एमाले अध्यक्ष ओली भने सहभागी भएनन् । यद्यपि, उनले समाजिक सञ्जालमा ‘जनताको बहुदलीय जनवाद एक सिजनको लोकप्रियता आर्जन गर्ने औजार नभई यथार्थको धरातलमा टेकेर उभिएको विचार’ भन्दै धारणा राखेका छन् । 

‘मदन भण्डारी–जीवराज आश्रित, अनि यस आन्दोलनले जन्माएका कयौं अग्रज र योद्धाहरू आज हामीमाँझ शारीरिक रूपमा हुनुहुन्न । तर, विचार र योगदान हाम्रो राजनीतिक यात्रामा दीपस्तम्भ झै छन् । जनताको बहुदलीय जनवाद एक सिजनको लोकप्रियता आर्जन गर्ने औजार होइन, यथार्थको धरातलमा टेकेर उभिएको विचार हो’ ओलीले सामाजिक सञ्जालमा भनेका छन्, ‘मदनलाई सम्झदा केवल एउटा नेता वा मित्र गुमाएको पीडा मात्र होइन, एउटा युगद्रष्टा सहयोद्धा गुमाएको अनुभूति हुन्छ । जनताको बहुदलीय जनवादको वैचारिक विरासतले हामीलाई अझै पनि निरन्तर अगाडि बढ्न, विचलित नभई जनताको पक्षमा उभिन र परिवर्तनको यात्रालाई अधुरो हुन नदिन प्रेरित गरिरहेकै छ ।’

भण्डारीको विगत

२०५० जेठ ३ मा पोखराबाट चितवन जाने क्रममा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको दुर्घटनामा निधन भएपछि उनकी पत्नी भण्डारी सक्रिय राजनीतिमा आएकी थिइन् । एमालेमा अल्पमतमा रहेको वेला ओलीले ‘मदन भण्डारी फाउन्डेशन’मार्फत गतिविधि गर्दै आएका थिए ।

उनी राजनीतिमा सक्रिय भएदेखि अध्यक्ष ओलीको दह्रो समर्थन रहँदै आए पनि पछिल्लो समय तिक्तता बढ्दै गएको हो । भण्डारी पहिलोपटक २०७२ कात्तिक १२ देखि २०७४ फागुन २९ सम्म र दोस्रोपटक २०७४ फागुन ३० देखि २०७९ फागुन २९ सम्म राष्ट्रपति भएकी थिइन् ।

उनी २०५४ सालको माघमा भएको छैठौं राष्ट्रिय महाधिवेशनबाट पहिलो केन्द्रीय कमिटी सदस्य, २०५९ को सातौं महाधिवेशनबाट पनि पुनः केन्द्रीय सदस्य, २०६५ को आठौं महाधिवेशनबाट एकैपटक केन्द्रीय उपाध्यक्षमा निर्वाचित भएकी थिइन् । २०७१ को नवौं महाधिवेशनले पुनः उपाध्यक्ष तथा स्थायी कमिटी सदस्यमा निर्वाचित गरेको थियो ।

तत्कालीन एमाले महासचिव मदन भण्डारीको निधनपछि रिक्त प्रतिनिधिसभा सांसद पदका लागि गरिएको २०५० सालको उपनिर्वाचन काठमाडौं निर्वाचन क्षेत्र नं. १ बाट भण्डारी निर्वाचित भएकी थिइन् । २०५१ सालको मध्यावधि निर्वाचन र २०५६ को प्रतिनिधिसभा सदस्यको निर्वाचनमा समेत गरी काठमाडौंका अन्य क्षेत्रबाट तीनपटक लगातार निर्वाचित भएकी थिइन् ।

उनी २०५४ सालमा वातावरण तथा जनसंख्यामन्त्री र २०६६ सालमा रक्षामन्त्री भएकी थिइन् । विद्यार्थी, महिला संघ, जिफन्टको नेतृत्वमा रहेर उनले काम गरेकी थिइन् ।

ओली फेरि सक्रिय

जेन-जी आन्दोलनमा भएको मानवीय क्षतिमा जिम्मेवार रहेको आरोपमा हिरासतपछि रिहा, पत्थरीको अप्रेशनपछि स्वास्थ्य लाभ गरी ओली फेरि सक्रिय भएका छन् ।

गत साता ओलीले कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मालगायत नेतासँग विपक्षी गठनबन्धनबारे छलफल गरेका थिए । त्यस्तै नेकपा नेताहरूसँग पनि प्रत्यक्ष अप्रत्यक्ष रुपमा संवाद थालेका छन् । सोमबार उनले विपक्षीसँग गठबन्धन, नेताहरूको कार्यविभाजन, पार्टीका कार्यक्रमबारे निर्णय गर्न केन्द्रीय सचिवालय बैठक बोलाएका छन् ।

एमाले सचिव पद्मा अर्यालले केन्द्रीय सचिवालयमा संसदमा गर्नुपर्ने काम, पार्टीका कार्यक्रम र नेताहरूको विभाजनबारे छलफल हुने बताए । ‘समसामयिक राजनीतिक, नेताहरूको कार्यविभाजनालगायत विषयमा छलफल हुनेछ’ उनले भनिन् ।

गंगा

Link copied successfully