गुन्डु संवादपछि एमालेको कार्यक्रममा प्रमुख अतिथि बनिन् पूर्वराष्ट्रपति भण्डारी

०८२ साउनमा भण्डारीको सदस्यता ‘पेन्डिङ’ मा राखेपछि उनलाई एमालेले प्रमुख अतिथिको रूपमा निम्त्याएको उनको सचिवालयले जनाएको छ ।

जेष्ठ ३, २०८३

गंगा बीसी

Former President Bhandari becomes chief guest at UML event after Gundu Samvad

What you should know

काठमाडौँ — पूर्वराष्ट्रपति विद्या भण्डारी एमालेको कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित भएकी छिन् । आइतबार मदन भण्डारीको ३३औं स्मृति दिवसमा एमालेलाई भण्डारीलाई प्रमुख अतिथिका रूपमा बोलाएको हो । 

०८२ साउनमा भण्डारीको सदस्यता ‘पेन्डिङ’ मा राखेपछि उनलाई एमालेले प्रमुख अतिथिका रूपमा निम्त्याएको उनको सचिवालयले जनाएको छ । 

‘मदन भण्डारी तथा कुशल संगठक जीवराज आश्रितको स्मृति नेपाली राजनीति, लोकतान्त्रिक आन्दोलन र राष्ट्रिय चेतनामा सधैं सम्मानका साथ जीवित रहनेछ भन्ने विश्वास व्यक्त गर्दछु । मदन र आश्रितले नेपाली कम्युनिस्ट आन्दोलनलाई  संगठनात्मक उचाइमा मात्र होइन, वैचारिक स्पष्टतले राजनीति भनेको जनताको जीवनसँग जोडिएको विषय हो र जनताको विश्वासबाट निर्देशित हुनुपर्छ,’ उनले भनिन्,  ‘आज हामीले गौरवका साथ स्मरण गर्ने एमालेले मार्गदर्शक सिद्धान्तका रूपमा अवलम्बन गरेको जनताको बहुदलीय जनवाद नेपाली समाजको यथार्थमा आधारित मौलिक राजनीतिक विचार हो ।’

भण्डारीले ‘जबज’ का उपलब्धिसँगै प्रश्नहरू उठेको भण्डारीको भनाइ छ । ‘विगतका उपलब्धिहरूसँगै वर्तमानका चुनौतीहरूप्रति पनि हामी गम्भीर हुन आवश्यक छ। यदाकदा सिद्धान्त र व्यवहारबीच देखिने असन्तुलनका कारण समाजमा प्रश्नहरू उठ्ने गरेका छन्,’ उनले भनिन्, ‘जनताको विश्वास नै कुनै पनि राजनीतिक शक्तिको सबैभन्दा ठूलो शक्ति हो। यदि पार्टी र जनताबीच दूरी बढ्यो भने राजनीतिक आन्दोलनको मर्म कमजोर हुन्छ ।’

पूर्वराष्ट्रपति भण्डारीले नेताहरूले आत्मसमीक्षा, आन्तरिक एकता गरी जनविश्वास जगाउनु पर्ने जनाएकी छन् । ‘अब पार्टीले पुनः जनविश्वासलाई अझ सुदृढ बनाउन जनमुखी कार्यशैली, आत्मअनुशासन र सेवाभावलाई व्यवहारमा उतार्नुपर्दछ,’ उनको सुझाव छ,  ‘कार्यकर्ताहरू जनताको बीचमा पुग्नुपर्दछ, जनताको दुःख–सुखमा सहभागी हुनुपर्दछ र समाजमा सकारात्मक राजनीतिक संस्कार निर्माणमा सक्रिय बन्नुपर्दछ ।’

वैशाख २८ मा गुन्डुमा भण्डारी र ओलीबीच छलफल भएको थियो । गत वर्ष साउनमा भण्डारीका सदस्यता ‘पेन्डिङ’ मा राखेपछि दुई नेताबीच विवाद बढेको थियो । गुन्डु भेटपछि एमालेले औपचारिक रुपमा प्रमुख अतिथिका रूपमा बल्खुमा बोलाएको हो । मदन आश्रित समृति कार्यक्रममा भण्डारीले नेताकै हैसियतले सम्बोधन गरिन्, ‘जनताको बहुदलीय जनवादको मूल मर्मलाई आत्मसात गर्दै लोकतन्त्र, राष्ट्रिय एकता, सुशासन र समृद्ध नेपालको लक्ष्य प्राप्तिका लागि हामी सबै एकताबद्ध भएर अघि बढौं ।’

कार्यक्रममा एमाले अध्यक्ष ओली भने सहभागी भएनन् । उनले सामाजिक सञ्जालबाट मदन र आश्रितलाई सम्झिाए । ‘मदन भण्डारी-जीवराज आश्रित, अनि यस आन्दोलनले जन्माएका कैयौं अग्रज र योद्धाहरू आज हामीमाझ शारीरिक रूपमा हुनुहुन्न। तर विचार र योगदान हाम्रो राजनीतिक यात्रामा दीपस्तम्भझैँ छन्,’ ओलीले भनेका छन् ।

गंगा

Link copied successfully