प्रधानमन्त्री शाहले संसदीय व्यवस्थाको उपहास गरे : कांग्रेस महामन्त्री पौडेल

पत्रकार भेटमा पौडेलले सरकारले दुईतिहाइ बहुमत हुँदाहुँदै अध्यादेश ल्याउनु, नागरिकमाथि दमन गर्नु र सुकुमवासीमाथि बल प्रयोग गर्नु लोकतान्त्रिक मूल्यको उल्लंघन भएको बताए।

वैशाख ३०, २०८३

मनोज पौडेल

Prime Minister Shah mocked the parliamentary system: Nepali Congress General Secretary Poudel

कपिलवस्तु — नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रपतिले सम्बोधन गरिरहेकै बेला संसद्बाट बाहिरिनु संसदीय व्यवस्थामाथिको उपहास भएको आरोप लगाएका छन् ।

कपिलवस्तुको चन्द्रौटामा बुधबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले वर्तमान सरकारलाई दुईतिहाइको समर्थन हुँदाहुँदै अध्यादेशमार्फत नियम तथा कानुन ल्याउनु गलत र असंसदीय भएको बताए । उनले भने, 'संसद् छलेर अध्यादेशमार्फत शासन चलाउने प्रवृत्ति लोकतान्त्रिक मूल्य र मान्यताविपरीत हो ।' उनले यसले संसदीय मूल्य, मान्यता र परम्परा तोडिएको बताए ।

पूर्वमन्त्रीसमेत रहेका पौडेलले कांग्रेसले सरकारले नागरिकमाथि गरेको दमनको कुरा नउठाएर आन्तरिक किचलोका कुरामा अल्झनु राम्रो नभएको बताए । कांग्रेसको विशेष महाधिवेशनले दिएको म्यान्डेटभन्दा बाहिर गएर असन्तुष्ट कांग्रेस नेता–कार्यकर्तालाई खुसी नपार्ने भन्दै सबै कुराको समाधान आउँदो १५औँ नियमित महाधिवेशनले सम्बोधन गर्ने उनले बताए ।

त्यस्तै, उनले सुकुमवासी समस्याको समाधानमा सरकारले बल प्रयोग गरेको भन्दै आलोचना गरे । 'सुकुमवासीको पहिचान नगरी एक्कासि घर भत्काउनु अमानवीय र अस्वीकार्य कार्य हो,' उनले भने, ‘कम्तीमा एक महिनाको समय दिएर व्यवस्थित रूपमा समाधान खोजिनु पर्थ्यो ।’

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully