सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभा बैठकमा छलफल हुँदै छ। यसबारेको अपडेटका लागि ekantipur.com हेर्दै गर्नुहोला।
प्रतिनिधिसभाका सभामुख डीपी अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहलाई संसद्को बैठकमा उपस्थितिका लागि मिति तोक्ने कुनै अधिकार आफूमा नभएको बताएका छन् ।
विपक्ष दलका सांसदहरूले प्रधानमन्त्रीलाई सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग उपस्थित गराउनका लागि रुलिङ गर्न विपक्ष दलका सांसदहरुले माग गरेपछि उनले सो कुरा प्रष्ट्याका हुन् । सभामुख अर्यालले कुनै पनि सांसदलाई सभामा उपस्थितिका लागि कार्यतालिका तोक्ने अधिकार र आधार समेत आफूसँग नभएको स्पष्ट पारेका छन् ।
प्रतिपक्ष दलका सांसद्हरूले सदन सञ्चालनमा निरन्तर आवरोध गरिरहेका छन् । नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै उनीहरूले संसद् बैठक सञ्चालनमा अवरोध गरेका हुन् । सभामुख डीपी अर्यालले सदन सञ्चानल गर्न सहयोग गर्न आग्रह गरिरहेका छन् ।
प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले एमालेका संसदीय दलका नेता रामबहादुर थापाले व्यक्त गरेको असंसदीय शब्द रेकर्डबाट हटाउन सघीय संसद् सचिवालयलाई निर्देशन दिएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष खनालले नेता थापाले मंगलबार व्यक्त गरेको धारणा असंसदीय रहेको भन्दै हटाउन माग गरेका थिए । सांसद मनिष खनालले धारणा राखे लगत्तै एमालेका सांसद ऐन महरले विरोध जनाएका थिए । -रासस
प्रतिनिधिसभाको आजको बैठक १५ मिनेटका लागि स्थगन भएको छ । बैठकमा विपक्षी दलका सांसदहरुले प्रधानमन्त्री वालेन्द्र शाहका उपस्थितिको माग गर्दै आसनबाट उठेर विरोध जनाएपछि सदनको कारबाही स्थगन भएको हो ।
त्यसअघि बैठकमा सांसदहरुले नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्रीको उपस्थिति जरुरी भएको बताएका थिए । आजको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल सुरु गर्ने कार्यक्रम थियो ।
प्रमुख प्रतिपक्ष दल कांग्रेसले प्रधानमन्त्रीलाई संसदमा उपस्थित गराउन सभामुखसँग रुलिङ गर्न आग्रह गरेको छ ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा कांग्रेस सचेतक निश्कल राईले प्रधानमन्त्री सदनमा अनुपस्थित रहेको भन्दै आपत्ति जनाएका हुन् ।
प्रधानमन्त्री आफैंले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन सदनमा उपस्थित हुनुपर्ने उनले बताए । संसद्को गरिमा जोगाउने जिम्मेवारी सभामुखको भएको उल्लेख गर्दै प्रधानमन्त्रीलाई रुलिङ गरेर संसद्मा बोलाउन उनले आग्रह गरे ।
एमाले सांसद सुहाङ नेम्बाङले संसद्मा चिया खेतीको इतिहास सुनाउँदै १५ हजारभन्दा बढी किसानको जीवन चियासँग जोडिएको भन्दै भारतमा चिया निर्यात ठप्पजस्तै भएको विषय उठाएका छन् । उनले भने, ‘यो विषय समाधान गर्न भारत सरकारसँग तत्काल कूटनीतिक पहल गरियोस् ।’
आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले जवाफ नदिने भएपछि नीति तथा कार्यक्रममाथिको छलफल सकिएपछि उठेका प्रश्नमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिने कार्यसूची रहेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले आव २०८३/८४ को सरकारको नीति तथा कार्यक्रम वैशाख २८ गते संघीय संसद बैठकमा बाचन गरेका थिए ।


