महान्यायाधिवक्ता कडेलसँग राष्ट्रपतिले गरे परामर्श

राष्ट्रपति पौडेलले महान्यायाधिवक्ता नारायणदत्त कँडेलसँग छलफल गर्दै कानुन संशोधनको औचित्य र सम्भावित प्रभावबारे जानकारी लिएका हुन्।

वैशाख १७, २०८३

कुलचन्द्र न्यौपाने

President consults with Attorney General Kadel

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशका विषयमा परामर्श थालेका छन् । राष्ट्रपति पौडेलले महान्यायाधिवक्ता नारायणदत्त कँडेलसँग छलफल गर्दै कानुन संशोधनको औचित्य र सम्भावित प्रभावबारे जानकारी लिएका हुन्।

छलफलका क्रममा महान्यायाधिवक्ता कँडेलले वर्तमान संवैधानिक तथा राजनीतिक अवस्थालाई ध्यानमा राख्दै भविष्यमा कुनै अप्ठ्यारो परिस्थिति नआओस् भन्ने उद्देश्यले कानुन संशोधन गरिएको स्पष्ट पारेका थिए। 

शीतल निवास स्रोतका अनुसार  संवैधानिक परिषद्को निर्णय प्रक्रियालाई सहज, प्रभावकारी र विवादरहित बनाउने गरी प्रावधानहरू परिमार्जन गरिएको कंडेलले बताएका थिए। 

राष्ट्रपति पौडेलले यस विषयमा थप धारणा संकलन गर्न आजै संविधानविद्हरूसँग छलफल राखेका छन्। छलफलमा वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, टीकाराम भट्टराई, पूर्णमान शाक्य, भीमार्जुन आचार्य, विपिन अधिकारी, शेरबहादुर केसी र ललित बस्नेत सहभागी हुने कार्यक्रम तय भएको छ।

संवेदनशील अध्यादेशका विषयमा राष्ट्रपतिले एकपक्षीय निर्णय नगरी विज्ञहरूको सुझावका आधारमा निष्कर्षमा पुग्ने तयारी गरेका छन् । पछिल्लो समय संवैधानिक परिषद्को संरचना र निर्णय प्रक्रियाबारे बढ्दो बहसका बीच राष्ट्रपतिले परामर्शमा सक्रियता देखाएका हुन्।

कुलचन्द्र कान्तिपुरका राजनीतिक संवाददाता हुन् । उनी संसदीय मामिला र दलहरूको भूमिकाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully