सुकुमवासीबारे लामिछानेले भने - सरकारले कसैलाई विस्थापित, घरवारविहीन बनाउँदैन

सरकारले शुक्रबारदेखि काठमाडौंको थापाथली, गैरीगाउँ, मनोहरालगायतका क्षेत्रका सुकुमवासी बस्तीलाई खाली गराइरहेको छ ।

वैशाख १६, २०८३

गौरव पोखरेल

Lamichhane said about squatters - The government will not make anyone displaced or homeless

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कसैलाई विस्थापित र घरवारविहीन बनाउने उद्देश्य सरकारको नभएको बताएका छन् । 

सिंहदरबारमा बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, 'दुई दिन, चार दिन अलिकति दुःख भयो होला, स्रोत साधनको सीमितताले पनि दुःख भएको हुनसक्छ । तर, कसैलाई पनि विस्थापित, घरवारविहीन बनाउने, सडकमा ल्याउने अवस्था सरकारले सिर्जना गर्दैन ।’

सरकारले शुक्रबारदेखि काठमाडौंको थापाथली, गैरीगाउँ, मनोहरालगायतका क्षेत्रका सुकुमवासी बस्तीलाई खाली गराइरहेको छ । त्यसबारे सोधिएको प्रश्नमा उनले भने, 'अहिले प्रतिपक्षीसहित अन्य दलले 'देख्यौं तिमीहरुले रास्वपाले सबै भत्काउँछ भनेर भनेका थिए भनेर' राजनीतिक रुपमा गलत व्याख्या गरेको सुनेको छु । तर, नदी आसपास खतरा भएको स्थानको हकमा खाली गराउने काम भएको हो । सरकारले उहाँहरुले पाउने अधिकारको पनि ख्याल गरेको छ ।’

लामिछानेले 'खतरापूर्ण रुपमा ज्यान जोखिममा राखेर खोला किनारमा बसेको र हडपिएको अवस्था जोकोहीले प्रस्ट देख्ने अवस्था भएको ठाउँमा मात्र त्यस्तो कदम चालिएको समेत जिकिर गरे । 

'प्रधानमन्त्रीज्यू आफैंसमेत यी ठाउँहरु प्राथमिकतामा थिए भन्नुभएको छ, अन्य ठाउँको हकमा स्थानीय सरकारका क्षेत्राधिकारमा केन्द्र सरकार प्रवेश गर्ने कुरा रहँदैनन् । कतिपय ठाउँमा स्थानीय सरकारले पनि त्यस्ता काम गरेका छन् । तर, उनीहरुको लगत राखेर व्यवस्थापन हुने प्रतिबद्धता व्यक्त भएका छन्,’ उनले भने । 

कतिपयले सुकुमवासी बस्ती खाली गराएको हकमा विरोध गरेको सन्दर्भमा उनले 'योभन्दा अझ राम्रो उपाय, अभ्यास भए त्यो सिक्न र हेर्न तयार’ रहेको बताएका छन् । अर्को प्रसंगमा उनले गृहमन्त्रीबाट राजीनामा दिएका सुधन गुरुङमाथि छानबिनको प्रक्रिया चाँडै सुरु हुने बताए । 'उहाँ आफैंले नैतिकता देखाएर छानबिन गरियोस् भन्नुभएको हो,’ उनले भने, 'कुन प्रक्रियाबाट छानबिन हुन्छ भन्ने कुरा चाहिँ तपाईंहरुलाई चाँडै थाहा हुन्छ ।’

गौरव पोखरेल राष्ट्रिय सुरक्षा मामिला, सुशासन र समसामयिक विषयमा कान्तिपुरका लागि रिपोर्टिङ गर्छन् ।

Link copied successfully